नाङ्लो बुनेरै दैनिक हजार रुपैयाँ आम्दानी

0
1193

इलाम,

इलामको रोङ गाउँपालिका–५ देवानछाप निवासी कलावती चम्लागाँईले नाङ्लो (बाँसका चोयाबाट बुनेर गोलाकार रूपमा बिट राखी बनाइएको अन्न निफन्ने साधन) बुनेको दशक भयो ।

मालवाँसेबाट चोयाका लागि बाँस र इलामबाट बेत ल्याएर उनी दैनिक पाँचबटा नाङ्लो बुन्छिन् । उनले बुनेका नाङ्लो घरबाटै प्रतिगोटा दुई सय ५० रुपैयाँका दरले बिक्री हुन्छ । कलावतीले नाङ्लो बुनेरै दैनिक एक हजार रुपैयाँ आम्दानी गर्दै आएको बताइन् ।

उनी मात्र होइन उनको परिवारमा नाङ्लो बुन्न उनका श्रीमान टेकबहादुर र छोरा दीपकले पनि साथ दिन्छन् । नाङ्लो बुन्नका लागि आवश्यक पर्ने बास र वेतको जोहो श्रीमान टेकबहादुर र छोरा दीपकले गरिदिएपछि उनी दिनभर घरमै बसेर नाङ्लो मात्र बुनिरहन्छिन् । बुनेका नाङ्लो एक हप्तामा घरबाटै व्यापारीले उठाउने गरेको कलावतीको भनाइ छ । उनी भन्छिन्– ‘घरको अरु काम गर्दै नाङ्लो बुन्छु,राम्रै घर खर्च चलेको छ । छोरा र श्रीमान्ले सघाएका कारण नाङ्लो बुन्न मलाई कुनै समस्या छैन ।’

वुधवारे र बिर्तामोडदेखिका व्यापारी नाङ्लो खरिद गर्न आफू कहाँ आउने गरेको कलावतीको भनाइ छ । उनी भन्छिन्– ‘शुरु–शुरुमा गाउँ घरमा फाट्टफुट्ट नाङ्लो बुनिन्थ्यो पछि झापाबाट आउने व्यापारीले नाङ्लो किन्न थालेपछि प्रत्येकले अहिले नाङ्लो बुन्छन् ।’

‘यहाँका सबै मानिसको मुख्य आम्दानीको श्रोत भनेको नाङ्लो बुन्ने काम हो’– उनी भन्छिन्– ‘मैले पनि जानेर आएकी हैनm यहीं सिकेकी हुँ, अहिले अरुलाई पनि सिकाउन सक्छु, धेरैलाई सिकाएँ । अहिले मेरा छिमेकीहरु पनि नाङ्लो बुनेर पैसा कमाउन सक्ने भएका छन् ।’

विहान बेलुका छोरा र श्रीमानले नाङ्लो बुन्ने काममा सघाउने गरेको उनको भनाइ छ । उनी भन्छिन्– ‘वाँस बोक्न सक्दिनँ, छोराले ल्याइदिन्छ, बुढाले चोया बनाइदिनुहुन्छ अनि म दिनभरि नाङ्लो बुनेर बस्छु ।’ देख्दा सामान्य लागे पनि हरेक भान्सामा प्रयोग हुने नाङ्लो बुनेर चम्लागाँई परिवारले मनग्ये आम्दानी गर्ने गरेका छन् । कलावतीले नाङ्लो बुनेर कमाएको पैसाले घर मात्रै चलेको छैन छोराछोरीलाई स्कूल पढाउन समेत पुगेको उनले बताइन् ।

रोङ गाउँपालिका–५ देवानछाप निवासी कलावती सो गाउँकी नाङ्लो बन्ने प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता धेरै महिलाले घरमै बसेर नाङ्लो बुनेर मनग्ये आम्दानी गर्दैछन् । भक्तिमान सुनुवार, अधिकारी कान्छाको परिवार पनि नाङ्लो बुन्ने कामका लागि कलावती जस्तै पौरखी परिवारका रुपमा चिनिन्छन् ।

कलावतीका घरमा नाङ्लो बुन्नु बाहेर आयश्रोतको अर्काे कुनै बाटो हुँदै नभएको भने होइन । कुचो, अदुवा र सब्जी खेतीबाट पनि चम्लागाँई परिवारले मनग्ये आम्दानी गर्ने गरेका छन् । तर, नाङ्लो बुन्न जतिको सजिलो र १२ महिना आम्दानी गर्न सकिने अर्काे ब्यवसाय नभएपछि कलावतीले यो पेशालाई नै पहिलो प्राथमिकतामा राखिन् । ‘नाङ्लो बाह्रै महिना बिक्छ’– कलावतीले भनिन्– ‘घाम लागोस् कि पानी परोस्, घरको भित्तामा ठड्याइएका नाङ्ला देख्दा कोही नाङ्लो नकिनी फर्किँदैन ।’

देवनछाप डाँडामा महानन्द सापकोटा स्मृति प्रतिष्ठान छ । जुन प्रतिष्ठानको अध्ययन अवलोकनका लागि पूर्वका विभिन्न स्थानबाट खोजकर्ताहरु जाने गरेका छन् । प्रतिष्ठानको अवलोकनका लागि गएका अधिकांशले कलावतीको कलाले बुनेको नाङ्लो मायाको चिनो स्वरुप नलिई फर्कदैनन् ।

सडक किनारमै घर हुनु र घरभरि नाङ्ला सजाएर राख्नुले पनि सवैको नजरमा कलावतीले बुनेका नाङ्लो पर्ने गरेको छ । भाषाशास्त्री सापकोटा स्मृति प्रतिष्ठानको अवलोकनका लागि पुगेकी झापा बिर्तामोडकी रचना पौड्याल भन्छिन्– ‘यो ठाउँमा होमस्टे हुने र सापकोटा स्मृति प्रतिष्ठानसम्म पुग्ने बाटो कालोपत्रे हुने हो भने यहाँका महिलाले नाङ्लो बुनेरै जीवनस्तर उठाउने रहेछन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here