कृति समीक्षा ‘घरदलान साहित्य’ बुद्धशान्ति

0
276

घरदलान साहित्य एक मौलिक कार्यक्रम तथा अभियान हो । नाम अनुसार नै घरदलान मै साहित्य बाचन गरिन्छन् । अभियानमा आबद्ध तथा इच्छुक (आयोजक)को घरदलान, सिकुवा, बैठक कक्ष, बरण्डा, छत या आगनमा भेला भई पालैपालो साहित्य बाचिन्छन् । कुनै वाद, विचारधारा र राजनीतिक अभिप्रेरणाभन्दा टाढा रहेर केवल नेपाली भाषा साहित्य, कला, संगीत तथा संस्कृतिको उन्नयनका निमित अभियान सञ्चालित छ ।

हरेक महिनाको अन्तिम शनिबारका दिन ठ्याक्कै ११ बजेबाट कार्यक्रम शुरु हुन्छ । कार्यक्रममा घरदलान साहित्य अभियानका सदस्य स्रष्टाहरु, आमन्त्रित अतिथि साहित्यकार तथा कलाकारहरुले आ–आफ्ना रचना बाचन तथा प्रस्तुति गर्दछन् । कार्यक्रममा केवल कविता र गायन मात्र प्रस्तुत गर्न पाइन्छ । तर, अतिथि गणले कार्यक्रमको सुधारका बारेमा पनि सल्लाह सुझाव दिने गरेका पाइन्छन् । अटुट रुपमा सञ्चालित यस अभियानलाई पनि कोरोना कालले असर पारिदियो नै । तापनि अभियान पाँच दर्जन शृंखला उन्मुख रहेको छ । जसले मौलिक अभियानको पहिचान स्थापित गर्न सफल भएको छ मात्र होइन यस अभियानले समग्र बुद्धशान्ति गाउँपालिकालाई नै देशभर मात्र होइन विश्वभरका नेपाली समाजबीच परिचित गराउन पनि सफल भएको छ ।

अभियानले आफ्नै सदस्य कविहरुबीचबाट अभियानका शृंखलाहरुमा निरन्तर कविता बाचन गर्नेहरुमध्येबाट वर्षमा एकजना वर्ष कवि छनौट गर्ने परम्परा बसाएको छ । र, वार्षिक कार्यक्रममा वर्ष कवि घोषणा गरी पुरस्कृत र सम्मान गर्ने गरिन्छ । यो आफैमा एउटा ऊर्जा थप्ने र नेपाली भाषा साहित्यका स्थानीय स्रष्टा तथा प्रतिभाहरुलाई प्रोत्साहन मात्र होइन संरक्षण गर्ने अभियानको रुपमा लिन सकिन्छ । धनबहादुर श्रेष्ठ, प्रकाशचन्द्र न्यौपाने र हेमन्ता भण्डारी घरदलान साहित्यका वर्ष कवि घोषित भइसकेका छन् ।

यस मौलिक अभियानको परिकल्पना शिक्षासेवी गणेश निरौला, बेनुप्रसाद पनेरु र नाटककार टंक काफ्ले विकल्पद्वारा भएको हो । जीवनको लामो समयसम्म शिक्षण, प्राध्यापन र भाषा, साहित्य कला तथा नाटक विधामा योगदान गरी खारिएर विकास भएका प्रतिहरुद्वारा सञ्चालित घरदलान साहित्य अभियान बुद्धशान्ति गाउँपालिका स्तरमा लोकप्रिय रही आएको छ ।

अभियानले अग्रज प्रतिभा र नव प्रतिभाहरुलाई साथसाथै जमघट गराउँदै रचना, कृति आदि बाचन गर्ने अवसर जुटाइरहेको छ । जसलाई एक उत्सवकै रुपमा लिने गरिएको पाइन्छ र घरदलान साहित्य कार्यक्रमको दिन कहिले आउँछ भनेर सदस्यहरु प्रतिक्षा गर्ने गर्दछन् । वि.सं. २०७४ मंसीरबाट शुरु भएको यस अभियानले विद्यार्थीहरुलाई पनि अभियानमा सरिक गराउँदै उनीहरुमा प्रतिभा विकास, भाषा तथा साहित्य र देशप्रेमको भावना उत्पे्रेरित गर्ने समेत उद्देश्य लिएको छ । त्यसैले हरेक कार्यक्रममा विद्यार्थी प्रतिभाहरुलाई सहभागी हुनका लागि प्रेरित गरिन्छ ।
यस अभियानले कार्यक्रममा बाचिएका कविता मध्येबाट छानिएका कविताका श्रृंखला अर्थात् पुस्तक छाप्ने पनि गर्दछ । जसले गर्दा रचना, कृति तथा प्रतिभा विकास तथा संरक्षणमा योगदान पुग्दछ । अहिलेसम्म दुई कृति प्रकाशन भइसकेका छन् । यस छोटो लेखमा पछिल्लो पल्ट प्रकाशन भएको ‘घरदलान साहित्य पुस्तक’बारे चर्चा गर्दछु । यो पुस्तक यस पल्टको वार्षिक जमघटमा विमोचन गरिएको थियो ।

जय भण्डारी, टंक विकल्प, वेनुप्रसाद पनेरु, धनबहादुर श्रेष्ठ र हेमन्ता भण्डारी सम्पादक मण्डल तथा गणेश निरौला, शिवकुमार पौडेल, प्रकाशचन्द्र न्यौपाने, पुष्प काफ्ले, केशव आचार्य र शान्ता उप्रेती सल्लाहकार रहेका कविता कृतिमा शान्ता श्रेष्ठद्वारा प्रकाशनका लागि शुभकामना व्यक्त गरिएका छन् । सम्पादकीयमा लेखिएको छ, प्रत्येक महिनाका अन्तिम शनिबारहरु बुद्धशान्तिभित्रका सर्जकमध्ये एक जनाको आयोजनामा अन्य सर्जकहरु उपस्थित भइ कविता गोष्ठीको आयोजना गरि साहित्यिक वातावरण तय गरियो, जुन कार्यक्रम अन्तर्गत कविताको माध्यमबाट चेतना फैलाउने उद्देश्य रहेको थियो ।

कार्यक्रममा उपस्थित मध्ये ज्येष्ठ व्यक्तित्वलाई कार्यक्रमको सभापति राख्नु, सानो उमेरबाट बढ्दो क्रममा रचना बाचनको पालो दिनु, प्रत्येक कार्यक्रममा नयाँ कविता रचना गरेर ल्याउनु र बाचन गर्नु, सम्बन्धित घरवालाले कार्यक्रमको उद्घोषण गर्नु र सोही घरबाट आमन्त्रित तथा आगन्तुक महानुभावहरुलाई स्वागत गर्नु जस्ता विशेषताहरु बोकेको घरदलान साहित्यको कुनै औपचारिक समिति छैन ।

यस कार्यक्रमको मुख्य उद्देश्य नयाँ पुस्तालाई साहित्य, संगीत र कला तथा हाम्रा संस्कार संस्कृतिलाई अनन्तकालसम्म जीवन्त राख्नका लागि हस्तान्तरण गर्नुका साथै समाजलाई चेतनशील बनाउनु, विकृति विसंगतिप्रति सचेत रहनु, आचरण सुधार गर्नु लगायतका रहेका छन्् । कतिपय कार्यक्रमहरुमा विद्यार्थी पुरस्कृत भएका छन् । घरदलान साहित्य कार्यक्रम सञ्चालनकै क्रममा स्थापित तुलसी मञ्जरी पुरस्कार तथा विमलाभक्ति पुरस्कारले यसको गरिमा बढाएको सुखद् अनुभूति पाठकसँग बाँड्न पाउँदा गौरवान्वित छौँ । सम्पादकीयका यी उद्गारहरुबाट नै जान्न सकिन्छ घरदलान साहित्यका उद्देश्य र विशेषताहरु ।

प्रस्तुत पुस्तकमा अतिथि खण्ड र नियमित खण्ड रहेका छन् । अतिथि खण्डमा साहित्यकारहरु पुण्यप्रसाद खरेलको माली, जनार्दन दाहालको अर्को धु्रव, गीता सुवेदी नेपालको मान्छे बन्दै बाँच्न धेरै छ चर्को, तला खरेलको तीन मुक्तक, गंगा अनुरागीको प्रगतिको बाटो रोजौँ, लक्ष्मीप्रसाद सुब्बाको घरदलान साहित्यलाई र ऋजन मायालुको मेरा आप्पा शीर्षकका कविताहरु प्रकाशित भएका छन् । नियमित खण्डमा काव्यहरु समेटिएका छन् ।

केशव आचार्य, डम्बरकुमार प्रधान, वेनुप्रसाद पनेरु, केदार कोइराला, जयनारायण अधिकारी, प्रेमप्रसाद सापकोटा, शान्ता उप्रेती, विष्णुप्रसाद पोखरेल, गणेश निरौला, कालीबहादुर थापा, दिव्य निरौला, शशिधर भण्डारी, वसन्त तिम्सिना, टंक काफ्ले विकल्प, धनबहादुर श्रेष्ठ, जय भण्डारी, खगेन्द्रप्रसाद निरौला, नन्दकुमार तिम्सिना, भुवन तामाङ, पुष्प काफ्ले प्रकाशचन्द्र न्यौपाने, पदम निरौला, उषा अधिकारी, विन्दा निम्सिना रेग्मी, माधव निम्सिना यात्री, राजु पौड्याल, हेमन्ता भण्डरी, राम तिम्सिना, सीता ढकाल पौड्याल, पवन ढुंगाना, मीना निरौला, बीना खतिवडा, मनिषा मञ्जरी, राजेन्द्र रिजाल अविरल, अस्मिता धिमाल, बबिता भण्डारी, कमलराज कोइराला, युवराज लुइँटेल र निर्मला तिम्सिना पौड्यालका रचनाहरु प्रकाशित भएका छन् । यी नामावलीबाट घरदलान साहित्यमा जोडिएका स्रष्टाहरुबारे जान्न सकिन्छ ।

त्यस्तैगरी आ.व. २०७८÷०७९ मा घरदलान साहित्यका विभिन्न शृंखलाहरुमा सहभागी सर्जक तथा आमन्त्रित एक सय एक जना महानुभावहरुको नामावली पनि प्रकाशित गरिएका छन् । त्यसपछि प्रकाशचन्द्र न्यौपानेको कविता कृति गमलाको पिपलबारे चूडामणि वशिष्ठको समीक्षा प्रकाशित भएका छन् । गमलाको पिपलमा समसामयिक यथार्थलाई पक्रिएर त्यसमा बौद्धिकता, कलात्मकता, सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिक ज्ञान, पूर्व र पश्चिमका पौराणिक ऐतिहासिक घटना परिघटनाहरुको अध्ययन चिन्तन समेटिएका विचार स्रष्टा वशिष्ठको रहेको छ । पुस्तकको अन्तिमतिर बुद्धशान्ति गाउँपालिकाबारे परिचय, पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय, स्वास्थ्य संस्था, कालोपत्रे सडक, मठमन्दिर, महत्वपूर्ण स्थानहरु, पर्यटकीय स्थल, बजार, धर्महरु, सांस्कृतिक पहिचान, वनजंगल, नदीनाला र उत्पादन सम्बन्धी विवरण प्रकाशित गरिएका छन् ।

यस पुस्तकभित्रका कविताका अंश पढौँ, ‘सुख्खा मुडा सिरानीमा जब राख्दछन् अनि, स्वयम् छोरा तयार हुन्छ लाउँछु आगो भनी, हिजोसम्म माया गर्ने आज कता गयो, यो संसारमा स्वार्थी जालमा मानिस पर्न गयो, धेरै हाँस्छन् थोरै रुन्छन् कोही यस्तै हो भन्छन्, घर जान हतार हुन्छ सबै बाटो लाग्छन्, नजिकका नातेदारले बस्नै पर्ने भयो, छैन मन बस्न त्यहाँ बाध्यता नै रह्यो ।’ वाह कति मन छुने काव्य । अब गजलको एक अंश पढौँ, यो त्यही देश हो जहाँ सत्ता टिकाउन टाँकुरा बेच्छ, जहाँ चुलो टिकाउन गरिब आफ्ना पाखुरा बेच्छ । यस्तै–यस्तै सटिक, यथार्थ र सन्देशमूलक काव्यहरुले सजिएका छन् यस कृति । यो पुस्तक बुद्धशान्तिको उच्च चिनारी हो । बुद्धशान्ति गाउँपालिकाका बासिन्दहरुको परिचय हो । चिन्तन, विचार र देशप्रतिको माया हो र हो अरु धेरै कुरा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here