स्थिरताका लागि गठबन्धन

0
108

मुलुकले तेस्रो उपराष्ट्रपतिका रुपमा रामसहायप्रसाद यादवलाई पाएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई झण्डै दोब्बर मतान्तरले पछि पार्दै यादव उपराष्ट्रपतिमा निर्वाचित भए । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिएपछि सत्ता गठबन्धनमा बढेको अविश्वासले नयाँ राजनीतिक समीकरण निर्माण हुँदा दोस्रो ठूलो दल एमाले सत्ताबाट मात्र बाहिरिएन राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा समेत पराजीत हुन पुग्यो । संघीय समीकरण बदलिए जस्तै अब निकट भविष्यमै प्रदेश समीकरण पनि बदलिने चर्चा राजनीतिक वृत्तमा बढ्न थालेको छ । प्रधानमन्त्री दाहाललाई दिएको समर्थन राष्ट्रिय प्रजातन्त्र पार्टीले फिर्ता लिएर सरकारबाट बाहिरिए लगत्तै राष्ट्रपति उम्मेदवारमा माओवादी केन्द्रले कांग्रेसलाई साथ दिने भएपछि एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

यही विषयले सत्ता समीकरण टुट्न जाँदा प्रधानमन्त्री दाहालले यही चैत ६ गते फेरि विश्वासको मत लिनुपर्ने परिस्थिति बनियो । सरकार बनेको तीन महिना नपुग्दै फेरि विश्वासको मत लिनुपर्ने बाध्यताले त्यसअघि सरकार पुनर्गठन हुने अवस्था छैन । त्यही कारण प्रधानमन्त्री दाहालले आउँदो चैत १० गते सरकारले पूर्णता पाउने अभिव्यक्ति दिएका छन् । मंसीर १० गते सम्पन्न निर्वाचनपछि पुस ११ गते दाहाल नेतृत्वमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी लगायतको समर्थनमा सरकार गठन भएको थियो । त्यही समीकरण राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा खण्डित भई नयाँ समीकरण बनिँदा एमालेले प्रदेश सरकारबाट समेत बाहिरिनुपर्ने अवस्था सृजना भएको हो ।

नेपाली कांग्रेसले विश्वासको मतपछि मात्र सरकारमा सहभागी हुने–नहुने विषयमा छलफल शुरु गर्ने जनाएको छ । यसअघि दाहाललाई विश्वासको मत नदिने नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले आफ्नो धारणा प्रष्ट गरेका छैनन् भने वर्तमान गठबन्धनले दाहाललाई विश्वासको मत दिने निश्चित जस्तै छ । यसै पनि कुनै एउटा दललाई पाँच वर्ष अविच्छिन्न सरकार सञ्चालन गर्ने जनादेश छैन । यस्तोमा गठबन्धनको विकल्प रहँदैन । त्यसैले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गठबन्धनलाई जोगाउँदै राजनीतिक स्थिरता कायम गर्न पहल गर्नु पर्दछ । देशको वर्तमान आवश्यकता पनि यही हो कि जसरी पनि गठबन्धनलाई टुट्न नदिई स्थिर र सुशासनको प्रत्याभूति गरियोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here