तालिममा सहभागी जुटाउनै कठिन

0
527

इलाम।

ठूलो लगानी गरेर तालिम आयोजना गर्दा पनि सहभागी नहुने गरेको रोङ– ३ का वडाध्यक्ष मातृका बरालले बताएका छन् । राज्य र सरकारले केही गरेन भन्ने तर कार्यक्रम ल्याउँदा–ल्याउँदा सहभागी नहुने गरेको उनको भनाइ छ ।

उद्यमशीलता बिकास तथा व्यावसायिक योजना तालिमको समापन कार्यक्रममा सम्बोधन गर्दैै वडाध्यक्ष बरालले बजेट बनाउने क्रममा टोल टोलको भेलामा तालिमको माग हुने गरे पनि कार्यक्रम बनाएपछि सहभागी तालिम लिन नआउँदा दुःख लागेको बताए ।

‘भर्खरै मोतिमालाको तालिम आयोजन गरियो, तर युवा तालिममा सहभागी भएनन्’ –उदाहरण प्रस्तुत गर्दै वडाध्यक्ष बरालले भने– ‘यो उद्यमशीलताको तालिममा १३ जना सहभागी तयार गर्नको लागि पनि पाँच पटकसम्म नामलिस्ट तयार पार्दै च्यात्तै गरेको छु ।’ उनले तालिम लिएकाहरु पनि बिदेश जाने भएकाले तालिमको उद्देश्य पूरा नभएको स्वीकारेका छन् ।

गाउँपालिकाको सहयोगमा मानब अधिकार मञ्च इलाम र युवा सशक्तिकरण समूह रोङ– ३ को आयोजनामा भएको सात दिने तालिममा वडा नम्बर ३ का १३ जना युवाको सहभागिता रहेको थियो । समापन कार्यक्रममा सहभागीहरुले तालिम उपलब्धिमुलक भएको बताएका थिए ।

सहभागी दिनेश निरौलाले लिनैपर्ने तालिम जस्तो लागेको बताउँदै अब आफू बिदेशको सपना नदेख्ने र यही केही गरेर देखाउने प्रतिबद्धता ब्यक्त गरे । त्यसैगरी अर्का सहभागी अञ्जना भुजेलले पनि कुन प्रकारको व्यवसाय गर्दा राम्रो होला ? व्यवसायमा घरपरिवार र समाजसँगको सहकार्य तथा खरिदकर्ता र बिक्रीकर्ता बीचको सम्बन्धको बारेमा जानकारी पाएकाले ब्यवसाय गर्न आँट आएको बताइन् ।

कार्यक्रममा तालिमको फिल्ड अधिकृत गायत्री लिम्बूले युवा स्थानीय स्तरमा नै स्वरोजगार हुनु पर्छ भनेर तालिम अयोजना गरेको बताइन् ।

त्यसैगरी करुणा फाउण्डेशन्की दीपा कार्कीले फरक क्षमता भएकाहरुले त व्यवसाय गरिरहेको उदाहरण सुनाउँदै सबल मानिसको लागि व्यवसाय गर्न सहज हुने बताइन् ।

युवा सशक्तिकरण समूहका सचिव दीपक अर्यालले सञ्चालन गरेको कार्यक्रम युवा सशक्तिकरण समूह रोङ– ३ का अध्यक्ष डाइमण्ड तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here