गोछे र गीता पुरस्कृत

0
1218

बिर्तामोड। 

नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित मोतीराम पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार गोविन्दचन्द छेत्री (गोछे)लाई प्रदान गरिएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘केटो’ पत्रकारिता पुरस्कार पत्रकार गीता ढुंगानालाई प्रदान गरिएको छ । झापाको बिर्तामोडमा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनीहरुलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरीले पुरस्कृत व्यक्तित्व क्षेत्री र ढुंगानाको जीवनीसहित स्वागत गरेका थिए ।

झापाका जेठो पत्रकारका रुपमा परिचित ७७ वर्षीय छेत्री ‘दि हिमालयन टाइम्स’ दैनिक पत्रिकाको झापा संवाददाता, नयाँ सन्दर्भ साप्ताहिकका प्रकाशक तथा सम्पादकको रुपमा काम गरिरहेका छन् भने उनी पूर्वाञ्चल दैनिकका संस्थापक सम्पादक समेत हुन् । त्यस्तै ढुंगाना हिमशिखर टेलिभिजनमा आवद्ध छिन् ।

कार्यक्रमका प्रमुख अतिथि आचार्य र विशेष अतिथि गाउँले लगायतले क्षेत्रीलाई मोतीराम पत्रकारिता पुरस्कारको राशि ५१ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरेका थिए भने ढुंगानालाई ‘केटो’ पत्रकारिता पुरस्कारको राशि १५ हजारसहित सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले, महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, प्रदेश अध्यक्ष बिक्रम लुइँटेल, पुरस्कृत व्यक्तित्व क्षेत्रीलगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा झापा शाखाका ३८ जना नयाँ सदस्यहरुलाई स्वागत गरिएको थियो । यसअघि उनीहरुलाई महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेले प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षण कार्यक्रम प्रेस काउन्सिल नेपालको आयोजना तथा झापा शाखाको संयोजनमा भएको थियो । कार्यक्रमको सञ्चालन महासंघ झापा शाखाका सचिव सन्तोष आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here