सन्तटेरेजाका गुरुमा रेणुका बिष्टले भन्नुभयो– ‘नानु नेपालको धुलाबारीबाट सुगन्ध पत्रिकाको लागि दार्जिलिङ्गको साहित्यलाई लिएर एउटा लेख लेख्न भनि मलाई दिइएको छ म अलिक व्यस्त छु, तिमी लेख ल तिमीले सक्छौं ?’ गुरुआमाले मलाई लेख्न सक्छौं, भनेर विश्वास गर्नुभयो । गुरुआमाको विश्वासलाई म कदापी तोड्न सक्दिनँ थिए । म खुशी थिए यो लेखका निम्ति । म धेरै गहिरिन जरुरी छ, यसको लागि मैले धेरै अध्ययन साथै बरिष्ठ व्यक्तिहरुसँग भेटघाट गर्नुपर्छ । उनीहरुलाई दार्जिलिङ्गको साहित्यका बिषयमा धेरै सोधखोज गर्नुपर्छ भन्ने मलाई लाग्यो ।
यहीक्रममा कवि साहित्यकार खरसाङका ऋृषि सरसँग भेट्ने सल्लाह गुरुआमाले नै दिनुभयो । ऋृषि सरकी श्रीमती कवि, सम्पादक अर्चना गुरुआमा रेणुका गुरुआमाको साथी हुनुहुँदोरहेछ । उहाँहरुलाई मैले भेटेपछि पत्ता लाग्यो सरलाई नै यो लेखको जिम्मा दिएको रहेछ, सरले खरसाङको साहित्यिक इतिहासलाई लिएर लेख्नु हँुदै रहेछ । उहाँ सँगसँगै वरिष्ठ नाटककार डा. रूद्र राज्य मास्के सरले यस लेखको निम्ति मलाई सहायता गर्नुभयो । सुगन्ध पत्रिका नव वर्षको २०७२ आगमनसँगै यसको लोकार्पण धुलाबारीमै भएको थियो । यसका प्रधान सम्पादक हुनुहुन्थ्यो चन्द्र भण्डारी सर । अभाग्यवंश यस लोकार्पण कार्यक्रममा बहिनीको विवाहको कारणले जान पाइनँ ।
त्यस कार्यक्रममा लेखकहरुलाई सम्मान अनि केही नगद पनि दिइएको थियो । अभाग्यवंश मेरो अनुपस्थितिले गर्दा यो पनि मेरो भाग्यमा परेन । जे होस मैले भारतीय नेपाली साहित्यको पृष्ठभूमिमा दार्जिलिङ्गको अवदान लेख लेख्ने अवसर पाउनु नै मेरो अहोभाग्य सम्झेको छु । ऋृषि सरले लिइरहने नाम चन्द्र भण्डारी सरको नाम सुनेको थिए । त्यसपछि दार्जिलिङ्गका धेरै वरिष्ठ व्यक्तिहरूको मुखारविन्दबाट सरको नाम सुन्दै आएको छु । उहाँ बहुमुखी प्रतिभाका धनी वरिष्ठ पत्रकार, कञ्चनजङ्गघा एफएमका प्रबन्ध निर्देशक एक प्रतिभाशाली तेजस्वी विद्यत स्रष्टा एक समर्पित भाषा साहित्य सेवक नेपाली गीत–संगीतप्रति गहिरो रूची अनि प्रेम राख्ने दार्जिलिङ्ग अनि नेपालको साहित्यलाई जोडी सेतुको काम गर्नुहुने वरिष्ठ साहित्य साधक हुनुहुन्छ ।
उहाँको बारेमा धेरै सुने पनि दर्शन मैले पाएको थिइनँ । धेरै इच्छा पालेकी थिए, उहाँ जस्ता खारिएका, माझिएका व्यक्तित्वलाई भेट्ने सायद समय नै आएको थिएन होला । गत वर्ष २०२२ को अगस्ट महिनामा विश्व नेपाली साहित्य महासंघ भारत शाखाले दुई दिने भव्य साहित्य कार्यक्रम आयोजना गरेको थियो । जसमा मेरो कथा संग्रह अगेनाको धुँवा सामुहिक रुपमा छन्द लोचन, अनि नवीन मुना दोहरी मुक्तक संग्रह बाहेक अन्य धेरै पुस्तकहरूको लोकार्पण भएको थियो । यस कार्यक्रममा दार्जिलिङ्ग वरिपरि, भारतका विभिन्न प्रान्त बाहेक नेपाल, जापानका विशिष्ट व्यक्तिहरुको उपस्थित रहेको थियो ।
यही भिडमा चन्द्र भण्डारी सर पनि आउनुभएको छ भनि सुनेको थिएँ । स्टालिन होटेलमा हाम्रो साथै बाहिरबाट आउनुभएका विशिष्ट व्यक्तिहरुको बस्ने व्यवस्था मिलाइएको थियो । २७ तारिक बेलुकी रात्रि भोजनको समयमा सरलाई भेट्ने सौभाग्य मिल्यो । नमस्कार सर भन्दै मैले मेरो परिचय दिएर पुस्तकको प्रसंग राख्दा सरले मलाई चिनिहाल्नु भयो । मैले उहाँसँग धेरै अघिदेखि भेट्न चाहेको इच्छा जाहेर गरेँ । सुनेको थिएँ उहाँ फर्साइलो, हसिलो, ज्ञानगुणले परिपूर्ण भएर पनि झुकेको व्यक्तित्व हुनुहुन्छ भनेर । साच्चै नै त्यस्तै पाएँ सरलाई । म सरसँग धेरै कुराकानी गर्न चाहन्थेँ । ढिलो भएको खण्डमा आज खाना नखादा पनि केही थिएन । एक दिन भोकै हँुदा केही फरक पर्दैन । तर, सरसँग कुराकानी गर्ने जुन इच्छा मनमा पालेकी थिएँ त्यो छुटेपछि भोलिको दिनमा म सरलाई भेट्न नेपाल जानुपर्ने हुन्छ । त्यो सपना मात्र हो, हतार–हतार खाना खाएर म सरले खाना खानु हँुदै गरेको टेबलमा गएर बसेँ । देवी नेपाल सर, बिशन कार्की सर पनि उहाँसँÞगै बसेर खाना खानु हुँदै रहेछ । सबै वरिष्ठ व्यक्तित्वसँग केही क्षण बसेर दुई शब्द बोल्न पाउनु मेरो अहोभाग्य हो, आजको दिन सार्थक भएको अनुभव भयो । उहाँहरुसँग फोन नम्बर साटासाट गरेँ, चन्द्र सर अनि नेपाल सरले नेपाल आउँदा उहाँहरूको वासगृहमा आउने निम्तो दिनुभयो । साथै बिशन सरले कोलकत्तामा केही काम परे सम्झिनु भनेर भन्नुभयो ।
समय बित्दै गयो, २०२२ कै घटस्थापनाको दिन मझेरी साहित्य प्रतिष्ठान चितवनबाट कथा विधामा सिर्जनशील नारी प्रतिभा सम्मानको निम्ति म छनौट भएँ । त्यसपश्चात नेपाल कार्यक्रममा जाने सौभाग्य मिल्यो । गजलकार, कवि, कथाकार दिदी जीविका अश्रु अनि म दुबै लाग्यौं नेपालतिर । दिदीको राम्रो परिचय छ सरसँग । हामी नेपाल आउने खबर सुनेर चन्द्र भण्डारी सरले फर्किदा बस्ने गरी आउने भन्नुभएकोले फर्किदा हामी सरको घर धुलाबारी गयौं । महालयको दिन थियो । सरको घरमा दशैंको रमझम शुरू भइसकेको थियो । हामीलाई देखेर सर अति नै खुशी हुनु भयो । घरमा गुरुआमा, छोरा, बुहारी अनि एक जना दिदी पनि हुनुहुदोरहेछ । गुरुआमा पनि इन्द्रणी साहित्य मञ्चसँग संलग्न हुनुहुदोरहेछ । यो संस्था वि.सं. २०७५ बसन्त पञ्चमीमा स्थापना भएको हो । यस साहित्य मञ्चका अध्यक्ष मीरा बराल, उपाध्यक्ष मुनामाया राना मगर, सचिव अमृता चौलागाई पाठक, कोषाध्यक्ष लीना भण्डारी, सदस्यहरु कविता शर्मा भण्डारी, चण्डिका बनियाँ, खिलु खनाल, सुशीला खतिवडा, अनिता वंशल, सुष्मा कार्की डोली हुनुहुदोरहेछ ।
यो संस्थाद्वारा हालसम्म विभिन्न स्थानमा पुगेर ५७औं पलेंटी कार्यक्रम सम्पन्न गरिसकेको छन् भने उहाँहरुको इन्द्रेणी मुखपत्र पनि छ । गुरुआमाले सबै इन्द्रेणी मञ्चका पद अधिकारी साथै सदस्यहरूलाई निम्ताएर उहाँकै वासस्थानमा साहित्यिक कार्यक्रम आयोजना गर्नुभयो । उहाँहरुले आ–आफ्नो रचना वाचन गर्नुभयो भने जीविका दिदीले गजल अनि मैलै छन्द कविता वाचन गरेँ । खुबै रमाइलो भयो । उहाँहरुले हामीलाई किताब दिनुभयो । साथै सरले सुगन्ध दुई तीन वटा अंकहरु दिनुभयो । एउटा अंकमा मेरो दार्जिलिङ्गलाई लिएर लेखेको लेख पनि छ । गुरुआमा अनि सरले हामीलाई दुर्गा भवानीको टिका लगाई प्रसाद दिनुभयो । मध्यान्हको खाना अनि अति नै मीठो सेलरोटी पनि हामीलाई दिनु हँुदै आज यतै बसेर भोलि जाने सबै परिवारले आग्रह गर्नुभयो । दशैंले छोपिसकेको थियो, घर पुग्न आवश्यक भएकोले सर अनि परिवारलाई फेरि नेपाल आउने अवसर पाए यही बस्ने बचन दिँदै हामी दुई बहिनी फर्कियौं ।
यो लेख लेखिञ्जेल नेपाल धुलाबारी जाने मौका पाएको छुइन । तर, बेला–बेलामा सर, गुरुआमासँग कुराकानी भइरहन्छ । सरलाई मैले भनेकी छु– तपाईको जति पनि कार्यक्रम हुन्छ मलाई वाट्सअपमा पठाइदिनुहोस् है । सरले पनि पठाइदिनुहुन्छ । हालैमा सरको युट्यूव च्यानल टिमाई सञ्चारमा कुनै पनि सीप र साधना भएका प्रतिभावान व्यक्ति–व्यक्तित्वहरु, देश वा देश बाहिर रही साधनारत् सीप र कलाका पुजारीहरू छोपिएका, मूलधारमा आउन नसकेका, विभेदमा परेर छेलिएका जुनसुकै जाति, भाषी र समुदायका नागरिकहरु, जुनसुकै उमेर समूहमा रहेकाहरु सबैका घर–घरमा पुगेर तिनका प्रतिभा टिमाई सञ्चार मार्फत खोजी–खोजी प्रस्तुत गर्नुहुन्छ । उहाँ जस्ता एक सफल स्रस्टा–द्रष्टा, दिग्गज, ज्ञानी, गुणी लटरम्म भएर झुकेका व्यक्तित्व सायद बिरलै भेटिन्छ होला । आगामी दिनहरुमा उहाँबाट प्रस्फुटित साहित्य, सङ्गीतका ज्ञानवद्र्धक रचना साथै सङ्गीतहरु रसास्वादन गर्नै मौका पाठकले पाउन् भन्ने लालसा राख्दै उहाँलाई शुभेच्छा अनि शुभकामना व्यक्त गर्दछु । साथै उहाँका परिवारमा सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्दछु ।
(शर्मा दार्जिलिङ्गमा बसेर पत्रकारितासँगै नेपाली भाषा साहित्य लेखनमा सक्रिय हुनुहुन्छ –स ।)