खाना पकाउने ग्यासको अभाव

२३ कार्तिक २०७१, आईतवार मा प्रकाशित

पूर्वाञ्चलमा अहिले खाना पकाउने ग्यासको अभाव भएको चर्चा छ । यसले गर्दा गृहिणीहरु चिन्तित हुनु त स्वभाविकै हो, सरकारी अकर्मण्यता प्रति पनि जनचासो बढ्नु स्वभाविक छ । आयल निगमले पर्याप्त खाना पकाउने ग्यास दिएको छैन– भन्छन् ग्यास कम्पनीहरु । त्यस्तै, भएका ग्यास पनि उपभोक्ताकोमा नपुगेर डिलरहरुले बदमासी गर्दैछन् भन्ने आरोप लाग्न थालेको छ । खाना पकाउन बैकल्पिक इन्धनका रुपमा अहिले सर्वत्र चलनचल्तीमा आएको ग्यास एक्कासी गायब हुनुमा के रहस्य छ त ? भन्न पनि थालिएको छ ।
निगम भन्छ– भारतीय क्षेत्रबाट आउनु पर्ने ग्यास नेपालमा कम आयात हुनाले पर्याप्त दिन नसकेको बताउँछ आयल निगम । पर्याप्त ग्यास नभएकैले सिलिण्डरमा भरेर दिन नसकेको बताउँछन्– ग्यास उत्पादकहरु पनि । निगम र फैक्टरीले सप्लाई नगरेरै माँग अनुसारको आपूर्ति गराउन नसकेको भनाई राख्दछन् डिलरहरु । तर उपभोक्ता चिन्तित छन् । भएका ग्यास सिलिण्डर लुकाएर महँगो मूल्यमा बेच्न खोज्दैछन् भन्ने आरोप लगाउँछन् उपभोक्ताहरु चाँहि । यसरी त्रिपक्षीय द्वन्द्व चर्किन थालेको सुनिन्छ यत्रतत्र । केही दिन अगाडि निगम, उद्योगी र व्यापारीहरुबीच भएको संयुक्त बैठकमा पनि यस्तै विवाद चर्किएको कुरो सार्वजनिक भएको थियो । त्यसैले रनभूल्लमा परेका छन् उपभोक्ताहरु ।
‘नेपालको धन हरियो बन’– भनिन्थ्यो । हरियो वन विनासकै संघारमा छ । जङ्गल मासिइसकेका छन् । रहे बचेका वन पनि मासिने क्रममा छन् । सरकारले वन जोगाउन प्रत्येक वर्ष नयाँ–नयाँ उपाय लागु गर्छ । उपभोक्ता समितिहरु पनि बनाइएको छ । तर नजिक जङ्गल नभएको हुँदा त्यहाँ पसेर काम नलाग्ने रुखका दाउरा चिरेर ल्याउने जनशक्ति त छैनन् नै, भएका पनि दाउराका निहँुमा जङ्गल पस्नेले मनपरी गर्न थाल्छन् । त्यसैले जथाभावी जङ्गल प्रवेशमा रोक लगाइएको छ । हाम्रो बानी पनि खराब छ– औला दिंदा ढुँडुलो निल्ने खालको ।
खाना पकाउन दाउराको विकल्पका रुपमा ग्यास सिलिण्डरको प्रयोग हुन थालेको हो । ग्यास अहिले अत्यावश्यक आवश्यकताको रुपमा घर–घर, शहर बजार मात्र होइन, पहाडका कुना कन्दरातिर पनि प्रयोग हुन थालेकैले यसको माँग दिन प्रतिदिन बढिरहेको हो । चाड बाड भर्खरै सकियो । मंसिरदेखि पूजा आजा, पुराण, विवाहको मूहुर्त प्रारम्भ हुन्छ । यस्तो बेला त झनै ग्यासको माँग बढ्छ । त्यसैले समयमा नै विचार पु¥याइएन भने समस्याले झनै विकराल रुप लिने संभावना छ ।
स्वदेशमा नपाइने, छिमेकीसँग किनेर ल्याउनु पर्ने अत्यावश्यक आवश्यकताको रुपमा रहेको ग्यास जस्तो महत्वपूर्ण वस्तु पनि बजारबाट गायब हुनु दुःखद कुरो हो । यसको बढ्दो माँगलाई ध्यानमा राखेर किन्ने ठाउँमा पनि पहिल्यै आफ्नो देशको आवश्यकता अनुसार व्यवस्था गर्नु पर्दछ जिम्मेवार सरकारी निकायले । डिलरहरुले पनि आफ्ना गाउँ–ठाउँको आवश्यकता अनुसार अग्रिम बुकिङ्ग गराइराख्नु पर्दछ । एकैचोटी सकिनु र सकिनासाथ हाहाकार मच्चाउनु नेपालीको नियमित स्वभाव हो । कमसेकम आफ्नो पनि व्यवहार सच्याउँनु पर्दछ । सर्व साधारण उपभोक्ताहरुलाई कोको होलो मच्चाउँने अवस्था आउन दिनु हुँदैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here