डेंगु नियन्त्रणका लागि ‘फगिङ’ गर्न दबाब

0
538

दमक।

डेंगु संक्रमणले महामारीको रुप लिन थालेपछि झापाको दमकमा लामखुट्टे मार्न विषादीयुक्त धुँवा (फगिङ) छर्किन नगरपालिकालाई स्थानीयले दबाब दिन थालेका छन् । यसको खास प्रभाव केही नहुने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले फगिङ गर्न खोजेको थिएन ।

धुँवा फैलिएपछि लामखुट्टे मरे पनि त्यसका लार्भा तथा अण्डा नष्ट नहुने भएकाले यो प्रभावकारी नहुने र श्रोत पहिचान गरेर त्यसलाई नष्ट गर्ने कार्य प्रभावकारी हुने बताइँदै आएको छ । हामी श्रोतमा नै गएर लामखुट्टेका लार्भाहरु नष्ट गरिरहेका छौं तर बिषादि नछर्केको भनेर हामीमाथि स्थानीयको दवाव परिरहेको छ– दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले भने ।

दमकसहित झापामा अहिलेसम्म २ सय २३ जनामा डेंगु देखिएको छ । यसमा सबैभन्दा बढी दमकका रहेका छन् । दमकमा पछिल्लो तथ्याङ्क अनुसार १ सय २७ जनामा डेंगु देखिएको स्वास्थ्य शाखा प्रमुख अर्यालले जानकारी दिए । यसलाई फैलिन नदिन हामी सचेतना र लार्भा नष्ट गर्ने कार्यमा लागेका छौं– अर्यालले भने ।

दमक वडा नं. ६का वडाध्यक्ष टेकबहादुर थापाका अनुसार वार्डमा बिरामीको संख्या बढेपछि वडाबासीले लामखुट्टे मार्नका लागि विषादीयुक्त धँुवा (फगिङ) का लागि आग्रह गरिरहेका छन् । रोग फैलिन नदिन आवश्यक सतर्कता र सबै उपाय अवलम्बन गर्न स्वास्थ्य शाखासंग अनुरोध गरिएको उनको भनाइ छ ।

सफा पानीमा र घरको फ्रिज तथा कुलरमा समेत अण्डा पारेर डेंगु हुने भएकाले फगिङले बाहिरी लामखुट्टे मारेपनि ठूलो प्रभाव नपर्ने बताइँदै आएको छ । स्वास्थ्यकर्मीहरुका अनुसार डेंगु भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने भएकाले यसलाइ शहरीया समस्याको रुपमा लिइन्छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार झापा डेंगु रोगको उच्च जोखिममा रहेको जिल्ला हो । पछिल्लोपटक इलाम र पाँचथरबाट समेत डेंगुका बिरामी यहाँका अस्पतालमा आएको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here