कोभिडले वैदेशिक रोजगारमा पार्ने असर

७ मंसिर २०७७, आईतवार मा प्रकाशित

नेपालीहरुको आयको मुख्य र महत्वपूर्ण श्रोत वैदेशिक रोजगारी हो । बैदेशिक रोजगारीले नेपालको ग्राहस्थ उत्पादनको २५ प्रतिशतको हाराहारीमा ओगटेको छ । कोभिड–१९ को कारण राज्यको यति ठूलो आय श्रोत अहिले धराशायी बन्दै गएको छ ।

कोभिड–१९ को माहामारीले नेपालको अन्य क्षेत्रमा जस्तै वैदेशिक रोजगारीमा पनि प्रत्यक्ष असर पु¥याएको छ । यसले नेपालको वैदेशिक रोजगारीलाई कति क्षति गर्छ भन्ने अनुमान गरिहाल्ने स्थिति छैन । तर, पछिल्लो छ महिनाको अवधिमा नेपालबाट वैदेशिक रोजगारीको लागि विदेशिने नेपालीहरुको संख्यामा ९९ प्रतिशतले ह्रास आएको छ जसले गर्दा भविष्यमा यसले पार्ने असरको अनुमान सहजै गर्न सकिन्छ ।

यद्यपि नेपाल सरकार, विश्व बैंक र अन्य निकायहरुले अनुमान गरे जस्तो नेपालको रेमिट्यान्सको प्रवाहमा अहिले नै खासै असर परेको छैन । बरु साउन महिनामा २३ प्रतिशतले रेमिट्यान्स बढेको छ । कोभिड–१९ को कारण रेमिट्यान्स दिने श्रमका गन्तव्य देशहरुको आर्थिक अवस्थामा प्रभाव पर्दा पनि अनुमान गरिएभन्दा उल्टो भएर रेमिट्यान्स बढ्नुले नेपाल सरकारले राहत महशुस गरेको हुनु पर्दछ । यस्तो बिषम् परिस्थितिमा पनि रेमिट्यान्स बढ्नुमा निम्न कारणहरु प्रमुख छन् ।
क) विश्वले अनुमान गरे जस्तो तत्काल आर्थिक प्रभाब नपर्नु । रोजगारीमा पनि अनुमान गरे जस्तो तत्काल धेरै असर नदेखिनु । तथापि २० देखि २५ प्रतिशत नेपालीहरु वैदेशिक रोजगारीबाट फर्कने अनुमान गर्न सकिन्छ ।
ख) हुण्डीको कारोबारमा कमी आउनु ।
ग) हवाई यातायात बन्द हुनुले सुन, मोबाइल र ल्यापटपको अबैध कारोबार घट्नु ।
घ) देशको समग्र आयातमा कमी आउनु । र,
ङ) जागिर गुमाएर फर्केकाहरुले पाएको उपदान र तलब एकमुष्ठ पैसा नेपाल पठाउनु ।
तर, रेमिट्यान्स बढिरहेको छ भनेर अहिले नै खुशी हुनु भने जरुरी छैन । तत्काललाई रेमिट्यान्स बढे जस्तो देखिए पनि केही महिनापछि फेरि घट्न शुरु हुनेछ । र त्यो घटाइ सायद राज्यले थेग्न नसक्ने पनि हुन सक्छ । किनकि विदेशमा अहिले चालू अवस्थामा रहेका प्रायः कामहरु (प्रोजेक्ट) अन्तिम अवस्थामा रहेका छन् । तर, नयाँ प्रोजेक्ट शुरु हुने छाँटकाँट देखिँदैन । घोषणा गरिएका केही ठूला कामहरु स्थगन गरिएका छन् । जसले गर्दा निकट भविष्यमा थप रोजगारी कटौती बढ्नेछ र कामदारको माग ह्वात्तै घट्नेछ ।

अर्कोतिर विश्व व्यापार सामान्य अवस्थामा फर्कने क्रमसँगै हुण्डी कारोबार बढ्ने छ । हवाई यातायत सुचारु भएकोले सुन, मोबाइल र ल्यापटपको अवैध कारोबार बढ्न शुरु भइसकेको छ । जागिर गुमाएकाहरु फर्किसकेका हुनेछन् र नयाँ जाने क्रम कम हुनेछ वा नगन्य हुनेछन् । अहिले पनि विदेश जाने क्रम लगभग रोकिएको नै छ । यसले नेपालको रेमिट्यान्स प्रवाहमा ठूलो असर पार्नेछ ।

अहिलेसम्म भारत बाहेक अन्य मुलुकहरुबाट एक लाख ५० हजारभन्दा धेरै नेपालीहरुले रोजगारी गुमाएर नेपाल फर्केका छन् । प्रमुख श्रम गन्तव्य र रेमिट्यान्सको श्रोत खाडी मुलुकहरु मध्ये युएईबाट ४० हजार, कतार २५ हजार, साउदी २५ हजार, मलेसिया २० हजार गरेर एक लाख २५ हजारभन्दा बढी नेपालीहरु रोजगारी गुमाएर फर्कीसकेका छन् । रोजगारीका प्रमुख गन्तव्य क्षेत्रहरुको आर्थिक अवस्थामा सुधार भएर यस क्षेत्रमा नयाँ ठूला प्रोजेक्ट शुरु भएनन् भने आउँदो एक बर्षभित्र खाडी क्षेत्रबाट मात्र तीन लाखभन्दा बढी नेपालीहरु वेरोजगार बनेर नेपाल फर्किने छन् ।

कोभिड–१९ को औषधि पत्ता लागिनसकेको र कहिलेसम्म यो नियन्त्रण हुन्छ भन्ने अनुमान लगाउन पनि कठिन भएकोले ठ्याक्कै अहिले नै यो समस्याको हल हुन्छ र सबै ठीक भएर कहिलेसम्म पहिलेकै अवस्थामा संसार फर्कन्छ भनेर यसै भन्न सकिन्न । वैदेशिक रोजगारीको अवस्था पनि कोभिड–१९ को औषधि कसरी कहिलेसम्म बन्ला र सामान्य नागरिकले त्यो औषधि प्रयोग गर्न पाउलान् भन्ने कुराले निर्धारण गर्ने हो ।

औषधिको अनुसन्धान र बिभिन्न प्रयोगहरु पनि भइरहेकोले २०२१ को जुनसम्म सर्वसाधारणको उपयोगको लागि बजारमा आउला कि भन्ने अनुमान छ । यो अनुमान पनि विश्वमा अहिले हुँदै गरेको बिभिन्न तहका परीक्षणको नतिजामा भर पर्नेछ । तथापि विज्ञहरुले कोभिड–१९ ले २०२१ भरी नै प्रभाव पार्नेछ भनेर भनिसकेको अवस्था छ । यस्तो अवस्थामा अबको एक बर्ष अर्थात् २०२१ भरिमा पनि यसको नियन्त्रण नहुने हो भने कम्तीमा आठदेखि १० लाख अर्थात् वैदेशिक रोजगारीमा रहेका अनुमानित ४० लाख नेपालीहरुमध्ये २० प्रतिशतको हाराहारीमा नेपालीहरु नेपाल फर्कने छन् । यो सँगसँगै नेपालबाट दैनिक एक हजार पाँच सय नेपालीहरु बिदेश जानेक्रम रोकिनेछ । महिनाको ४५ हजार नेपालीहरु अर्थात् २०२० र २०२१ दुई बर्षमा अर्को १० लाख नेपालीहरुको वैदेशिक रोजगार पनि खोसिने छ । उनीहरु वेरोजगार नै रहनेछन् । रोजगारी गुमाएर नेपाल फर्केका र नयाँ रोजगारीको लागि विदेश जान नपाएका यी सबै गरेर अबको एक बर्षमा १५÷२० लाख नेपालीहरु वेरोजगार बन्नेछन् ।

यसका असरहरु, आर्थिक प्रभाव
नेपालीहरुको व्यक्तिगत आय श्रोत खुम्चिने छ । राष्ट्रिय रेमिट्यान्समा प्रभाव पर्नेछ । अर्थात् रेमिट्यान्स घट्ने छ । व्यक्तिको क्रय शक्ति कम हुनाले नेपालको व्यापार व्यवसायमा पनि असर पुग्नेछ । आयश्रोत नभएपछि व्यक्तिको जीवनस्तर खस्कने छ । बालबालिकाको वृत्ति बिकास स्तरमा क्षति पुग्नेछ ।

शिक्षामा प्रभाव
वैदेशिक रोजगारीले प्राप्त पैसाले नेपालीहरुले छोराछोरीको भविष्य निर्माणको लागि शिक्षामा लगानी गरिरहेका छन् । विदेशमा आफूले दुःख गरेर छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाएका छन् । अब यी बालबालिकाको शिक्षाको भविष्य के होला ? सोच्ने बेला आएको छ ।

स्वास्थ्य क्षेत्रमा प्रभाव
रेमिट्यान्सको ठूलो हिस्सा गुणस्तरीय स्वास्थ्य सेवामा खर्चिने गरिएको छ । रोगी र बुढा भएका बा–आमाको स्वास्थ्य उपचार विदेशमा कमाएको पैसाले गरिन्थ्यो भने अब उनीहरुको स्वास्थ अवस्था के होला ? चिन्ता थपिनेछ ।

सामाजिक असर
समाजमा वेरोजगार बढेपछि देखापर्ने असर नै सामाजिक असर हुन् । जस्तो आर्थिक अवस्था नाजुक हुँदै गएपछि यसको प्रभावले घर–घर र समाज–समाजमा द्वन्द्व र बैमनश्यता बढ्नेछ । अपराधिक क्रियाकलापमा वृद्धि हुनेछ ।

राजनीतिक असर
राजनीतिले नै देश बन्ने हो । युवाहरुको ठूलो हिस्सा नेपाल फर्केपछि यसले राजनीतिक रुपमा पनि असर पार्नेछ । वैदेशिक रोजगारीमा अलपत्र परेका नेपालीहरुको उद्धार सहयोगमा अहिलेको सरकारले गरेको बेवास्ताको असर आगामी निर्वाचनमा देखिने सम्भावना उत्तिकै छ ।

चुनौति र अवसरहरु
हरेक समस्याहरु समाधान बोकेर आउँछन् । कोभिड–१९ ले पारेको प्रभावहरुले नै चुनौतिहरु खडा गर्ने हुन् । असल सरकार र असल नेतालाई यी चुनौतिहरु अवसरको रुपमा आउनेछ । समस्याको पहिचान बेलैमा गर्न सके हरेक चुनौतिहरु अवसर बन्ने पक्का हो । नेपालको सन्दर्भमा पनि कोभिड–१९ ले सिर्जना गरेको चुनौतिलाई अवसरको रुपमा बदल्न जरुरी छ । खाडीका मरुभूमिलाई स्वर्ग बनाउने यत्रो नेपाली जनशक्तिलाई आफैमा स्वर्ग रहेको मुलुक नेपालको निर्माणमा प्रयोग गर्ने हो भने नेताहरुले भने जस्तो स्वीजरल्याण्ड, सिंगापुर र युरोप बन्न नेपाललाई कति समय पनि लाग्दैन । सरकारले यो समस्यालाई समस्या होइन कि अवसरमा बदल्न सक्नु पर्दछ ।

कसरी बदल्ने त ?
वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई समाजमा यथोचित ढंगले पुनस्र्थापना गर्ने । उनीहरुलाई राजनीतिक गतिबिधि र सामाजिक क्रियाकलापहरुमा समाहित गर्ने । उसले विदेशमा बस्दा सिकेको र बुझेको एक सेकेण्ड समयको महत्वलाई मात्र पनि हाम्रो समाजलाई सिकाउन र बुझाउन सके धेरै फाइदा हुनेछ । सरकारले सीप बैंकको स्थापना गरी उनीहरुको सीप परीक्षण गरी देश निर्माणमा लगाउन सक्नेछ ।

संसार भरका आधुनिक प्रविधि वैदेशिक रोजगारीका यी देशहरुमा छन् । एउटा नेपाली नेपालबाट जाँदा सीप बिना नै गएको हुन सक्छ । तर, फर्कदा उसले सीप र प्रविधि सिकेर फर्केको हुन्छ । विदेशमा आधुनिक प्रविधिमा काम गरेको उसको अनुभवलाई हामीले चिनेर राष्ट्रहितमा प्रयोग गर्न सकिनेछ ।
राज्यका तीनवटै निकायको समन्वयमा रोजगारी निर्माण गर्ने र उनीहरुले विदेशमा सिकेको सीपको पहिचान गरी क्षमता अनुसारको रोजगार उपलब्ध गराउन जरुरी हुन्छ । जस्तो मेसन, प्लम्बर, ठूला मेसिन चलाउने अपरेटरहरुलाई निर्माणको क्षेत्रमा लगाउन सकिन्छ । अहिले छिमेकी भारतबाट आएका ठूलो संख्याका मेसन र प्लम्बरहरुको स्थानमा नेपालीहरुलाई नै रोजगार दिन सकिन्छ । इजरायलमा कृषिको क्षेत्रमा काम गरेर फर्केकाहरुलाई आधुनिक कृषिमा आकर्षित गर्ने । उनीहरुलाई कृषि ऋण उपलब्ध गराउने र उत्पादनमा जोड दिने ।

वैदेशिक रोजगारीमा गएर फर्केकाहरुलाई स्वरोजगार बनाउनु चुनौतिलाई अवसरमा बदल्ने अर्को उपाय हो । साना–साना पुँजीहरुलाई एकीकृत गरी उनीहरुलाई आफै लगानी गरी स्वरोजगार बन्न प्रेरणा दिने । लगानीको लागि आवश्यक पर्ने प्रशासनिक कामहरुको लागि प्रशासन क्षेत्रमा रहेका झन्झटहरुलाई कम गर्ने ।

सरकारले लगानीको सुरक्षाको ज्ञारेन्टी गरी ठूला लगानीका प्रोजेक्टहरुमा शेयर लगानी गर्न आकर्षित गर्ने र देश निर्माणमा अपनत्वका साथै र राष्ट्रभक्ति जगाउने । राष्ट्र र राष्ट्रियता नेपालीहरुको ठूलो अस्त्र हो । यसरी उनीहरुलाई आफ्नो देश आफै बनाउनमा उत्प्रेरित गर्न सकियो भने अहिलेको कोभिड–१९ महामारी होइन अवसर बन्ने निश्चित छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here