बिर्तामोड,स्वास्थ्य चौकी गोलधापको भवन निर्माण भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत नेपाल सरकारले अढाई करोड रुपैयाँ बजेट विनियोजन गरेपछि हल्दिवारी–१ गोलधापमा स्वास्थ्य चौकी भवन निर्माण भएको हो ।
गाउँमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न झापा गोलधापका स्थानीयले स्वास्थ्य चौकी निर्माण गर्न एक करोड रुपैयाँबराबरकोे जग्गा दान गरेका थिए । २५ वर्ष पुरानो स्वास्थ्य चौकी भवन जीर्ण भएर पानी चुहिन थालेपछि नयाँ बनाउन सामुहिक रूपमा स्थानीयले जग्गा दिएका थिए । तत्कालीन गोलधाप–२ का ७ जना दाताले सामुहिक रूपमा बाटो निर्माणसहित एक करोड रुपैयाँबराबरको ७ कठ्ठा जग्गा दिएका थिए ।
यज्ञराज कटुवाल, दिलकेशर थापा, रुक्मिणी संग्रौला, होमराज शिवाकोटी, धर्मराज शिवाकोटी, रमेश पकुवाल र जीवन पकुवालले स्वास्थ्य चौकी निर्माणका लागि जग्गा निःशुल्क प्रदान गरेका हुन् ।
स्थानीयवासीले प्रदान गरेको जग्गामा निर्माण गरिएको भवन सुविधासम्पन्न रहेको स्वास्थ्य चौकी प्रमुख किरणकुमार पोखरेलले बताए । पोखरेलकै पहलमा स्वास्थ्य चौकी निर्माणका लागि जग्गाको व्यवस्थापन भएको थियो । भवन निर्माणका लागि स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले रकम प्रदान गरेपछि भवन निर्माण भएको बताइएको छ ।