झापा, बन्दाबन्दीको समयमा हुन सक्ने कालो वजारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय झापाले वजार अनुगमनलाई तीब्र पारेको छ ।
जिल्लाका विभिन्न स्थानमा गरिएको वजार अनुगमनका क्रममा उपभोक्तालाई ठग्ने र म्याद गुज्रिएका खाद्य सामग्री बिक्री बितरण गर्नेलाई कारवाही समेत गरिएको जिल्ला प्रशासन कार्यालय झापाका एक कर्मचारीले बताए ।
कोरोना भाइरस कोभिड – १९ को संक्रमण फैलन नदिन चैत ११ गतेदेखि मुलुक लकडाउनमा छ । यो अवधिमा उपभोक्तालाई बढी मूल्यमा सामग्री बिक्री गर्ने लाई कारवाही गरिएको बताइएको छ ।
जिल्ला स्तरीय अनुगमन समितिले पहिलो चरणमा जिल्लाका १५ वटै स्थानीय तहमा अनुगमन गरेको र दोस्रो चरणमा उजुरी परेका ठाउँमा मात्र लक्षित गर्दै अनुगमन भइरहेको घरेलु तथा साना उद्योग कार्यालय झापाकी उद्योग अधिकृत दुर्गा बास्तोलाले बताउनुभयो ।
झापामा दिन प्रतिदिन कोरोना भाइरस संक्रमणका विरामी थपिदै छन् । यस्तो अवस्थामा उपभोक्तालाई आवश्यक खाद्य सामग्री विक्री बितरणका लागि निश्चित समय तोकेर पसल खुल्ने गरेका छन् । सोही अवधिमा उपभोक्तालाई ठगी गर्ने गरेको उजुरी पछि वजार अनुगमनलाई तीब्र परिएको बताइएको छ ।