मेचीनगरको घरदैलो अभियान शुरु: बजारमा खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही

१६ बैशाख २०७८, बिहीबार मा प्रकाशित

मेचीनगर,
झापाको मेचीनगर नगरपालिकाले कोभिड १९ का विषयमा नगरवासीलाई जनचेतना दिने उद्घेश्यले विहीबारदेखि घरदैलो अभियानसहित सचेतनामुलक कार्यक्रम शुरु गरेको छ ।

विशेषगरी नगरका भारतसँग सीमा जोडीएका वडाहरुलाई लक्षित गरेर नगरपालिकाले यस्तो अभियान शुरु गरेको हो । मुख्यः नाका काँकरभिट्टाबाट भारतीय नागरिकलाई प्रवेशमा रोक लगाए पछि खुला सीमानाको फाइदा उठाएर अन्य नाका प्रयोग गरेर अबैधरुपमा त्यस्ता मानिसले प्रवेश नपाउन भनेर स्थानीयलाई सचेत गराउनका लागि यस्तो अधियान शुरु गरेको हो ।

भारतका विभिन्न शहरमा दोस्रो लहरको कोभिड १९ संक्रमण बढ्दै गएपछि नेपाल भारतको पुर्वी सीमानाका काँकरभिट्टा भएर नेपाल प्रवेश गर्ने भारतीयहरुका कारण कोभिड १९ संक्रमण बढ्न सक्ने भएकाले जिल्लाका अन्य नाका भन्दा काँकरभिट्टालाई व्यवस्थित गदैं मानिसको आवतजावतमा कडाई गरिएको छ । अभियान अन्तर्गत नगरको वडानम्बर ४ स्थित बाहुनडाँगी बजारमा अभियान सम्पन्न गरेको छ । वडानम्बर ४ को व्यवस्थापनमा सामाजिक दुरी कायम गदैं मास्क, सेनिटाइजरको प्रयोगसहित भएको कार्यक्रममा बोल्दैं नगरप्रमुख विमल आचार्यले कोभिड १९ को संक्रमणका बखत विभिन्न मानिसहरुले अबैध बाटो प्रयोग गर्ने र त्यसबाट कोभिड १९ भित्रिने भएकाले यसतर्फ सवै सचेत हुनुपर्ने बताउनुभयो । खुला सिमाका कारण अवैधरुपमा आवतजावत लाई रोक्नुपर्ने र कुनै नयाँ मान्छे देखा परे तत्काल सुरक्षाकर्मीलाई खवर गर्न उहाँले आग्रह गर्नुभयो । सामुदायिक भवनमा कुनै कार्यक्रम सञ्चालन गर्दा २५ जना भन्दा बढीको सहभागिता हुन नदिन त्यसका समिति लाग्नुपर्ने उहाँको भनाई थियो ।

भारतसँग सीमा जोडिएको झापाको १ सय ४४ दशमलव २ किलोमिटर खुल्ला सीमाना मध्ये मेचीनगरमात्र झण्डै ३५ देखि ४० किलो मिटर खुला मेचीनगरसँग जोडिएको बताउदैं खुला सीमानाका कारण अवाञ्चित गतिविधि हुने भएकाले सवै सचेत हुनुपर्ने नगरप्रमुख आचार्यको भनाई छ । उपप्रमुख मीना पोखरेल उप्रेतीले संकटको घडीमा बजारमा कृत्रिम अभाव सिर्जना नगर्न सवै उद्योगी व्यव्सायीहरुमा आग्रह गर्नुभयो । नगरपालिकाले बजार अनुगमनलाई तीब्र पार्ने भन्दैं त्यस क्रममा कसैले उपभोक्ता ठग्ने काम गरेको फेला परे तत्काल कारवाही हुने चेतावनी दिनुभयो । हरेकलाई आफ्नो पसलमा मुल्य सूची राख्न, उपभोग्य मिति समाप्त भएका खाद्य वस्तुको विक्री वितरण नगर्न समेत उहाँले अनुरोध गर्नुभएको छ । स्थानीय सरकारले यस नाकाबाट कोभिड १९ संक्रमण फैलन नदिन यसको नियन्त्रणमा शुरुदेखि नै लागेको बताउनुभयो । नगरले नगरक्षेत्रमा सचेतनामुलक कार्य सञ्चालन गर्ने तथा नगरवासीलाई अनावश्यकरुपमा हुने भीडभाडमा नजान आग्रह गदैं मास्क, सेनिटाइजर, ग्लोब्ससहित स्वास्थ्य सामग्री अनिवार्य प्रयोग गर्न लगाएको जानकारी गराउनुभयो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिलसिहं दाहालले अहिले एउटा व्यक्तिले अर्काे व्यक्तिलाई बच्नुहोस जोगिनुहोस भन्ने दिन आएको बताउनुभयो । कोभिड १९ बाट बच्न आफै सचेत हुनुपर्ने उहाँको भनाई थियो । सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट बाहुनडाँगीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भिष्म सापकोटा, सामाजिक अगुवा नीलकण्ठ तिवारी, रमेश दाहाल, निरज घिमिरे, अर्जुनकुमार कार्कीलगायतले यस्तो विषम परिस्थतिमा सवैजना एक ठाउँमा उभिएर समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । मेचीनगर नगरपालिका वडानम्बर ४ का वडाध्यक्ष नविन बरालले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, वडानम्बर —५ का वडाध्यक्ष योगेन थापा मगरलगायतको सहभागिता रहेको थियो ।

मेचीनगर नगरपालिका मेचीनगरका उद्योगी व्यवसायीहरुको छाता संगठन मेची उद्योग बाणिज्य संघका पदाधिकारीहरुसँग समेत बसेर छलफल गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here