भद्रपुर, झापाका चिया उद्योगी चण्डी पराजुलीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९’ प्रदान गरिएको छ ।
नेपाल सरकारको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड केन्द्रीय कार्यालय, कीर्तिपुर काठमाडौँले आफ्नो स्थापना दिवसको अवसरमा भद्रपुर–८ निवासी पराजुलीलाई बिहीबार एक समारोहका बीच लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले पराजुलीलाई सो अवार्ड प्रदान गरेका हुन् । नेपालमा चिया उद्यमशीलताको जग बसाल्न रोपण, प्रशोधन, बजारीकरण एवम् निर्यात व्यापार जस्ता सर्वपक्षीय व्यावसायिक विधाहरूमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई २६औं राष्ट्रिय चिया दिवसको अवसरमा अवार्ड प्रदान गरिएको जनाइएको छ ।
वि.सं. २००९ साल बैशाख ५ गते भोजपुर जिल्ला साबिक आङ्तेप गाविसमा पिता स्व. नरनाथ पराजुली तथा माता स्व. सरस्वती पराजुलीको ज्येष्ठ सन्तानको रुपमा जन्मिएका पराजुलीले आफ्नो जीवनको ऊर्जाशील युवा अवस्थाबाटै नेपालको चिया क्षेत्रको प्रचुर सम्भावनाको बृहत्तर क्षितिजभित्र लगन, इमान्दारिता र निष्ठापूर्वक ३४ वर्षभन्दा बढी चिया क्षेत्रमा क्रियाशील रहेका छन् ।
२०४३ सालदेखि चिया क्षेत्रमा लागेका पराजुलीले शुरुमा हल्दिबारी टी इण्डष्ट्रिज स्थापना गरे । त्यसपछि डाँफे टी इण्डष्ट्रिज हुँदै पराजुली टी इण्डष्ट्रिज खोले । हाल उनले झापा र इलाममा सीटीसी, अर्थोडक्स र ग्रीन टी गरी १० वटा उद्योग सञ्चालन गरिरहेका छन् । नेपाल चिया उत्पादक संघका पूर्वअध्यक्ष समेत रहेका उनी हाल संघका सल्लाहकार रहेका छन् ।































