पोखरेललाई षडानन्द क्षेत्रीय पुरस्कार

१२ मंसिर २०७८, आईतवार मा प्रकाशित

बिर्तामोड ।

झापा सुरुङ्गा निवासी साहित्यकार एवम् शिक्षासेवी कोमलप्रसाद पोखरेल षडानन्द क्षेत्रीय पुरस्कारबाट सम्मानित हुने भएका छन् । आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानको १००औं बैठकले पोखरेलसहित षडानन्द राष्ट्रिय पुरस्कारसहित षडानन्द छात्रबृत्तिको समेत घोषणा गरेको छ ।

प्रतिष्ठानको शुक्रवार बसेको बैठकले झापामा बसेर साहित्य र शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै निबन्धकार, समालोचक तथा कवि पोखरेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि रु. ३५ हजार रहेको छ । पोखरेलका निबन्ध, नियात्रा, महाकाव्य, कथा संग्रह, कविता संग्रह, कोमल गीता (भावानुवाद) गरी सात वटा कृति प्रकाशित छन् । यो पुरस्कार प्राप्त गर्ने पोखरेल सातौं व्यक्तित्व हुन् । यसअघि खुदुनावारी झापाका केदारनाथ खतिवडा, विराटनगरका दधिराज सुवेदी, सुनसरीका मान बज्राचार्य, हरिप्रसाद काफ्ले (मरणोपरान्त), प्रा.डा. दयाराम श्रेष्ठ सम्भव र विराटनगरका सोमराज अभय षडानन्द क्षेत्रीय पुरस्कारबाट सम्मानित भएका थिए ।

भोजपुरको दिंग्लामा जन्मिएर नेपालको शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणमा अतुलनीय योगदान पु¥याउने आबाल ब्रम्हचारी षडानन्द अधिकारीको स्मृतिमा स्थापित प्रतिष्ठानले षडानन्दको योगदानका क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रति बर्ष रु. एक लाखसहितको सम्मान प्रदान गर्दै आएको छ । यस बर्ष यो पुरस्कार गलेश्वर आश्रम, देवघाट तनहुँलाई प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ ।

उदारमना दाताहरुको सहयोगमा स्थापित यो पुरस्कार यसपटक संस्थागत रुपमा प्रदान गर्न लागिएको प्रतिष्ठानका सचिव प्रा. लालानाथ सुवेदीले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रतिष्ठानले यस बर्षको षडानन्द छात्रबृत्ति दिंगला भोजपुरका छात्र प्रशिक गौतम र मिलाप राईलाई जनही पाँच हजार र दिंगलाकै संस्कृत पढ्ने विद्यार्थीहरुलाई जनही दुई हजार प्रदान गर्ने बताइएको छ । पुरस्कार यही मंसीर २२ गते विवाह पञ्चमीका दिन प्रदान गरिने बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here