पत्रकार महासंघको पद हस्तान्तरण

७ बैशाख २०७८, मंगलवार मा प्रकाशित
  • 296
  •  
  •  
  •  
  •  
  •  
    296
    Shares

बिर्तामोड।

नेपाल पत्रकार महासंघ झापाको पद हस्तान्तरण सोमवार सम्पन्न भएको छ । महासंघ अध्यक्ष तारामणि सापकोटाले नवनिर्वाचित अध्यक्ष एकराज गिरीसहितका पदाधिकारीलाई पद हस्तान्तरण गरेका हुन् ।

बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच निर्वाचन समितिले राष्ट्रिय परिषद्, प्रदेश तथा झापा शाखाबाट निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्दै शपथ ग्रहण गराएको थियो । नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समिति संयोजक चिन्तामणि दाहालले प्रमाणपत्र प्रदान गरेका थिए ।
महासंघकी निवर्तमान उपाध्यक्ष भीमा शिवाकोटीले स्वागत गरेको कार्यक्रममा नवनिर्वाचित प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, निर्वाचन समिति संयोजक दाहाल, निवर्तमान अध्यक्ष सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पहिलो चरणको कार्यक्रमको अध्यक्षता सापकोटाको रहेको थियो । पद हस्तान्तरणसँगै नवनिर्वाचित अध्यक्ष गिरीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन सन्तोष आचार्य र अर्जुन राजवंशीले संयुक्त रुपमा गरेका थिए । सो अवसरमा अध्यक्ष र कोषाध्यक्षले माइन्यूटसहित हरहिसाब बरबुझारथ गरेका थिए ।

योसँगै नेपाल पत्रकार महासंघ झापाको १३औं अधिवेशनबाट निर्वाचित जिल्ला समितिको प्रथम बैठक सोमवारै सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको बैठकले ९ बुँदे निर्णय समेत गरेको छ ।

जसमा महासंघको १३ औं जिल्ला अधिवेशनसँगै प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत झापाबाट तीनै तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन योगदान दिने महासंघको निवर्तमान कार्यसमिति, निर्वाचन समिति, विभिन्न सञ्चारसम्वद्ध संघ–संस्था, महासंघका सदस्यहरू, महासंघ कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षा निकाय लगायत निर्वाचन प्रक्रियामा जोडिएका सबै पक्षप्रति धन्यवाद ज्ञापन गरिएको छ ।

त्यस्तै महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई वृद्धि गरी एक करोड रुपैयाँ पुर्याउने, कोषवृद्धिमा सहयोग तथा योगदान गर्न सबै पक्षलाई आह्वान गर्ने, महासंघका सबै सदस्यलाई अनिवार्य रुपमा कोषको सदस्य बन्न बैठकले आह्वान गरेको छ ।

त्यसैगरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हित र नेपाली पत्रकारिताको संस्थागत विकास, सूचनाको हक, नागरिकको आधारभूत अधिकारको संरक्षण–सम्बद्र्धनमा दृढतापूर्वक क्रियाशील रहने प्रतिवद्धता बैठकले गरेको छ ।

यसैगरी केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानूनहरूलाई प्रेस स्वतन्त्रतामैत्री, सञ्चार संस्था तथा श्रमजीवी पत्रकारको हित हुने गरी बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

झापाका स्थानीय तहमा यस सम्बन्धी कानून निर्माणमा आवश्यकता अनुसार महासंघले सहजीकरण गर्ने निर्णय वैठकले गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारी पुनः फैलिइरहेका कारण आवश्यक सावधानी र सुरक्षा मापदण्ड अपनाउँदै आफ्नो दायित्व निर्वाह गर्न सबै सञ्चारकर्मी र सञ्चार गृहलाई आह्वान गर्ने, कोरोना भाइरस संक्रमणको महामारीका कारण रोजगारी गुमाएका पत्रकार, संकटमा परेका मिडियाका लागि आवश्यक सहयोगको पहल गर्ने लगायत रहेका छन् ।

त्यस्तै नेपाल पत्रकार महासंघ झापाका सदस्य कमल मिश्रको कोरोना संक्रमणका कारण उपचारका क्रममा यही वैशाख २ गते विहीबार काठमाडौंमा ४९ वर्षको अल्पायुमै भएको अकल्पनीय निधनले महासंघ झापा शाखा मर्माहत र स्तब्ध बनेको भन्दै बैठकले शोक प्रस्ताव पारित गरेको छ । २०४९ सालदेखि पत्रकारितामा क्रियाशील मिश्रको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । शोकको यस घडीमा गहिरो दुःख व्यक्त गर्दै दिवंगत मिश्रको आत्माको चिरशान्तिको कामनासहित वैठकले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

महासंघ झापा शाखाको औपचारिक सिफारिसबाट वितरण हुने पत्रकारिता पुरस्कार, सम्मानहरु कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले नलिने र उक्त सम्मान पुरस्कारहरु अन्य सदस्यहरुलाई सिफारिस गर्ने निर्णय समेत बैठकले गरेको छ ।

महासंघलाई साझा र समावेशी संस्थाको रुपमा स्थापित गर्दै महासंघका हरेक कामलाई प्रविधिमैत्री र पारदर्शी बनाउने, सवै गतिविधि सदस्यहरु समक्ष सम्प्रेषण गर्ने तथा खर्च प्रणालीलाई मितव्ययी बनाउने, अतिथि सत्कार लगायत कुनै पनि सन्दर्भमा मद्यपान, धुम्रपान तथा फजुल कार्यमा महासंघको बजेटबाट खर्च नगर्ने बैठकले निर्णय गरेको छ । वैठकमा सक्रियतापूर्वक सहभागिता जनाउने सबै पदाधिकारी तथा कार्यसमिति सदस्यहरुप्रति अध्यक्षले धन्यवाद दिएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here