विद्युतीय कारोबार ऐन बारे छलफल

0
435

विर्तामोड, झापाको बिर्तामोडमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सरकारले संविधानमा भएको पूर्ण प्रेस स्वतन्त्रता सम्बन्धी प्रावधान विपरीत बिभिन्न ऐनमा प्रेस स्वतन्त्रताबिरोधी प्रावधान राखेर लोकतान्त्रिक व्यवस्थाको खिल्ली उडाएको धारणा राखेका छन् ।
नेपाल प्रेस युनियन झापाको आयोजना तथा डेमोक्रेटिक लयर्स एशोसिएशन झापाको सहआयोजनामा सम्पन्न विद्युतीय कारोवार ऐन सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
लोकतान्त्रिक शासन व्यवस्थामा स्वतः प्रेस स्वतन्त्रतालाई स्वीकार गर्नुको सट्टा विद्युतीय कारोबार ऐन, वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, फौजदारी तथा देवानी संहिता लगायतका ऐनमा प्रेस विरोधी प्रावधान राखिएकोप्रति आपत्ति जनाएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले सरकारले प्रेसमाथि नियन्त्रण गर्ने प्रकृतिका कानून ल्याउन लागेको जानकारी दिँदै यसले खोज पत्रकारितालाई चुनौति थपेको धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाँईले सरकार लोकतान्त्रिक विधि र प्रक्रिया बमोजिम बने पनि पत्रकारिता जगतलाई नियमन गर्न खोजेको आरोप लगाउँदै लोकतान्त्रिक चरित्र देखाउन नसकेको धारणा राखे । प्रेस स्वतन्त्रताका लागि पत्रकारहरु जस्तोसुकै आन्दोलन गर्न तयार रहेको उनको भनाइ थियो ।
सरकारले मिडियासँग सम्बन्धित भएर ल्याएका कानूनहरुबारे जानकारी दिँदै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले सरकारले विद्युतीय कारोबार ऐनको धारा ४७ लाई जस्ताको तस्तै नेपाल मिडिया काउन्सिल विधेयकमा समेट्न खोजेको जानकारी दिँदै पत्रकारितालाई नियमन गर्ने नीति गलत भएको बताए ।
नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष सुरज खत्रीले विद्युतीय कारोबार ऐनको पृष्ठभूमि र विकासक्रमबारे जानकारी दिँदै कानूनको सही प्रयोग भए डराउनु नपर्ने बताए । व्यक्तिगत गोपनीयताका बारेमा जानकारी दिँदै डेमोक्रेटिक लयर्स एशोसिएशनका अध्यक्ष यज्ञलक्ष्मी चौंलागाँईले सार्वजनिक विषयबाहेक अनुमतिविना व्यक्तिगत गोपनीयताका विषयहरु प्रकाशन÷प्रशारण गर्न नपाइने व्यवस्था ऐनमा रहेको जानकारी दिइन् । नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गिरिराज भट्टराईले स्वागत तथा औचित्यमाथि प्रकाश पारेका थिए भने सञ्चालन सचिव डिल्लीराम घोर्सार्इंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here