विभाजनले कमजोर बनाउँछ

९ पुष २०७७, बिहीबार मा प्रकाशित

एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता यात्रा अढाई वर्षमै टुंगिएको छ । नेकपा एमालेका तर्फबाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त्यसको एक वर्षपछि सरकारको नेतृत्व आलोपालो गरेर गर्ने सहमति गरेका थिए । त्यसपछि उत्पन्न भएको विवादको समन गर्न दुई अध्यक्षहरुले अर्को सहमति गर्दै प्रधानमन्त्री ओलीले सरकारको र दाहालले पार्टी सञ्चालन गर्ने निर्णय गरेका थिए । तर, सहमति विपरीत प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको भन्दै शुरु भएको आन्तरिक रुपमा उत्पन्न विवादले इतिहासकै ठूलो दल समूहमा वर्गीकृत हुन पुगेको छ । भुसको आगो सरह फैलिएको अन्तरकलहको परिणाममा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ‘बाँसुरी’ नै फुटाइदिए । जनताको बोली भनिने संसद विघटन गर्ने प्रम ओलीको निर्णयले बाँसुरी नै फुट्यो र अन्तरको असन्तुष्टि, कलह सतह हुँदै सडकमै देखियो । त्यसकै उदाहरण भयो बुधबारको नेकपाको बैठक र निर्णयहरु ।

दुई अध्यक्षीय प्रणालीका नेकपाका दुई अध्यक्षले बुधबार छुट्टाछुट्टै भेला गरी आ–आफूलाई वैधानिक सावित गर्ने प्रयास गरे । अध्यक्ष तथा प्रम ओलीले केन्द्रीय समिति बिस्तार गरे भने अर्का अध्यक्ष दाहालले ओलीलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्षमा मनोनयन गरे । दुबै समूहको आ–आफ्नो दाबी र निर्णयले नेकपा अब अघोषितरुपमा विभाजित भएको छ । दुबै समूहको यो निर्णयले नेकपा अब भिडन्तमै उत्रिएको टिप्पणी हुन थालेको छ । चुनावी कार्यगत एकता गरेका यी दुई पार्टीको दीर्घजीवनमा जानकारहरुले त संशय व्यक्त गरेका थिए । अन्ततः त्यो संशय पनि सत्य सावित हुन पुग्यो । आज नेकपा जसरी समूहमा विधिवत् रुपमै वर्गीकृत भएको छ त्यसले दक्षिण एशियामा सर्वाधिक शक्तिशाली, ठूलो कम्युनिष्ट पार्टी र नेपालको राजनीतिक भविष्यमै अस्थिरता र अनिश्चितता उत्पन्न गराएको छ ।

पद र प्रतिष्ठाको अंशवण्डाबाट उत्पन्न विवाद कलह हुँदै विभाजनसम्म नल्याइदिएको भए हुन्थ्यो भन्नेहरु अझै छन् । अन्तरकलह घरभित्रै समन गर्न पनि सकिन्थ्यो, यसो गर्नु दलका लागि समेत हितकर हुन्थ्यो । तर, प्रमले अभिभावकीय भूमिका निर्वाह गर्न सकेनन् र संयमित हुन पनि सकेनन् । स्वयम्ले गरेको वाचा र सहमतिबाट विमुख हुँदै निरंकुशताको बाटोमा अघि बढेका अध्यक्ष ओलीले कार्यकारी प्रमुखका रुपमा एकाएक संसद नै विघटन गरेर पार्टी विभाजनको आधार तयार गर्नु हुने थिएन । जे होस् नेकपा विभाजित भएको छ, आउँदो बैशाख महिनामा आम निर्वाचन हुने घोषणा गरिएको छ । आम निर्वाचन प्रजातन्त्रको सौन्दर्य हो, जनताले मत प्रकट गर्ने र बहुमतको आधारमा शासन गर्ने पद्धति यसको श्रेष्ठता हो । तर, त्यहाँसम्मको यात्रा कसरी अघि बढ्छ अनिश्चित नै छ । एकथरीले धर्म निरपेक्षता, संघीयता, राजसंस्थाको निर्णय जनमतबाटै गरिनुपर्छ भनिरहेका छन् । यस्तो बेला संगठित र शक्तिशाली भनिएको नेकपाभित्र उत्पन्न किचलोले देशलाई कता लान्छ टुंगो छैन । त्यसैले सर्वशक्तिमान जनताले धैर्य छाड्नु हुँदैन र विवेकपूर्ण अग्रसरता देखाउन आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here