जनताका प्रत्येक दुःखमा जो साथ रहन सक्छ ऊ नै जनप्रतिनिधि हो । जनप्रतिनिधिले जनताको दुःख, सुखलाई अनुभूत गर्नुपर्छ मात्रै होइन सम्भव भएसम्म सहयोग गर्न तयार रहनु पर्दछ । देश संघीय ढाँचामा गएपछि स्थानीय सरकार बनिए जहाँ प्रतिनिधि चुनिए र उनीहरुले जनसेवा गर्ने कबोल पनि गरे । तर, धेरै प्रतिनिधिहरू व्यक्ति र दलको स्वार्थभन्दा माथि उठ्न सकेनन् । केही यस्ता जनप्रतिनिधिहरू देखिए जसले आफूलाई जनताका सेवक नै बनाए । ‘दुःखमा मानिस चिनिन्छ’ भनिन्छ, वैश्विक महामारी कोरोना कालमा धेरैलाई जनताले चिने शायद । बन्दाबन्दी र निषेधाज्ञाले हातमुख बन्द भएका जनता हुन् वा परिवारबाटै अलग हुनुपर्ने संक्रमित जनताका लागि होस् प्रतिनिधिहरूको भूमिका र योगदानको मूल्याङ्कन हुन्छ नै । महामारीको त्रासमा रहेका नेपाली जनतालाई दाताले प्रदान गरेको सहयोगको खोप लगाउने क्रममा नैतिक दायित्व कति निर्वाह भएको छ सबैले अनुभूत गरेकै छन् ।

आपत विपतमा दुला पस्ने प्रतिनिधि जनताको अपेक्षा होइन । थोरै प्रतिनिधि यस्ता देखिए जसले पदीय हैसियतले प्राप्त गरेको सुविधा जनसेवामा लगाए । सरकारले प्रदान गरेको सवारी एम्बुलेन्स बनाएर जनसेवा गरे । कति आफैं चालक बनेर त कोही कोरोना संक्रमितलाई पिठ्युँमा बोकेर जनसेवा गर्न पनि तयार भए । त्यस्ता अपवाद बाहेकका बहुसंख्यक जनप्रतिधिहरूले आफू र आफ्ना बाहेकका देख्न पनि मानेनन् । झापामा त्यस्ता जनप्रतिनिधिहरू औंला भरी पनि भएनन् जो जीवन जोखिममा राखेर सङ्कटमा जनताका साथ हिँडेका हुन् । लामो समय काम बन्द भएर परिवारको भरणपोषण गर्न सकस भएका वर्ग यसपटक बढी आहत भए । रोगभन्दा पनि भोकले मरिने चिन्ताले छटपटिएका जनतालाई केही ऊर्जाशील हात र उपकारी साथले केही राहत दियो तर, सबैलाई सम्भव थिएन र भएन । यस्तोमा बिर्तामोड नगरपालिका वडा नम्बर ८ का अध्यक्ष अजय कार्कीले व्यक्तिगत र केही मनकारीको मन जितेर आफ्नो वडाका सहयोगापेक्षीहरूलाई खाद्यान्न सहयोग गरे । वडाका चार सय परिवारलाई तत्कालको गर्जो टार्न गरेको प्रयास उदाहरणीय मान्नुपर्छ । त्यसो त अग्रसरता देखाउन सक्ने व्यक्ति र विश्वासयोग्य स्वयम्सेवी संस्थाको पहलमा गत वर्ष उल्लेख्य सहयोग गरिएको थियो ।
देश अव्यवस्था, अस्थिरता, महामारीजन्य र प्राकृतिक विपतको पीडाले रोइरहेको छ । देश र जनताको सर्वोच्च प्रतिनिधि भनिने सरकार सत्ताबाट बेदखल भइने चिन्ताले थुनछेकमै रमाएको छ । समाजको सेवा गर्नुलाई अभीष्ट ठान्नु पर्ने अन्य राजनीतिक दलहरू पनि सत्ता कै संगीतमय कुर्सीका वरिपरि हराएको छ । यस्तोमा जनताले तिनको आशा अपेक्षा गर्नु निरर्थक हुन्छ । कष्ट सकिएको छैन, सङ्कट टरेको छैन । पश्चिम नेपालमा बाढी पहिरोले मच्चाएको वितण्डा प्रारम्भ मात्रै हुनसक्छ । किनकि मौसमविद्हरुले यो वर्ष छिटै मनसुन शुरु हुने प्रक्षेपण गरे जस्तै मनसुन शुरु हुनासाथ कालीगण्डकी, इन्द्रावती, मेलम्ची, महाकाली लगायतका नदीहरूले ठूलो क्षति गरिसकेका छन् । मौसम सक्रिय हुने समय बाँकी नै छ । सरकारले जोखिम न्यूनीकरण गर्ने तयारी गरेको देखिएको छैन । त्यसैले पनि आम जनतामा स्वयम्को जागरुकता अनिवार्य छ । कसैले भोकले मर्नु नपरोस्, कसैले महामारीजन्य कष्ट व्यहोर्न नपरोस् सजगता र उपाय खोज्न जरूरी छ । ढीलै भए पनि वडाध्यक्ष कार्कीको आत्मबोध सह्रानीय छ । यसले अरू प्रतिनिधिहरुको पनि बन्द चेतना प्रकाशित हुन सकोस् । जनता जनार्दन हुन् । उनीहरूको सेवा नै सर्वोत्तम सेवा हो भन्ने तत्वबोध होस् ।




























