गरे हुँदो रहेछ !


१९ भाद्र २०७६, बिहीबार ०५:४६ मा प्रकासित
  • 15
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

हेर्दा सामान्य तर असामान्य महत्व भएको लाहाको उत्पादन झापामै शुरु भएको खबर आत्मनिर्भरताको गतिलो र सुखद् सन्देश हो । हाम्रो परनिर्भरता बढिरहेका बेला सिप सिकेर स्वदेशमै उपयोग गर्ने उद्देश्यले गौरादहका डम्बर विकले आफ्नो ठाउँमा लाहाको व्यावसायिक उत्पादन थालेका छन् । भारत पश्चिम बंगालमा लाहा कारखानामा काम गरेर अनुभव र सिप बटुलेका विकले यसै वर्षको शुरुमा बीस लाख रुपैयाँ लगानी गरेर निर्मल चप्रा उद्योग स्थापना गरे । उद्योगको स्थापनाले उनी आफू मात्र व्यवसायिक भएनन्, अरुहरुलाई रोजगारी दिन र उत्प्रेरणा प्रदान गर्न समेत उदाहरण बनिए ।

Advertisement

गहना बनाउन, फर्निचरको रंग उजिल्याउन, प्रहरी, विद्यालय, कार्यालयहरुका महत्वपूर्ण कागजात सुरक्षित गर्न, गोप्यता कायम गर्न प्रयोग हुने लाहाको आयातमा मात्रै करोडौं रुपैयाँ खर्च हुने गरेको छ । लाहा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ आफ्नै देशमा पाइने भएकाले त्यसको व्यावसायिकताका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्न सकिए डम्बर विकको सपनाले मूर्तरुप लिन समय लाग्दैन । लाहा उत्पादनका लागि सिरिस, बयर, खयर र मौवा जातका बिरुवा चाहिने भएकाले यसको व्यवसायिक खेती अबको आवश्यकता हो । झापाका प्रत्येक बजारमा मात्र होइन सम्पूर्ण ग्रामीण क्षेत्रमा समेत लाहा उल्लेखित उपयोग बाहेक पनि प्रयोग गरिन्छ । हतियारको बिँड लगाउन समेत उपयोगी हुने लाहाका विभिन्न जात समेत हाम्रो आवश्यकता हो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले यो लाहा उद्योग नेपालकै पहिलो भन्दै यसले विदेशिने नेपाली रुपैयाँलाई रोक्ने विश्वास व्यक्त गरेका छन् । हाते प्रविधिबाट उत्पादन हुँदै आएको उद्योगमा प्रशोधन गर्ने उपकरण खरिद गर्न डिभिजन वनले अनुदान दिएको छ । उपकरणको प्रयोगले उत्पादनमा सहजता मात्र होइन गुणस्तरीय समेत बनाउने छ भने उत्पादन परिमाण पनि बढ्न सक्छ । सँगसँगै यसले रोजगारीको सृजना गर्दै वृक्षरोपणको माध्यमबाट अरुहरुलाई समेत आम्दानीको अवसर प्रदान गर्नेछ । आफ्नो खेतीबारीमा लाहाका लागि सहयोगी हुने कच्चापदार्थ प्राप्त गर्न खेती गर्न सकिए यसले किसानलाई समेत व्यवसायिक बनाउने छ ।

हाल आयात भइरहेको करोडौं रुपैयाँ बराबरको लाहा आफ्नै माटोमा उत्पादन गर्न थाल्नु हो भने सबै वर्गले लाभ लिन सक्नेछन् । बजारको माग धान्न धौ–धौ परेको निर्मल चप्रा उद्योगलाई स्तरोन्नति गर्दै पुँजी, प्रविधि, उपकरण तथा बजारको सुरक्षित प्रबन्ध गरिदिने हो भने यो राष्ट्र हितको पक्षमा हुनेछ । यसका लागि व्यक्ति, वन समूह तथा किसानहरुलाई प्रेरित गर्नुपर्दछ । यसो गर्न सकिए लाहाको उत्पादन बढ्ने छ र अहिले भइरहेको आयातलाई प्रतिस्थापन गर्दै सञ्चिति बढाउन सहयोग पुग्नेछ ।

सानो तर महत्वपूर्ण यस्ता उद्यमशील हात, कर्मठ अग्रसरता र इमान्दार लगनशीलताले मात्र स्वावलम्वनलाई बलियो बनाउन सक्छ । परनिर्भरताको साङ्लो छिनाएर आत्मनिर्भरतातर्फ हामी र हाम्रो अर्थतन्त्रलाई दिशानिर्देश गर्न सक्छ । त्यसकारण पनि डम्बर विकको यो आँट स्याबासीयोग्य र राष्ट्रिय हितको पक्षमा छ । यसले अरुहरुलाई समेत आत्मनिर्भरताको यात्रामा लामबद्ध हुन प्रेरणा प्रदान गरोस् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्