सिंहदेवी माविमा नवनिर्मित दुई तले भवनको समुद्घाटन

0
48

अर्जुनधारा

झापाको अर्जुनधारा–१ सिस्नेस्थित सिंहदेवी माध्यमिक विद्यालयमा नवनिर्मित दुई तले भवनको सोमबार एक कार्यक्रमकोबीच सुमद्घाटन गरिएको छ ।

विद्यालयको ६६औं वार्षिकोत्सव एवम् सरस्वती पूजाको अवसरमा बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज टिचीङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र पूर्वाञ्चल क्यानसर अस्पतालको सहयोगमा नवनिर्मित उक्त भवनको प्रमुख अतिथि राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसी, दाताहरु हस्पिटलकी अध्यक्ष इन्दिरा गिरी र निर्देशक दुर्गा प्रसाईंले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

कृष्ण प्रसाईं एवम् भगवान+चन्द्रमाया गिरीको स्मृतिमा दाता परिवारहरुबाट अनुमानित दुई करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सुविधायुक्त आधुनिक भवनमा आठ वटा कोठा रहेका छन् ।

त्यसैगरी सोही कार्यक्रमको अवसरमा विद्यालय प्राङ्गणमा आवश्यक वातावरणीय अवस्थाको सुधारसँगै शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने उद्देश्यले “विद्यालय सुधार कोष”को शुभारम्भ गरिएको छ ।

स्थानीय सयपत्री युवा समूहको पहलमा स्थापना गरिएको उक्त कोषमा हालसम्म दुई लाख ३० हजार आठ सय ६३ रुपैयाँ संकलन भएको बताइएको छ ।

जसअनुसार विद्यालयका शिक्षकहरुबाट एक लाख ५० हजार रुपैयाँ, वडाध्यक्ष उपेन्द्र बस्नेतबाट २२ हजार दुई सय २२ रुपैयाँ, टंकबहादुर न्यौपानेबाट २१ हजार एक सय १५ रुपैयाँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकालबाट ११ हजार एक सय १५ रुपैयाँ, सयपत्री युवा समूहबाट ११ हजार एक सय ११ रुपैयाँ, चित्राखर पौडेलबाट पाँच हजार एक सय रुपैयाँ, पवन खनालबाट पाँच हजार एक सय रुपैयाँ, देउनारायण राईबाट पाँच हजार रुपैयाँ र तुलसा पोखरेलबाट एक हजार एक सय रुपैयाँ सहयोग प्राप्त भएको छ ।

त्यस्तै कार्यक्रममा नाक, कान र घाँटी रोग विशेषज्ञ डा.कुशेश्वर शाह र स्त्री रोग विशेषज्ञ डा.सुजता खड्काको नेतृत्वमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन भएको थियो । त्यसैगरी राष्ट्रियस्तरका कलाकार विकास लिम्बूलगायत विद्यालयका विद्यार्थी, पूर्व विद्यार्थी एवम् स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा दाता प्रसाईं, शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख मोहन ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रधानाध्यापक लक्ष्मीप्रसाद रिजालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक भेषराज खनालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here