बुद्धका उपदेशको अनुशरण गरौं

२५ बैशाख २०७७, बिहीबार मा प्रकाशित

सम्पादकीय

आज बैशाख शुक्ल पूर्णिमा। सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको दिन। राजा शुद्धोधनको छोरा भएर पनि सांसारिकताबाट विरत भएर सुटुक्क दरबार त्यागेर साधु, सन्त र भिक्षुकारूपमा जीवन बिताए उनले। मन, आत्मा वा अन्तर ह्रदयको शान्तिको खोजीमा भौंतारिएका उनी बोधगयामा बोधीवृक्षका मुनि बसेर शान्तिको खोजी गर्न थाले। त्यही क्रममा आजकै दिन र तिथिमा ज्ञान प्राप्त भयो। त्यही आत्मबोध आज बौद्ध धर्म र बुद्धका उपदेश भएको छ।

नेपालको लुम्बिनी अन्तर्गत कपिलबस्तुमा शाक्य बंशका राजा शुद्धोधनका पुत्र भएर महारानी मायादेबीको कोखबाट उनी जन्मिएका थिए । उनी जन्मिएको सात दिनमै माताको निधन भएकाले मातृवात्सल्यबाट बिमुख भए। जन्मिनासाथ उनी सात पाइला हिंडेको किंवदन्ती छ। त्यही बालक दरबारको भोगबिलाश र सुखशयल त्यागेर शान्तिको खोजीमा हिँडे । अनेक कष्टमा अविचलित साधनारत रहँदा भएको आत्मबोध वा ज्ञान प्राप्ति आज विश्वका पैंतीस करोडभन्दा बढी मानिसको जीवन दर्शन, आस्था र बिश्वासको आधार बनिएको छ। यशोधरासॅग बिवाह भइ एक छोरा राहुलको जन्म भइसक्दा पनि घरगृहस्थी र सांसारिक मोहबाट अलग रहेर उनले गरेको साधनाको प्रतिफल आज करोडौं मानिसको जीवन आधार भएको छ ।

अथक प्रयास र साधना, निष्ठा र निरन्तरताले प्राप्त ज्ञान जब दुनियाँसॅग सञ्चार भयो तब उपदेश बनियो। त्यही उपदेशले उनलाई महामानब हुँदै भगवानको सम्मान दिलायो। शान्ति, सत्य, अहिंसा र सरलताका पर्याय भगवान बुद्धका वाणि आज विश्वमाझ परिचित छन्। भौतिकता र ऐशआरामलाई बन्धन ठानेका उनले रोग, वृद्धता र मृत्युलाई जब नियति हो भन्ने थाह पाए तबदेखि नै अशान्त र अधीर बने। त्यसैले शान्तिको खोजीमा मध्यरातमा घरबाट हिँडे र शान्ति अनुभूत नहुञ्जेल साधनामा लिन रहे। जन्म , ज्ञान प्राप्ति र महापरिनिर्वाण प्राप्त गरेको एउटै तिथि आज बैशाख २५ गतेले विश्वमा उनका उपदेश र आदर्शलाई आत्मसात गर्ने प्रेरणा दियोस् ।

नेपाल यस कारण पनि पुण्यभूमि हो किनकि यहाँको माटोमा आदर्श छोरी सीता जन्मिइन् । अनेक ॠषि- महर्षिहरूको तपोभूमि समेत रहेको नेपालको माटो पबित्र छ। देबी देवताहरुले समेत पाइला राखेको यहाँको माटोमा फेरि पनि बुद्धत्व चाहिएको छ। उनका उपदेशहरूको ब्यावहारिक अनुशरणले हामी सम्पूर्ण मानब जातिमा सहिष्णु, हार्दिक र बन्धुत्वको भाव जागृत गराउँछ । आजको जटिलताबाट मुक्ति दिलाएर अशान्ति, हिंसा र द्वन्द्वबाट शान्ति,अहिंसार सरलतातर्फ डोहोर्याउने भगवान बुद्ध चाहिएको छ। आजको पबित्र दिनले हामी सबैलाई यसतर्फ चिन्तन गर्न प्रेरित गरोस् सबैलाई शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here