झापा ।

भद्रपुर भन्सार कार्यालयले अधिग्रहण गर्ने जमिनको मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरेको छ ।
भद्रपुर भन्सारको विस्तारसँगै नयाँ भौतिक संरचना निर्माणका लागि भन्सारले पूर्वपट्टिको जमिन लिन लागेको हो । पीडित बनेका जग्गाधनीहरूको लामो संर्घष पश्चात् जिल्ला प्रशासन कार्यालय झापाले बुधवार मुआब्जा सम्बन्धी १५ दिने सार्वजनिक सूचना निकालेको छ ।
भद्रपुर–२ हाल वडा नम्बर ५मा पर्ने जमिन अधिग्रहण गरिने घर जग्गाहरूको मुआब्जा निर्धारण गर्न जग्गा प्राप्ति ऐन २०३४को दफा १३ बमोजिम गठित समितिको बैठकले मिति २०७९ मंसीर २३ गते मुआब्जा तथा क्षतिपूर्तिको रकम निर्धारण गरेको थियो ।
जस अनुसार जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ बमोजिम सरोकारवाला सबैको जानकारी लागि सूचना प्रकाशन गरिएको प्रशासनको सूचनामा उल्लेख छ । सूचनामा प्रकाशित नामावलीमा चित्त नबुझ्ने व्यक्तिले १५ दिनभित्र गृह मन्त्रालयमा उजुर गर्न सक्ने जनाइएको छ । सूचनामा १०९ वटा कित्ता रहेको जग्गाधनीका लागि जमिन र घर टहराको छुट्टाछुट्टै मूल्याङ्कन गरी रकम समेत तोकिएको छ ।
भद्रपुर–गलगलिया सीमा नाका जोड्ने मेची पुल सञ्चालनमा आए लगत्तै सरकारले २०७५ भदौ १ गतेदेखि स्तरोन्नति गर्दै भद्रपुर भन्सार कार्यालयलाई मूल भन्सारमा परिणत गरेको थियो । भन्सार विभागले २०७६ बैशाख १७ गते स्थानीयको नम्बरी जमिन अधिग्रहण गर्ने निर्णय गरेको र २०७७ साउन २७ गते सूचना प्रकाशन गरी जिल्ला मालपोत तथा भूमि सुधार कार्यालयमा अधिग्रहणमा परेका सबै जमिन रोक्का राखेको थियो ।
रोक्का राखेको जमिन भन्सारले लिन ढिलासुस्ती गरेपछि स्थानीय जग्गाधनीहरू पटक–पटक आन्दोलित बनेका थिए । उनीहरूले भन्सारमा तालाबन्दी गर्नुका साथै प्रशासन कार्यालय झापालाई समेत लिखित र मौखिक ध्यानाकर्षण गराएका थिए ।






























