बंगालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त वायुको प्रभावले देशभर अत्यधिक वर्षा भइरहेको छ । यस वर्ष सर्वाधिक वर्षा भइरहेका कारण ठूलो मानवीय तथा आर्थिक क्षति भइरहेको छ । गत बिहीबारदेखि शुरु भएको वर्षाका कारण झापामै तीन जनाको मृत्यु भएको छ भने पूर्वी पहाडी जिल्लामा पहिरो र बाढीका कारण आवागमन नै प्रभावित भएको छ । गएको शुक्रबारका दिन झापाको चन्द्रगढीमा सर्वाधिक वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ । चन्द्रगढी विमानस्थलमा रहेको मापन केन्द्रमा शुक्रबारका दिन तीन सय दुई मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
मौसमविद् शान्ति कँडेलका अनुसार यतिबेला सातवटै प्रदेशमा वर्षा भइरहेको छ । त्यसमा पनि कोशीदेखि कर्णाली प्रदेशसम्म भएको वर्षाले जनजीवन त्रस्त र कष्टपूर्ण रहेको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा अधिक वर्षा भइरहेको मौसमविद् कँडेलको तर्क छ । बंगालको खाडीबाट सर्दै आएको वायु न्यून चापीय क्षेत्रमा आइपुग्दा अधिक वर्षा भएको विभागले जनाएको छ । त्यही वायुको प्रभावले झापाका साना–ठूला सबै नदीहरुमा जलस्तर खतराको तहभन्दा माथि पुगेको छ । तीन दिनदेखिको अविरल वर्षाका कारण हुनसक्ने क्षतिबाट जोगाउन झापा प्रशासनले विपद् प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताएका छन् । झापाका कन्काई, विरीङ, रतुवा, अन्धुवा, मेची लगायतका नदीमा पानीको सतह बढ्दै गएर मानवीय क्षति समेत भइसकेको छ भने एकमात्र विमानस्थल चन्द्रगढीबाट हुने हवाई उडान समेत प्रभावित भएको छ ।
मनसुन सक्रिय भएका कारण देशमा छप्पन्न वटा जिल्लामा ‘रेड अलर्ट’ जारी गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले यसअघि नै देशका ठूला नदीमा बाढीले खतरा तह पार गर्ने चेतावनी दिएको थियो । महाशाखाले अन्य नदीहरुमा समेत जलस्तर बढ्न सक्ने भन्दै सुरक्षित रहन सचेत गराएको थियो । निरन्तरको वर्षाका कारण झापा लगायत देशभरका पचासभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै काठमाडौंलाई देशका अन्य जिल्लालाई जोड्ने सडक अवरुद्ध छन् भने हवाई सेवा समेत बन्द भएको छ । वर्षाको समय बित्दै गएका बोला भएको अधिक वर्षाका पछि जलवायु परिवर्तन नै कारक रहेको वैज्ञानिकहरु बताउँछन् ।
मानिसका कारण पृथ्वीमा जलवायु परिवर्तन भइरहेको छ । डढेलो, प्रचण्ड गर्मी, अचानक आउने बाढी र त्यसले निम्त्याउने संहारका पछि मानवीय गतिविधि जिम्मेवार रहेको वैज्ञानिकहरुले बताउँदै आएका छन् । हुन पनि यस्ता मौसमी गतिविधिहरु अहिले बारम्बार भइरहेका छन् । त्यसैले यसो हुनुमा विश्वको तापमानको वृद्धि र जलवायु परिवर्तनकै भूमिका रहेको भन्दै विज्ञहरुले मानिसलाई प्रकृतिबिरुद्धका गितिविधि नगर्न चेतावनी दिँदै आएका छन् । यसलाई रोक्न कार्बनउत्सर्जन घटाउनेतर्फ लाग्नु पर्दछ । कार्बनउत्र्सजन हुने गतिविधि मानिसद्वारा नै भएकाले खासगरी ठूला र विकसित देशहरु बढी सचेत हुनुपर्छ । अन्यथा यस्ता विपद्हरु जहाँ र जहिल्यै आइरहन्छन् ।