करिब १० लाखको लत्ताकपडा बरामद

0
597

झापा,

पूर्वी नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब १० लाख मूल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका–१ स्थित बौद्धमोड नजिकैबाट ९ लाख ७० हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

मेचीनगरको तिरिङ र भृकुटी आसपासको सीमा नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको ७ पोका कपडा भ्यानचालकले भृकुटीबाट लोड गरेर इँटाभट्टाको बाटो हुँदै बिर्तामोडतर्फ लगिरहेका थिए।

त्यसै वेला प्रहरीले भ्यानलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा कपडा बरामद गरेको हो। बरामद कपडामा साडी, थान कपडा, गन्जी, कुर्ता लगायत रहेको थियो। पोकाहरूमा उषा, शर्मिला, शोभा नाम लेखिएको थियो।

उक्त सामान मेचीनगरका श्याम भन्नेले सेटिङ मिलाएर भित्र्याउन लगाएका थिए। बरामद गरिएको लत्ताकपडा बुधबार भद्रपुर भन्सार कार्यालय बुझाइसकेको डिएसपी पाठकले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here