सुरुङ्गा ।

कनकाई–३ नयाँबस्तीस्थित ग्रामीण विकास सेवा समितिको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष तेजबहादुर प्रधानको सभापतित्व र कनकाई वार्ड नं. ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थालाई विशेष सहयोग पु¥याउने संस्थापक अध्यक्ष दलमान राई, पूर्व अध्यक्षहरू नबलकिशोर दत्त, डिल्लीनारायण प्रधान, रमेश हुमागाईं, मनोज दाहाल र बिनोद भण्डारीलाई सम्मान गरिएको थियो ।
सो अवसरमा सोही टोल निवासी त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर तह (एमबीएस) मा नेपाल प्रथम भई स्वर्णपदक प्राप्त युनिक बहुमुखी क्याम्पस सुरुङ्गाका सहायक प्राध्यापक रामप्रसाद खरेललाई पनि सम्मान गरिएको थियो ।
त्यसै गरी, सो कार्यक्रममा २४ जना ज्येष्ठ जननीलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष प्रधानद्वारा प्रस्तुत आ.व. २०७७/०७८ को समीक्षा र आ.व. २०७८/०७९ को कार्यक्रम र कार्ययोजना समेटिएको वार्षिक प्रतिवेदन र लेखा संयोजक रमेश हुमागाईंद्वारा प्रस्तुत आन्तरिक लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि चिमरिया, सञ्चारकर्मी तीर्थराज खरेल, रेडक्रसकर्मी कमलप्रसाद कट्टेल, जनप्रतिनिधिहरू नबलकिशोर दत्त र युवराज चम्लागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा कलाकार तथा साहित्यकारहरूले गीत, कविता तथा नृत्य प्रस्तुत गरेका थिए ।
संस्थाका उपाध्यक्ष संगीता सेनेहाङ लिम्बूले औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव सागर लिम्बूले सञ्चालन गरेका थिए ।































