सर्लाही ।
लकडाउनका कारण गाडी नचल्दा सर्लाहीको पूर्व–पश्चिम राजमार्गमा हिँडेरै गन्तव्यतर्फ जानेहरुको संख्या बढ्न थालेको छ । सवारी साधन नचल्दा सुनसान रहेको पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडेर घरतर्फ जानेहरुको चाप बढिरहेको हो ।
राजमार्ग क्षेत्रमा बिहानदेखि साँझ अबेरसम्म पैदल हिँडेर विभिन्न ठाउँमा पुग्नेहरुको हुल देखिन्छ । यसैबीच सर्लाहीको मुख्य–मुख्य बजार क्षेत्रमा लकडाउनको कार्यान्वयन भइरहे पनि भित्री बस्तीहरुमा यसको कार्यान्वयन हुन सकेको छैन ।
लकडाउन सुरु भएदेखि नै सुनसान अवस्थामा रहेका लालबन्दी, हरिवन, बरहथवा, बयलवास, मलंगवा जस्ता ठूला बजारमा मानिसलाई अनावश्यक रुपमा हिँड्डुल गर्न र मोटरसाइकल तथा अन्य सवारी सञ्चालनमा कडाई गरिएको छ । तर ग्रामीण भेगमा भने जथाभावी हिँड्डुल गर्ने क्रम रोकिएको छैन ।































