सडक विस्तार गर्दा विवाद

७ बैशाख २०७८, मंगलवार मा प्रकाशित

झापा ।

झापा चन्द्रगढीको लेखनाथ चोकदेखि पश्चिम काफ्ले टोल हुँदै देउनियाँ खोलासम्म जोड्ने नालासहित सडक बिस्तारको निर्माण कार्यमा विवाद उत्पन्न भएको छ ।

एक वर्षअघि सघन शहरी विकास आयोजना भद्रपुरले निर्माण गरेको कल्भर्ट नै दक्षिणतर्फ दुई फिट मिचेका कारण अहिले सडक विस्तारको काममा विवाद देखिएको हो । भद्रपुर–७ र १०को सीमानामा पर्ने सो सडकखण्डमा केही दिनयताबाट पक्की नालासहित सडक फराकिलो पार्ने काम शुरु गरिएको छ । विगतमा कल्भर्ट नै दक्षिणतर्फ मिचेका कारण हाल वारपार सडक दक्षिण झरेको देखिएको छ ।

पहिलो चरणमा उत्तरतर्फ नाला बनाउन शुरु गरेको सडक निर्माण उपभोक्ता समितिले शिवकुमार न्यौपानेको घरसम्मको चोकमा एउटै लाइनमा आएको नालालाई चोकबाट सीताराम न्यौपाने (उपभोक्ता समिति सचिव) को जग्गाबाट दक्षिणतर्फ पवित्रादेवी नेपालको जमिनतर्फ दुई फिट मिचेपछि विवाद बल्झिएको हो ।

केही वर्षअघि दक्षिणतर्फको नाला चोकसम्म नै खनेको तर उत्तरतर्फ चोक पूर्वबाट सीताराम न्यौपानेको जग्गातर्फ करिब एक सय मिटर नाला खनिएको थिएन । सोही क्रममा सघन शहरीले दक्षिणतर्फको नालालाई आधार बनाएर ३० फिट उत्तर लैजाँदा समितिका सचिव न्यौपानेको जग्गा जोगिएको छ ।

बाटोको मोडाइ कता हुने हो भनेर सघन शहरीले उत्तरतर्फ कल्भर्ट बनाउन केही फिट छोडे पनि हालको उपभोक्ता समितिले कल्भर्ट नहेरी साबिकको सडकलाई मध्यविन्दु बनाएर लैजाँदा दक्षिणतर्फका जनता पीडित बनेका हुन् । नालासहित सडकको चौडाइ ४० फिट रहेको छ ।

केही वर्ष अघि वडा नम्बर १० का सदस्य तुलसी पोखरेलको नेतृत्वमा सडक मिलाउने भन्दै ग्रेडर लगाएर उत्तरतर्फको माटो काटेर दक्षिणतर्फ थुपारिएको थियो । त्यसपछि खाल्डा खुल्डी पुर्ने क्रममा बिच्छ्याएको मिक्स गिटी बगेर दक्षिण झरेपछि सडकको मुख्य सीमाना दक्षिणतर्फ देखिँदा उत्तर तर्फ कम क्षति हुन गएको हो ।

हाल उपभोक्ता समितिले बनाउँदै गरेको सडकमा बाटो दक्षिणका जग्गाधनी पीडित बनेका छन् । सडकको दक्षिण तर्फ रहेका नेपाल, देवीप्रसाद दाहाल, लीलाकान्त घिमिरे, तेजप्रसाद अधिकारी, कुमार कोइराला लगायतको जमिन अतिक्रमणमा परेको छ ।

नक्सामा बाटो नदेखिएकोले दुवैतर्फको जग्गा नापेर मध्यविन्दुबाट बराबरी सडकको नाप लिनुपर्ने पीडित तेजप्रसाद अधिकारीको माग छ । सडक दक्षिणतर्फ पेलेर ल्याएको उनको दाबी छ । उपभोक्ता समितिको चरम लापरबाही भएको अर्का पीडित जग्गाधनी देवीप्रसाद दाहालको आरोप छ । नाला सीधा हुनुपर्नेमा आफन्त र सचिव न्यौपानेले नियतवश नाला बाङ्कोटिङ्गो बनाएको उनले बताए ।

सडकमा विवाद देखिएपछि आइतबार बिहान १० नम्बर वडाध्यक्ष टेकबहादुर खड्का (काजी), वडा नम्बर ७का अध्यक्ष बिनोदप्रसाद पोखरेल, भद्रपुर नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जीतकार, उपभोक्ता समिति, जग्गाधनी लगायतकाबीच भएको छलफलमा समितिका सचिव न्यौपाने पीडित जग्गाधनीहरूमाथि जाइलागेका थिए ।

सरोकारवालालाई सम्झाउनको सट्टा न्यौपानेले सरोकारवालाहरूलाई अपशब्द बोल्दै आक्रमणको प्रयास समेत गरेको बताइएको छ । गल्ती ढाकछोप गर्न ठूलो स्वरले उफ्रिएपछि इञ्जिनियर रञ्जीतकारले समितिले शिष्ट भाषा प्रयोग गर्न र केही अप्ठ्यारो परेमा नगरपालिकालाई जानकारी गराउन भन्दै सचेत गराएका थिए ।

सघन शहरीले राखेको कल्भर्ट नै दक्षिण तर्फ दुई फिट झरेका कारण यो समस्या आएको रञ्जितकारको भनाइ छ । निर्माणमा अवरोध नगरी शुचारु गर्ने सहमति भएको उनले जनाए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here