भोलि सुरुङ्गा गोल्डकपको फाइनल

0
655

[तीर्थराज खरेल ]

सुरुङ्गा, कात्तिक ३ । सुरुङ्गा जेसीजको आयोजनामा भइरहेको सुरुङ्गा गोल्डकप फुटबलको प्रतियोगिताको आज फाइनल खेल हुने भएको छ । फाइनल खेल एन्फा कप विजेता झापा–११ र कञ्चनजङ्घा स्पोर्टिङ्ग क्लब सिलगुडी वीच हुँदैछ । आजको खेलमा ३० हजार बढी दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ ।
स्थानीय कनकाई उच्च मा.वि.को खेलमैदानमा भइरहेको सो फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा फुटबल टिमको सहभागिता रहेको थियो ।

 

10702179_1526405760935586_6247576326084398530_n

स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेल भन्ने नारालाई आत्मसात गर्दै युवाहरुको सृजनात्मकतालाई बढावा दिन र बन्द निषेधित क्षेत्रको रुपमा रहेको सुरुङ्गाको गरिमालाई अझ माथि उठाउन सुरुङ्गा गोल्ड कपको आयोजना गरिएको  र यो खेल सफलतापूर्वक सम्पन्न हुने अन्तिम स्थितिमा पुगेको सुरुङ्गा गोल्ड कप–२०७१ का अनुगमन समितिका संयोजक एवम् सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले जानकारी दिए । प्रतियोगितामा आयोजक सुरुङ्गा, झापा–११, उर्लाबारी फुटबल क्लब मोरङ्ग, कञ्चनजङ्घा स्पोर्टिङ्ग क्लब सिलगुडी, चर्च बोइज काठमाण्डौं, दुहबी फुटबल क्लब, धरान फुटबल एकाडेमी सुनसरी र बीआरसी फ्यान्स क्लब भुटानले भाग लिएका थिए ।
प्रतिष्पर्धामा विजेता टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र र उपविजेता टिमलाई ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने सुरुङ्गा जेसिजका पूर्व अध्यक्ष एवम् आर्थिक समितिका संयोजक कुमारमणि पोखरेलले बताए । प्रतियोगितामा कनकाई नगरपालिका–१ निवासी र हाल गैर आवासीय नेपाली संघ (एनआरएन), अष्ट्रेलियाका प्रवक्ता युवा समाजसेवी दिनेशकुमार पोखरेलले पहिलो पुरस्कारको घोषणा गरेका छन् भने स्काईवे ओभरसिज काठमाण्डौंका निर्देशक भुपेन्द्र कडरिया र बिर्तामोड शाखा सञ्चालक राजन सिटौलाले  दोस्रो पुरस्कारको प्रायोजन गरेको सुरुङ्गा जेसिजका अध्यक्ष शिवकुमार कडेंलले जानकारी दिए । सुरुङ्गा जेसिजका खेल संयोजक देवेन्द्र रिसालले दिएको जानकारी अनुसार उक्त प्रतियोगिता सञ्चालन गर्न १४ लाख ७२ हजार २ सय २२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सुरुङ्गा गोल्डकपको दोस्रो संस्करण सभ्य, भव्य र नमुनायोग्य बनाउन सुरुङ्गा जेसीजले प्रहरी प्रशासनसँग तालमेल गरेको र सुरुङ्गास्थित विभिन्न युवा क्लबहरुसँग समन्वय गरी स्वयम्सेवक परिचालन गरिएको सुरुङ्गा जेसीजका महासचिव बिनोद उप्रेतीले जानकारी दिए । असोज २८ गते भएको खेलको उद्घाटन पूर्वाञ्चल क्षेत्रीय प्रशासक अन्नपुर्ण दासले गरेका थिए भने समापन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्य रहने बताइएको छ । समापन कार्यक्रममा झापा क्षेत्र नं. ४ का संविधानसभा सदस्य प्रेमबहादुर गिरी, पूर्वाञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल, नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी विष्णु बराल, मेची अञ्चल प्रहरी प्रमुख्र वरिष्ठ प्रहरी उपरीक्षक पुष्कलराज रेग्मी, नम्बर २१ बाहिनी अड्डा तोपगाछीका बाहिनीपति सहायक रथी रविन्द्रदास श्रेष्ठ, सहायक बाहिनीपति महासेनानी दिपक घले, कालीबहादुर गण चारआलीका प्रमुख सेनानी पूर्ण खत्री, जिल्ला फुटबल संघ झापा अध्यक्ष जलकुमार गुरुङ्ग लगायतको विशेष आतिथ्य रहनेछ । फाइनल खेलको कार्यक्रममा नेवाः पूचः सुरुङ्गाको लाखे नाच, सन्थाल नृत्य र पञ्चैबाजा लगायतका सांस्कृतिक प्रस्तुति पनि रहने आयोजक समितिले जनाएको छ । गत साल विजेता टिमलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र र उपविजेता टिमलाई ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो भने यस पटक विजेताको पुरस्कार रकम बढाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here