अर्जुनधारा।
झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको २९औं वार्षिक साधारण सभा तथा उपभोक्ता भेला सोमबार सम्पन्न भएको छ ।
समूहको कार्यालय प्राङ्गणमा समूहका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त भेलाको प्रमुख अतिथि अर्जुनधारा–३का वडाध्यक्ष सीताराम भट्टराईले उद्घाटन गरेका थिए ।
भेलामा समूहका अध्यक्ष श्रेष्ठले समूहको गत आर्थिक वर्ष ०८०/०८१को वार्षिक प्रगति प्रतिवेदन, आन्तरिक लेखा समितिका संयोजक कमलबहादुर बुढाथोकीले आन्तरिक लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष मनिला जवेगु लिम्बूले चालु आर्थिक वर्ष ०८१/०८२को बजेट, वार्षिक नीति तथा कार्यक्रम र सहसचिव सोमनाथ चापागाईंले वन पैदावर अनुगमन प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समूहले गत आर्थिक वर्षमा वन पैदावार बिक्री वितरणमा आंशिक सुधार गरि न्यायोचित वितरण प्रणाली अपनाएको, समूह अन्र्तगत रहेको कैदले पर्यापर्यटन क्षेत्रमा ‘रोज गार्डेन’ तथा संरक्षण कार्यलाई निरन्तरतासँगै बगैंचा निर्माण, ग्रीनरी सभाहल तथा फलफूल बगैंचा घेराबारा निर्माण, कार्यालय तथा घाटगद्धी परिसरमा छ वटा सीसी क्यामेरा जडान, विपन्न ३१ परिवारलाई न्यानो कम्बल तथा पाँच परिवारलाई खाट वितरण, समूह अन्र्तगत प्रत्येक क्षेत्रका एक विपन्न परिवारको घरको छानो सुधार कार्यक्रम कार्यान्वयन, मानव–वन्यजन्तु द्वन्द न्यूनिकरणका लागि फलफूलका बिरुवा रोपण अभियानको सुरुवात गरि पाँच हजार बिरुवा रोपिएको, बिर्तामोडस्थित स्पाइनेक्स सुपरस्पेस्यिालिटी अस्पताल र अर्जुनधारा–७स्थित शंकर अस्पतालसँग उपभोक्ताहरुको स्वास्थ्य उपचारमा क्रमश २५ प्रतिशत र २० प्रतिशत छुट गर्ने सम्झौतालगायतका कार्यहरु गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी गत आर्थिक वर्षमा एक करोड एक लाख १४ हजार एक सय २७ रुपैयाँ ३७ पैसा बराबरको आर्थिक कारोबार गरेको समूहले चालु आर्थिक वर्षका लागि अनुमानित दुई करोड ७८ लाख २७ हजार चार सय ४९ रुपैयँँ ६७ पैसा बराबरको बजेट वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
त्यस्तै भेलामा समूहका पूर्व सदस्यद्वय अर्जुन शाह र वसुदा घिमिरेलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । सोही भेलामा विपन्न उपभोक्ता गरिबी न्यूनिकरण कार्यक्रम अन्र्तगत ३१ परिवारलाई चुल्हासहित एलपी ग्यास वितरण, ३१ परिवारको स्वास्थ्य बीमा र पाँच परिवारलाई खाट वितरण गरिएको समूहका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
भेलामा अर्जुनधारा–४का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, अर्जुनधारा–३का निवर्तमान वडाध्यक्ष जीवकुमार भण्डारी, अर्जुनधारा नगर सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भानुभक्त श्रेष्ठ, समूहका पूर्व अध्यक्ष दिव्यप्रसाद कट्टेल, नेकपा एमाले वडा कमिटीका अध्यक्ष युवराज चापागाईं, नेपाली काँग्रेस वडा समितिका सभापति धुव्र खाती, नेकपा(माओवादी केन्द्र) वडा कमिटीका अध्यक्ष याम मगर, नेकपा(एकीकृत समाजवादी) वडा कमिटीकी उपाध्यक्ष सीता भट्टराईलगायतले मन्तव्य राखेको बताइएको छ ।
समूहका उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनाले स्वागत गरेको उक्त भेलाको सञ्चालन सचिव उर्मिला अधिकारी कटुवालले गरेकी थिइन् ।