भद्रपुर।
भद्रपुर नगरपालिका कार्यालयले नगरको बजेट, नीति सहितको योजना छनौट गर्दा एकलौटी रुपमा तयार पारेको वडा अध्यक्ष, वडा सदस्य लगायतका सहभागीहरुले आरोप लगाएका छन् ।
भद्रपुर नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६÷०७७ को लागि बजेट, नीति तथा कार्यक्रम तयारीका लागि पूर्व योजना गोष्ठीमा सहभागी वडा अध्यक्ष र वडा सदस्यहरुले यस्तो आरोप लगाएका हुन् । नगरपालिकाका प्रमुख, उपप्रमुख र कर्मचारीहरुले राजनीतिक पूर्वाग्रहको भरमा जनप्रतिनिधिहरुलाई सामेल नै नगरी योजनाहरु तयार गर्दा जनताको भावना समेट्न नसकिएको उनीहरुको गुनासो छ ।
कार्यक्रममा वडा नं. ७ का अध्यक्ष विनोद पोखरेलले नगरपालिकाले योजना तर्जुमा गर्दा सबै वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाई सहभागिता नगराई एकलौटी रुपमा आगामी आर्थिक बर्ष ०७६÷०७७ को बजेट नीति तथा कार्यक्रमको तालिका सार्वजनिक गरेको आरोप लगाए । त्यस्तै वडा नं. ५ का अध्यक्ष बन्धु कार्कीले नीति तथा कार्यक्रम एकलौटी ढंगले तयार पारिएको बताउँदै नगरपालिकाले नगरका विकासे योजनाहरुको काम शुरु गरे पनि अधुरा छोडने गरेको गुनासो पोखे ।
भद्रपुरको महेन्द्र पार्कको मर्मतसम्भार नहँुदा जीर्ण हँुदै गएको कारण यस क्षेत्रमा घुम्न आउने पर्यटकहरुले नाक खुम्चाउने थालेकोले त्यसको उचित व्यवस्थापन हुनुपर्ने, सगरमाथा चोकदेखि गिरीचोकसम्म विगत लामो समयदेखि दर्जनौं स्थानमा खानेपानीको पाइप फुटेकाले नगरबासी दुषित खानेपानी खान बाध्य भए पनि यसतर्फ नगरपाकिलाले चासो नदेखाएको उनले आरोप लगाए ।
त्यस्तै वडा नं. ८ का अध्यक्ष गौरव सुब्बा (मनोज) र वडा नं. ४ का अध्यक्ष हंशधर राजवंशीले बोर्ड बैठकमा समेत योजनाको बारेमा छलफल नगरी एकैपटक योजनाको प्रतिवेदन पेश गरेको गुनासो पोखे ।
कार्यक्रममा चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव बाबुराम कार्की, भद्रपुर गौशालाका अध्यक्ष राजेन्द्र चापागार्इं, आदिवासी जनजाति नगर समन्वय समितिका अध्यक्ष क्यानेन्द्र लिम्बू, ज्येष्ठ नागरिक संघका धनप्रसाद शिवाकोटी, डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, नेकपा भद्रपुरका अध्यक्ष शिवराज भण्डारी, नेपाली कांग्रेशका मनकुमार कोईराला, राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुरका अध्यक्ष बाबुराम पराजुली लगायतले कार्यक्रममा बोल्दै खानेपानीको सुधार, सडक व्यवस्थापन, विद्युत्, ज्येष्ठ नागरिक, स्वास्थ्य, शिक्षा, सरसफाई खुला दिशामुक्त क्षेत्र, डम्पिङ्ग साईड, कोल्ड स्टोर्स, कृषि, सञ्चार, साहित्य लगायतका महत्वपूर्ण विषयहरुलाई आगामी बर्षको योजनाले नसमटेको बिषयमा आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले आगामी आर्थिक बर्ष नगरपालिकालाई अन्तरदेशीय व्यापारिक नाकाको रुपमा विकास गर्ने, अग्र्यानिक उत्पादनको क्षेत्र तोकी तरकारी खेती फलफूल उत्पादन, माछामासु, पशुपालन तथा दूग्ध उत्पादन व्यवसायमा आत्मनिर्भर बनाउने, आधारभूत पूर्वाधार सम्पन्न बनाउने, नगरमा लगानीमैत्री वातावरणको सृजना गरी कृषि उद्योग तथा व्यापार व्यावसाय र पर्यटनलाई प्रवद्घन गर्ने जस्ता विषय कार्यपत्रमा समेटिएको बताए ।
उनले शिक्षा स्वास्थ्य, यातायात, रोजगार शान्ति सुरक्षा जस्ता आधारभूत अधिकारको स्थापना गरी उपयुक्त वातावरण सिर्जना गर्ने, समाजमा शान्ति एकता सद्भाव वढाउने महिला हिंसाविरुद्घका कार्यक्रम, बालमैत्री अशक्त असहाय गरिव तथा ज्येष्ठ नागरिकको सम्मान तथा उनीहरुको अधिकार सुनिश्चत गर्ने लगायतका विषयहरुलाई कार्यपत्रमार्फत प्रस्तुत गरेका थिए ।
नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सामाजिक शाखाका अधिकृत राजन न्यौपानेले गरेका थिए