भद्रपुर ।

झापाका उद्योगीहरुको संस्था झापा उद्योग संघमा आगामी तीन वर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिले शनिबारदेखि कार्यभार सम्हालेको छ ।
संघकै सभाहलमा आयोजित समारोहकाबीच नवनिर्वाचित अध्यक्ष यमबहादुर श्रेष्ठलाई वर्तमान अध्यक्ष टीकाराज ढकालले संघको माइन्यूट हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका हुन् ।
समारोहका प्रमुख अतिथि सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पदको प्रमाणपत्र वितरण गरेका थिए । त्यस अवसरमा निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत गोपाल गिरीले नवनिर्वाचित पदाधिकारीहरुलाई खादा–माला पहिर्याएर सम्मान गरेका थिए ।
महासचिव दुर्गाप्रसाद भण्डारीले सञ्चालन गरेको समारोहमा प्रमुख अतिथि ढकालले शुभकामना मन्तव्य राख्दै संघको गरिमा उच्च राख्न र उद्योगीहरुको समस्या समाधानमा नवनिर्वाचित कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै मेयर जीवनकुमार श्रेष्ठले भद्रपुर नगरपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै त्यसका लागि आवश्यक सुझाव–सल्लाह दिन उद्योगी–व्यवसायीहरुलाई आग्रह गरे ।
समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तारानाथ घिमिरे, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु, भद्रपुर–५का वडाध्यक्ष बन्धु कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।































