समन्वयात्मक पहलको खाँचो

0
307


मानव बेचबिखन सभ्य समाजको कलंक हो । यसै वास्तविकतालाई आत्मसात गरी संयुक्त राष्ट्रसंघको आह्वान अनुसार मानव बेचबिखनविरुद्ध दिवस मनाउने गरिएको छ । यो दिवसको महत्व उजागर गर्दैै यसविरुद्ध सचेतना फैलाउन दिवस नै मनाउन थालिएको हो । संसारमा फस्टाउँदो गतिमा रहेको प्रमुख तीन वटा अवैध तथा संगठित अपराधहरु हातहतियार, मानव बेचबिखन र लागूऔषधको कारोबार हुन् । ती मध्ये मानव बेचबिखनलाई दोस्रो ठूलो अपराधको रुपमा हेरिएको छ । विश्वकै लागि जघन्य अपराध मानिएको बेचबिखन नियन्त्रण गर्न ठूला राष्ट्रहरु पनि असफल भइसकेका छन् । मानिसले नै मानिसलाई बेच्नु अपराधभन्दा पनि आधुनिक र सभ्य भनिने मानिसका लागि लज्जाको विषय हो । यो यस्तो अपराध हो जसले बालबालिका, महिला र पुरुषलाई गलत कर्ममा बलपूर्वक लगाउँछ ।
दलालको प्रयोग गरी हुने मानव बेचबिखनको अपराधमा अनुचित श्रम गर्न र यौनशोषण गर्न बाध्य पारिन्छ । पीडितको इच्छा विपरीत धम्की दिएर, डर–त्रास देखाएर झुक्याएर गरिने कुनै पनि शोषण, मानव अङ्ग झिक्ने, छाला झिक्ने, वेश्यावृत्ति वा अन्य कुनै यौन शोषणमा लगाउने कार्य अपराध हो । यस्तो अमानवीय कार्यको संगठित जालो तोड्नु आजको पहिलो आवश्यकता हो । यसका लागि सर्वप्रथम सचेतना प्रवाह गर्नुपर्छ । यस्तो अभियानमा सरकार, गैरसरकारी संस्था, स्थानीय सरकार र सरोकारवाला सबैको समन्वयात्मक भूमिका देखिनु पर्दछ । अवैध र अपराधमा संलग्न जो–कसैलाई कानूनको दायरामा ल्याएर दण्डित गरिनुपर्दछ । त्यसैगरी विद्यालयीय शिक्षाको पाठ्यपुस्तकमै समावेश गरेर मानव बेचबिखन सामाजिक अपराध हो र सबैको प्रयासले मात्र यसको अन्त्य गर्न सकिन्छ भन्ने चेतना प्रवाह गर्नुपर्छ ।
यसैक्रममा झापाको काँकरभिट्टामा आयोजित मानव बेचबिखनविरुद्धको अभियान अन्तर्गत अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले डिजिटल डिस्प्ले बोर्डको उद्घाटन गर्दै यो अपराधका कारण विश्वमा चार करोडभन्दा बढी मानिस पीडित रहेको जानकारी दिए । पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकरभिट्टा यस अर्थमा पनि संवेदनतशील छ कि यहाँबाट भारत प्रवेश गर्ने र नेपाल आउने मुख्य नाका हो । माइती नेपाल तथा प्रहरीको निगरानीकाबीच पनि त्यही नाकामा दिनहुँजसो मानव बेचबिखन तथा लागूऔषधिको ओसारपसारमा संलग्न व्यक्ति पक्राउ परिरहन्छन् । अनि पनि निर्मूल हुन नसकेको अवरोधको समूल अन्त्य गर्न बालबालिकादेखि अभिभावकहरु सचेत र जागरुक हुनुपर्छ । अनि मात्र यो र यस्ता अपराधबाट समाजलाई मुक्त राख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here