बिर्तामोड ।

बैदेशिक रोजगार विभागको टोलीले झापामा सञ्चालित मेनपावरको अनुगमनलाई तीब्र बनाएको छ ।
अनुगमनका क्रममा केही मेनपावरमा सिल गरिएको छ भने केहीको सिल खोल्दै थप अनुसन्धान अघि बढाइएको छ । बिर्तामोडस्थित शनिश्चरे रोडमा रहेको एक मेनपावरमा सिल गरिएको छ भने मेमोसा ओभरसिजमा लगाइएको सिल विभागको टोलीले खोलेको छ । विभागका शाखा अधिकृत मातृका सापकोटासहितको टोलीले बुधवार बिर्तामोडका मेनपावरको अनुगमन गर्दै नियम विपरीत सञ्चालनमा रहेको मेनपावरमा तालाबन्दी गरेको हो ।
विभागको टोलीले अनुगमन शुरु गरे लगत्तै अधिकांश मेनपावरका कार्यालय बन्द भएका थिए । एउटा मेनपावर सिल गरे लगत्तै अधिकांशले शाखा कार्यालयमा बन्द गरेर भागेका थिए । झापामा बैदेशिक रोजगार विभागको अभिलेख अनुसार द रिभर ओभरसिज, जुनियर ओभरसिज, फजल इन्टरनेशनल प्रालि, युमर ओभरसिज, पुकार इन्टरनेशनल ओभरसिजको शाखा कार्यालय रहेको छ ।
त्यस्तै शिवाकोटी मेनपावर, शान इन्टरनेशनल ग्रुप प्रालि, मेमोसा, जानकी ओभरसिज प्रालि, अञ्जलि ओभरसिज प्रालि, ट्रष्ट नेपाल ओभरसिज प्रालिका शाखा कार्यालय सञ्चालनमा छन् । यी सबै मेनपावर बिर्तामोड केन्द्रित छन् भने राज ओभरसिज प्रालि दमक–१०मा सञ्चालित छ ।
त्यस्तै बिर्तामोडमा जव प्लेसमेन्ट सर्भिस प्रालि र डी प्रोर्टन मेनपावर प्रालिको शाखा बिर्तामोडमा रहेको विभागको वेवसाइटमा उल्लेख छ । अधिकांश मेनपावर दर्ता बिना नै सञ्चालनमा रहेकाले विभागको टोलीले छापा मारेसँगै भागदौड चलेको हो ।































