सुरुङ्गा, कात्तिक १ । सुरुंगामा जारी सुरुंगा गोल्ड कपको दोस्रो चरणको पहिलो सेमिफाइनल खेलबाट उर्लाबारी स्पोर्टिङ क्लबलाई आश्चर्यजनक रुपमा पराजित गर्दै भारतको पाहुना टोली कञ्चनजंघा फुटबल क्लब सिलगढी फाइनलमा प्रवेश गरेको छ ।
खेलको पहिलो हाफको ३० औं र ३२ औं मिनेटमा कञ्चनजंघा स्पोर्टिङ क्लब, सिलगढीका जर्सी नम्बर १२ का खेलाडी निवास राना र जर्सी नम्बर १३ का खेलाडी विदुर क्षेत्रीले गोल गर्दै टिमलाई आश्चर्यजनक ढंगले २—० को अग्रता दिलाए । सोही अग्रता कायम राख्दै कञ्चनजंघा फुटबल क्लबले आफ्नो फाइनल यात्रा तय गरेको हो । दोस्रो हाफको अन्तिम १० मिनेट बाँकी रहदाँ कञ्चनजंघाका गोल किप्पर राजु सिंहले विपक्षी खेलाडीलाई फल गरेपछि खेल रेफ्री प्रकाश काफ्लेले सोझै गोल किप्परलाई रातो कार्ड दिएका थिए । उक्त १० मिनेटको समय १० खेलाडीमा सीमित रहेको कञ्चनजंघा फुटबल क्लबबाट फाइदा उठाउन नसक्दा उर्लाबारी स्पोर्टिङ क्लब खेलबाट बाहिरिएको छ भने कञ्चनजंघा स्पोर्टिङ क्लबले कम्तीमा ५१ हजार राशीको पुरस्कार सुरक्षित गरेको छ ।
आइतबार हुने अन्तिम सेमिफाइनल खेल एन्फा कप विजेता झापा—११ र विआरसी फेन्स क्लब, भुटान बीच हुने खेल संयोजक देवेन्द्र रिसालले बताए । स्थानीय कनकाई उच्च माविको खेल मैदानमा जारी खेलको फाइनल कात्तिक ४ गते हुने सुरुंगा जेसीजका कार्यकारिणी उपाध्यक्ष भीम भट्टराइले बताए ।