स्वच्छ वातावरण र बौद्ध दृष्टिकोण

0
26

सार :

वातावरण भनेको घरभित्र वा बाहिर मानिसको सम्पर्कमा रहने सजिव र निर्जीव वस्तुहरूको सम्बन्ध हो । यो वातावरणलाई मानिसले स्वस्थ र स्वच्छ राख्नुपर्छ । मानिस लगायत हरेक जीवको लागि यो अति आवश्यक छ । स्वच्छ तथा स्वस्थ वातावरण मानिसको लागि अधिकारसँग जोडिएको छ । आजको युगमा मानिसको बाँच्न पाउने अधिकार सुनिश्चित गरिएको छ । मानिसले बाँच्नका लागि वातावरण अनिवार्य छ । त्यो वातावरण कुनै पनि तरिकाले प्रदुषण हुनुहुँदैन । किनकि प्रदुषित वातावरणले मानिसलाई बाँच्न निकै गाह्रो अवस्था ल्याउँछ ।

वातावरण स्वच्छ र स्वस्थ राख्न संयुक्त राष्ट्रसंघको पहलमा अन्तर्राष्ट्रिय स्तरमा भएका सन्धी, सम्झौता र कानूनहरू निर्माण भएका छन् । तिनको कार्यन्वयन र पालनाका लागि हरेक सदस्य राष्ट्रहरूले ऐन, कानून र नीति, निर्देशिका तथा कार्यविधिहरू तयार गरी सक्रियता देखाइरहेको पाइन्छ । यसै सन्दर्भमा नेपालले पनि २०४७ सालदेखि वातावरणलाई स्वस्थ र स्वच्छ राख्न प्रयास गरेको छ । नेपालको संविधान २०७२ को धारा ३० मा मौलिक हकको रुपमा स्वच्छ वातावरणलाई समावेश गरेको छ । वातावरणलाई प्रदुषण हुन नदिन, प्रदुषकलाई क्षतिपूर्ति व्यहोर्न लगाउने कानूनी व्यवस्था हुनुले मानवअधिकारलाई संरक्षित रुपमा स्थापित गर्न खोजेको देखिन्छ । आजको आधुनिक समाजमा प्रकृतिसँग मानिस बाँच्नुको अरु कुनै विकल्प नरहेकोले स्वच्छ वातावरण राख्नु आवश्यक छ । स्वच्छ वातावरणलाई नैतिक रुपमा बौद्धका धेरै किसिमका सिद्धान्तबाट हेरिएको छ ।

पंचशील सिद्धान्त जसमा हिँसा नगर्नु भन्ने छ । यो सिद्धान्तले वनजंगल फडानी, जीवजन्तुलाई नष्ट गर्ने क्रियाकलापलाई निरुत्साहित गर्छ । करुणा, मध्यमार्ग जस्ता सिद्धान्तले वातावरण संरक्षण र सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ । बौद्ध दर्शनको प्रतित्यसमुत्पाद जसलाई परनिर्भरता सिद्धान्त भनिन्छ, यसले धर्तीमा रहेका सम्पूर्ण चीजहरू अन्तरसम्बन्धित छन् भन्ने बताउँछ । यो सिद्धान्तले वातावरण र पर्यावरणलाई जोडेर हरेक प्राणीले बाँच्न पाउने अधिकारलाई स्थापित गर्न प्रेरित गर्छ । यसकारण अहिलेको आधुनिक समाजमा हरेक व्यक्तिले नैतिक र कानूनी रुपमा अनुशासनको पालना गरी स्वच्छ वातावरणको सृजना गर्नु जरुरी छ ।

परिचय :

वातावरण भन्नाले घरभित्र र बाहिर मानिसको सम्पर्कमा आउने सजीव र निर्जिव चिजहरूको सम्बन्ध हो । वातावरणलाई विभिन्न वर्गीकरणमा हेरिएको छ । व्यक्तिको आन्तरिक वातावरण, बाह्य वातावरण त्यस्तै जैविक र अजैविक वातावरण अनि प्राकृतिक र मानव निर्मित वातावरणको रुपमा वर्गीकरण गरिएको पाइन्छ । आन्तरिक वातावरणमा व्यक्तिको स्वभाव र व्यवहारलाई हेर्न सकिन्छ भने बाह्य वातावरणमा पर्यावरणलाई बुझ्न सकिन्छ । वनस्पति, जीवजन्तु, सूक्ष्म जीव आदिका पारिस्थितिकी तत्वहरूको सम्बन्धलाई जैविक वातावरण भन्न सकिन्छ भने भूमि, हावा, पानी, नदी हिमाल, पहाड जस्ता भौतिक तत्वहरूको सम्बन्धलाई अजैविक वातावरणको रुपमा लिन सकिन्छ । त्यसैगरी मानव निर्मित वातावरणमा सामाजिक, आर्थिक, राजनीतिक वातावरणलाई बुझ्न सकिन्छ ।

भौगोलिक आधारमा स्थलीय वातावरण, जलमण्डलीय वातावरण, वायुमण्डलीय वातावरण भनेर बर्गिकरण गर्न सकिन्छ । प्रदुषणको आधारमा स्वच्छ वातावरण र प्रदुषित वातावरणको रुपमा वर्गीकरण गरिएको पाइन्छ । यी जुनसुकै वातावरण भए पनि स्वच्छ वातावरणले स्वस्थ जीवनको निर्माण गर्छ । संयुक्त राष्ट्र संघका अनुसार ‘वातावरण भन्नाले हाम्रो वरिपरिको प्राकृतिक, जैविक र मानव निर्मित संरचनाहरूलाई बुझाउँछ, जसले पारिस्थितिक सन्तुलनमा भूमिका खेल्छ’ यस परिभाषामा माटो, पानी, हावा, तापक्रम, वनस्पति, जीवजन्तु, सूक्ष्म जीवको पारिस्थितिकी सम्बन्ध, संस्कृति, समाज, परम्परा, नीति कानून आदि विशेषताको रुपमा समाहित भएको पाउन सकिन्छ । वातावरण सम्पूर्ण जीवको अस्तित्वको आधार हो । यसलाई स्वच्छ, सन्तुलित र स्वस्थ्य राख्न वातावरणीय संरक्षण, दीगो विकास र हरित जीवनशैली आवश्यक छ ।

स्वच्छ वातावरणको अवधारणा र विकास :

स्वच्छ र शुद्ध वातावरणलाई अधिकारको रुपमा मानव अधिकारसँग जोडेर हेरिएको छ । स्वच्छ वातावरण भनेको मानिसको शुद्ध, स्वस्थ्य र सुरक्षित वातावरणमा बाँच्न पाउने अधिकारलाई जनाउँछ । यसलाई मानव अधिकारको अभिन्न अंगको रुपमा लिइन्छ । यो अधिकारले दीगो विकास र पर्यावरणीय संरक्षणलाई थप सहयोग पु¥याउँछ । यो अधिकार केवल शुद्ध हावा र पानीको मात्र नभई सम्पूर्ण जनताको समग्र भलाइसँग जोडिएको छ । यो अधिकारको उद्देश्य मानवीय अस्तित्वलाई संरक्षण गर्नु र भावीपुस्ताका लागि प्राकृतिक स्रोतहरू सन्तुलित रुपमा प्रयोग गर्नु रहेको छ । यो अधिकारलाई सन् १९७२ मा संयुक्त राष्ट्रसंघले ‘मानव वातावरण सम्मेलन’ मार्फत पहिचान ग¥यो ।

खासगरी सफा र शुद्ध वातावरणको अधिकारको औपचारिक विकास सन् १९७२ मा स्टकहोम सम्मेलनबाट शुरु भएको मानिन्छ । यस सम्मेलनमा मानवअधिकार र वातावरणबीचको सम्बन्धलाई जोड दिएको थियो । रिचार्ड फाक जस्ता विद्वानहरूले यस अवधारणालाई मानवीय अस्तित्व र दीर्घकालिन दीगो विकासका लागि अत्यावश्यक मानेका छन् ।

अन्तर्राष्ट्रिय कानूनी मापदण्डको रुपमा संयुक्त राष्ट्र संघीय सन्धीहरू र सम्झौताहरूले नै स्वच्छ र सफा वातावरणको अधिकारलाई प्राथमिकताका साथ अगाडि बढाएका छन् । त्यसैगरी संयुक्त राष्ट्रसंघको वातावरण सम्बन्धी कानून र नीतिहरूले विश्वव्यापी वातावरण संरक्षण, जलवायु परिवर्तन नियन्त्रण र प्राकृतिक स्रोतहरूको दीगो उपयोगलाई प्राथमिकता दिएको देखिन्छ । यी कानूनहरूले सदस्य राष्ट्रहरूलाई वातावरणीय मुद्दाहरूमा एकीकृत तरिकाले काम गर्न प्रेरित गरेको छ । सन् १९९२ मा शुरु भएको यो महत्वपूर्ण सन्धीले वातावरणीय रक्षा गर्न र ग्लोबल वार्मिङको असरलाई न्यूनीकरण गर्न सदस्य राष्ट्रहरूलाई निर्देशन दिएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन संरचना महासन्धि (ग्ल्ँऋऋऋ) अन्तर्गत प्रमुख प्रावधानहरूलाई उल्लेख गर्न सकिन्छ जुन यसप्रकार छन् ः
ग्लोबल वार्मिङ नियन्त्रण, अन्तर्राष्ट्रिय सहयोग, राष्ट्रिय रणनीति, पेरिस सम्झौता ।

पेरिस सम्झौता २०१५ लाई जलवायु परिवर्तन सम्बन्धी एक महत्वपूर्ण सम्झौताको रुपमा लिन सकिन्छ । यस सम्झौतामा ग्रीनहाउस ग्याँस उत्सर्जन कटौती, दीगो विकासका उपायहरू र वित्तीय सहायता रहेका छन् । ग्लोबल तापमान वृद्धिलाई सिमित गर्ने लक्ष्य २ डिग्री से. भित्र सिमित गर्ने भन्नेछ । १.५ डिग्री से. भित्र सिमित गर्न प्रयास गर्ने प्रतिबद्धता छ ।

पृथ्वीमा औशत तापक्रम आवश्यक छ । औसत तापक्रमका लागि पृथ्वीमा कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड लगायतका ग्याँस चाहिन्छ । यी ग्याँसहरूलाई ग्रीनहाउसको रुपमा लिइएको छ । यदि यी ग्याँसहरू नहुने हो भने पृथ्वीको औसत तापक्रम –१८ डिग्री से. हुने थियो । तर, ग्रीनहाउस ग्याँसहरूको कारणले पृथ्वीको औसत तापक्रम १४ देखि १५ डिग्री से.को हाराहारीमा रहन्छ । त्यसकारण जीवन सम्भव बनाउँछ । पृथ्वीको वायुमण्डलमा ग्रीनहाउस ग्यासहरूले सूर्यबाट आउने इन्फ्रारेड (ताप) किरणहरू पृथ्वीको सतहबाट परावर्तित भएपछि अवशोषण गरेर राख्छ अर्थात् समातेर राखेको हुन्छ ।

यसरी तापक्रम सन्तुलित र नियन्त्रित भइरहन्छ । यी ग्रीनहाउस ग्याँसहरू प्रयाप्त मात्रामा पृथ्वीको सतहदेखि १२ कि.मि. को उचाईसम्म रहेको हुन्छ । तर, मानवीय क्रियाकलापहरूको कारणले बन फडानी, डढेलोबाट उत्पन्न र कोइला लगायत सबै प्रकारका इन्धन यातायातबाट पूर्णरुपमा जलेको ग्याँस कार्बनडाइअक्साइड, फोहोर व्यवस्थापन, गाई, भैंसी जनावरको मलमुत्रबाट उत्पन्न ग्याँस मिथेन, मल तथा रासायनिक पदार्थहरू प्रयोग गर्दा उत्पन्न ग्याँस नाइट्रस अक्साइड उत्सर्जन हुन्छ । यसरी यी ग्याँसहरू अत्यधिक हुदै गएमा वायुमण्डलमा तातोपन बढ्छ । यसरी ग्रीनहाउस ग्याँस न्यूनिकरण गर्न विभिन्न क्षेत्रहरूमा आवश्यक रहेको छ भन्ने कुरालाई पेरिस सम्झौताले उजागर गरेको छ । हरेक प्रतिबद्ध राष्ट्रहरूले जलवायु परिवर्तनका असरबाट जोगिन रणनीति बनाउनुपर्ने, विकासशील राष्ट्रहरूलाई जलवायु प्रभावको सामना गर्न सहयोग गर्ने, विकसित राष्ट्रहरूले विकासशील राष्ट्रलाई वार्षिक एक सय डलरको जलवायु वित्तीय सहायता प्रदान गर्ने, जोखिम न्यूनीकरण र क्षतिपूर्ति प्रणाली विकास गर्ने जस्ता मापदण्डहरू छन् ।

ग्रीनहाउस ग्याँस उत्सर्जनका मुख्य स्रोतहरू यातायात साधन, उद्योग, ऊर्जा उत्पादन, कृषि तथा पशुपालन, फोहोर व्यवस्थापन र वन विनास जस्ता कार्यहरू नै हुन् । वातावरण स्वच्छ राख्न मुख्यरुपमा हरित ग्याँसको उत्सर्जनलाई कम गर्नैपर्छ । अर्को मानवद्वारा हुने कृषि, पशुपालन र वन विनाश र फोहोरजन्य पदार्थको समस्यालाई घरपरिवारदेखि राष्ट्रसम्मले ध्यान केन्द्रित गर्नु आवश्यक छ ।

नेपालमा यस सम्बन्धी सन् १९९० पछि वातावरणीय अधिकारको विकास शुरु भएको देखिन्छ । नेपाल अधिराज्यको संविधान २०४७ ले केही आधारभूत अधिकारहरू प्रत्याभूत गरेको थियो, जसमा स्वास्थ्यको अधिकारहरू रहेका थिए । यी अधिकारहरू प्रत्यक्ष रुपमा वातावरणीय स्वस्थ्यसँग पनि सम्बन्धित छन् । नेपालको संविधान २०७२ को धारा ३० मा मौलिक हकको रुपमा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भनिएको छ । स्वच्छ वातावरणलाई प्रदुषण गर्न नपाइने, गरिएमा प्रदुषकबाट क्षतिपूर्ति भराउने कानूनी व्यवस्था गरेको छ । अहिले नेपालले केन्द्र, प्रदेश र स्थानीय स्तरबाट स्वच्छ वातावरणका लागि विभिन्न योजना र कार्यक्रमहरू जारी राखेको देखिन्छ ।

बौद्ध दृष्टिकोण :

बौद्ध दर्शनले वातावरणलाई समग्र जीवन र अस्तित्वको अभिन्न अंगका रुपमा हेरेको छ । बुद्ध शिक्षामा मानिस र प्रकृतिको परस्पर निर्भरता र सह–अस्तित्वको महत्वलाई जोड दिएको देखिन्छ । वातावरणको स्वच्छता र संरक्षणमा बौद्ध दर्शनका सिद्धान्तहरूको भूमिकालाई महत्वपूर्ण मानिएको छ । गौतम बुद्धले विपश्यना ध्यानबाट प्राप्त सिद्धान्त प्रतित्यसमुत्पाद जसलाई परस्पर निर्भरता भनिन्छ, त्यो पता लगाउनु भएको हो । यस सिद्धान्तमा संसारका सबै चीजहरू एकअर्कामा निर्भर छन् । यसको तात्पर्य प्राकृतिक संसार र मानिसबीचको सम्बन्ध गहिरो छ भन्ने हो । मानिस प्रकृतिको अंश हो । प्रकृतिसित एकसाथ सन्तुलित जीवनयापन गर्दा मात्र दीर्घकालीन सुख प्राप्त गर्न सकिन्छ । वातावरणीय विनाशले मानिसको जीवनमा पनि सीधा प्रभाव पार्दछ भन्ने असरहरूलाई परनिर्भरता सिद्धान्तसँगि जोडेर हेर्न उपयुक्त हुन्छ ।

बुद्धको अर्को शिक्षामा अहिंसा र करुणालाई लिन सकिन्छ । यो शिक्षाले वातावरणको रक्षा गर्दा बौद्ध धर्मले जीव–जन्तु, वनस्पति र सम्पूर्ण प्रकृतिप्रति अहिंसात्मक व्यवहार गर्नुपर्ने बाटो देखाउँछ । बौद्ध शिक्षाको अहिंसात्मक सिद्धान्तले कुनै पनि प्राणी वा प्राकृतिक स्रोतलाई विनाश नगर्न र तिनको संरक्षण गर्न जोड दिएको देखिन्छ । बुद्धले आफुलाई प्राकृतिक स्रोतहरूसँगको सह–अस्तित्वमा समाहित भएको समेत देखिन्छ ।

बुद्धको जन्म लुम्बिनीको वन क्षेत्रमा भएको र उनले ज्ञान बोधगयामा पिपल वृक्षमुनि प्राप्त गरेको घटनाले पनि यो कुरालाई सावित गर्न सकिन्छ । त्यतिमात्र होइन, उनको महापरिनिर्वाण पनि दुई वृक्षबीचमा हुनुले वनस्पति र प्रकृतिको महत्वलाई उजागर गरेको देखिन्छ । पंचशील जसलाई नैतिक नियम भनिन्छ । यो शिक्षाले पनि वातावरणीय रक्षा र संरक्षणमा जोड दिएको छ । पंचशीलमा हिँसा नगर्नु, चोरी नगर्नु, झुठो नबोल्नु, व्यविचार नगर्नु र मादकपदार्थ सेवन नगर्नु जस्ता नैतिक निर्देशनहरू छन् । यो शीलको पालनाले वातावरणीय स्रोतको संरक्षण र दीगो उपयोगलाई मद्दत गरेको देखिन्छ । किनकी यो शीलले लोभ, लालच र मानिसको स्वार्थपनलाई नियन्त्रण गर्दछ ।

महायान बोधिसत्व सिद्धान्तले जीवहरूको मुक्ति र सुख प्राप्तिको लागि मात्र नभएर सम्पूर्ण पृथ्वीको स्वास्थ्य र सन्तुलनका लागि पनि प्रोत्साहन गरेको छ । बोधिसत्वहरूले आफ्नो क्रियाकलापमा वातावरणको संरक्षणलाई महत्व दिएको कुराहरू पाइन्छ । थिच न्हात हान्ह जस्ता विद्वानहरूले बोधिसत्व मार्गलाई वातावरणीय न्यायसँग जोड्दै सबै जीवहरूको लागि काम गर्नुपर्ने बताएका थिए । उनले बोधिसत्वको भूमिका आध्यात्मिक मात्र नभई सामाजिक र वातावरणीय न्यायको लागि पनि हो भनेका छन् । यस्ता अवधारणाहरू खासगरी ताइवानी र तिब्बती बौद्ध विद्वानहरूको अग्रताले ह्युमानीटि बुद्धिज्म र ग्रीन बुद्धिज्ममा पनि बोधिसत्वबाट इकोसत्वको रुपमा स्वच्छ वातावरणसित अगाडि बढाएको देखिन्छ ।

बौद्ध दृष्टिकोणमा मध्यमार्ग जसलाई मज्झिमापतिपदा भनिन्छ । यो शिक्षाले पनि जीवनमा सन्तुलन राख्नुपर्छ भन्ने कुरा सिकाउँछ । यो शिक्षाले वातावरणीय सन्तुलनमा प्रभाव पार्छ । किनकि अत्यधिक शोषण गर्नु र पूर्णरुपमा निष्क्रिय रहनु दुबै अतिवाद हो । यी दुइको बीच मध्य मार्ग अपनाउँदा वातावरण संरक्षण र विकासमा मद्दत पुग्छ । बुद्धले आफ्ना शिष्यहरूलाई बिना आवश्यकता वनस्पतिलाई नष्ट नगर्न भनेका थिए । वृक्षमा पनि जीवन हुन्छ, त्यसैले क्षति नपु¥याउन भनेका थिए । जल, वन र भूमि संरक्षण गर्न आग्रह गरिएको कुरा बौद्ध ग्रन्थको अंगुलिमाल सुत्तमा उल्लेख गरिएको पाइन्छ ।

मानिसले प्रकृतिसँगै मिलेर बस्ने कुरालाई बौद्ध दर्शनले आत्मसात गरेको हुनाले यो दर्शनले दीगो विकासलाई समर्थन गरेको देखिन्छ िएफ्रिकन बौद्ध विद्वान सिवरक्सा जस्ताले बौद्ध दर्शनको सिद्धान्तहरूलाई दीगो विकासको आधार मानेका छन् । दीगो विकासको सन्दर्भमा डीन इ. पेस्ता जस्ता विद्वानले वातावरणीय न्यायलाई सामाजिक न्यायसँग जोड्ने कोशिस गरेका छन् । आजको विश्वले प्रदुषित वातावरणको संकटलाई सामना गरिरहेको कुरा कसैबाट लुकेको छैन । प्राकृतिक स्रोतको दोहन भइरहेको कारणले पृथ्वीमा हुने मानिसको बसोबासमा कठिन समस्याहरू निम्तिने खतरा छ । त्यसैले बौद्ध दर्शनका निरपेक्ष सिद्धान्तहरू र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मापदण्डहरूलाई सबैले पालना गर्ने हो भने वातावरणीय न्याय र सन्तुलनमा महत्वपूर्ण योगदान पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here