भुटानी शरणार्थी बालबालिकालाई दमक नगरपालिकाले पढाउने

0
1270

दमक।

झापाको दमकस्थित बेलडागी शिविरमा रहेका भुटानी शरणार्थी बालबालिकाहरुको पठनपाठनको जिम्मा दमक नगरपालिकाले लिने भएको छ ।

यस बिषयमा शरणार्थीलाई सहयोग पुर्याउँदै आएको राष्ट्रसंघको शरणार्थी उच्चायुक्त कार्यालय (युएनएचसिआर) र दमक नगरपालिकाबीच दुईपक्षीय सम्झौता भएपछि दमक नगरपालिकाले पढाउने जिम्मा लिएको हो ।

अधिकांश भुटानी शरणार्थीहरु तेश्रो पुर्नबास भएको र पाँच हजारभन्दा बढी शरणार्थी शिविरमा रहेकाले उनिहरुका बालबालिकाहरु पठनपाठनको जिम्मा नगरपालिकाले लिएको हो । झण्डै दुईदशक अघिदेखि भुटानी शरणार्थी बालबालिकाहरुको पठनपाठनको जिम्मा क्यारितास लगायतका दातृ निकायहरुले गर्दै आएका थिए ।

सन् २०२० देखि दातृ निकायहरु यहाँबाट बाहिरिने भएपछि यस बिषयमा लामो समयदेखि छलफल भएको थियो । दमक नगरपालिकाका शिक्षा अधिकारी एवम् उपसचिव दिनेश न्यौपानेले शरणार्थी पढाउने जिम्मा लिएको पुष्टि गरे । उनका अनुसार युएनएचसिआर र नगरपालिकाबीच सहमति पालना भएमा आउँदो शैक्षिक शत्रदेखि उनीहरुको पठनपाठनको जिम्मा नगरपालिकाले लिनेछ ।

नौ सय विद्यार्थीहरु रहेको र उनीहरुको पठनपाठनका लागि ढुकुरपानी माविमा आठ कोठे र चुलाचुली माविमा चार कोठे पक्की भवन युएनएचसिआरले बनाइ दिने सहमति भएको न्यौपानेले बताए । विद्यार्थीको संख्याको आधारमा विद्यार्थी पठनपाठनका लागि दरबन्दी सिर्जनासहितको खर्चका लागि बार्षिक दुई करोड रुपैयाँको व्यवस्थापन नेपाल सरकारसँग गर्न संयुक्तरुपमा माग गर्ने सहमति भएको न्यौपानेले बताए ।

भुटानी शरणार्थीहरुलाई यहाँ अध्यापन गराउँदा थप आवश्यक पर्ने शिक्षक दरबन्दी र अन्य खर्चको बिषयमा शिक्षा मन्त्रालय तथा शरणार्थी हेर्ने निकायहरुसँग समेत छलफल गरेर यस्तो सहमति गरिएको पनि बताइएको छ । ‘कोही पनि बालबालिकाहरु पठनपाठनबाट वञ्चित हुनुहँुदैन भन्ने हो र त्यसैले हामीले यो निर्णय लिन पुगेका हौं’ –न्यौपानेले भने– ‘सहयोग गर्दै आएको दातृ निकाय यहाँबाट हिँडेपछि बिचल्लिको अवस्था आउन नदिन लागेका हौं ।’

दमक नगरपालिकाकी उपप्रमुख तथा नगर शिक्षा प्रमुख गीता अधिकारीका अनुसार भुटानी शरणार्थी बालबालिकाको पठनपाठनका लागि युएनएचसिआरसँग भएको सम्झौतालाई दमक नगरपालिकाको कार्यापालिका बोर्ड बैठकले अनुमोदन गरेको छ । ‘अब पठनपाठन गर्ने ब्यवस्था मिलाउने जिम्मेवारी नगरपालिकाको भएको छ’ –उनले भनिन् । यस बिषयमा आवश्यक कार्यविधि तथा मापदण्डहरु बनाउने कार्य पनि अघि बढाइने उनले बताइन् ।

झापा र मोरङका शिविरमा सात वटा मावि र ३२ वटा सेक्टर स्कूल रहेकामा सबै बन्द भइसकेका छन् । अहिले शिविरमा सञ्चालित एक मात्र पञ्चावती आधारभूत विद्यालय पनि आगामी बर्षदेखि बन्द हुँदैछ । अहिले पनि माध्यमिक तहमा अध्ययन गर्ने भुटानी शरणार्थी विद्यार्थीहरु नजिकको सामुदायिक विद्यालयमा भर्ना भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here