ज्ञानका खानी ज्येष्ठ तथा वृद्धहरुप्रति आजभोलि चिन्तन र सम्मान हराउँदै छ, तर झापाको सुदूरउत्तर शान्तिनगर पाखागाउँबाट वृद्धहरुका सम्मानस्वरुप एक सुन्दर लघुकाव्य कृति सिर्जना भएको छ । त्यो हो काव्यकार ‘मोक्ष खतिवडा’को सिर्जना ‘वृद्ध चिन्तन’ ।
जम्माजम्मी ५० पृष्टको लघुकाव्य कृतिमा प्रकाशित काव्यहरु थोरैजस्तो लागेपनि विषय, भाव र अर्थहरु विराट छन् । यो कृति सानो भएपनि स्तरीय छ । किनकि कृतिमा समेटिएका कविताहरु छन्दोबद्ध रहेका छन् । छन्दको अभ्यास, निरन्तरता र प्रकाशन हराउँदै आएको समयमा यस कृतिले छन्दको संरक्षणमा महत्वपूर्ण भूमिका निभाएको छ ।
प्रस्तुत कृतिको विशेषता अग्रज साहित्यकार विष्णुकुमार भट्टराईको विचारबाट जानौँ । ‘मोक्ष खतिवडा अत्यन्तै सकारात्मक चिन्तन भएकी कुशल गृहिणी र शिक्षकमात्र नभई आभ्यासिक कवि पनि हुन् । उनको छन्द कविता मोह प्रशंसनीय छ । वृद्धहरुको स्वभाव, मन र चिन्तन कस्तो हुन्छ भन्ने यकिन अनुभव यिनले गरेकी छन् कवितामा । वृद्धता, अशक्तता कसैको रोजाइको अवस्था होइन तथापि यी भुक्तभोग्यमा अनिवार्य स्वयमेव आउने सबैले व्यहोर्नुपर्ने अवस्था हो । त्यसकारण यो अवस्थाप्रति सकारात्मक रहेर सबैले वृद्धलाई खुशी पार्ने र सुखले राख्ने व्यवस्था मिलाउनुपर्छ भन्ने कति राम्रो सन्देश यी प्रत्येक श्लोकले दिएका छन् ।’
त्यसैगरी अग्रज साहित्यकार केशवराज खनालको विचार यसप्रकार छः ‘मोक्ष खतिवडा कविता साहित्यको क्षेत्रमा सुपरिचित नाम भइसकेको छ । छन्दोबद्ध कविताको मैदानमा त उनी अब्बल खेलाडी भइसकेकी छिन् । वृद्धवृद्धाहरुको अवस्था कस्तो हुन्छ, उनीहरुले आफ्ना सन्ततिहरुबाट के–कस्ता कुराहरु अपेक्षा गरेका हुन्छन्, उनीहरुको आफ्नो सन्तानहरुप्रति कस्तो धारणा र सोच हुन्छ, उनीहरुका चाहना कस्ता हुन्छन् भन्नेबारे कवितामा राम्ररी नै प्रकाश पारेकी छिन् । कतिपय वृद्धवृद्धाको स्वभाव बालकहरुको जस्तो पनि हुन्छ । त्यो अवस्थामा विचारमा कसरी परिवर्तन हुन्छ, शारीरिक क्षमताको कसरी ह्रास हुँदै जान्छ, सम्पूर्ण अङ्गप्रत्यङ्ग कसरी शिथिल हुँदै जान्छन्, उनीहरुका लागि कस्ता खाद्य सामग्री सुपाच्य हुन्छन्, औषधि सेवनमा कतिको रुचि राख्तछन् ? यी कुराहरुलाई आफू त्यो अवस्थामा नपुगेकी भए पनि आत्मसम्मान गरेकी छिन् वा राम्ररी बुझेकी छिन् ।
वृद्धवृद्धाहरु आफ्ना सन्ततिहरु फैलिउन्, हरेक क्षेत्रमा उनीहरुको उन्नति होस् भन्ने चाहन्छन् । समाजमा उनीहरुको इज्जत प्रतिष्ठा पाएको, कीर्ति कमाएको सुन्न जान्न पाउँदा उनीहरु हर्षले गदगद हुन्छन्, गौरव गर्छन् र आफ्ना सन्ततिप्रति आशीर्वादका हात बढाइरहन्छन् । आमाबाबुलाई वृद्धाश्रममा पु¥याएर छोड्नेहरु प्रति कवयित्री रुष्ट हुन्छिन् । ‘कुपुत्रो जायेत क्वाचिदपि कुमाता नभवति’ शङ्कराचार्यको यो महानवाणी कहिल्यै असत्य हुँदैन । मोक्षले यिनै कुरालाई वृद्ध चिन्तनमा राम्ररी उजागर गरेकी छिन् ।’ यी विचारहरुबाट प्रस्तुत कृतिभित्रका काव्यहरुका स्तरीयता र गहनता उच्च रहेको जान्न सकिन्छ ।
वृद्धवृद्धालाई सम्मान गर्नु हाम्रो नैतिक कर्तव्य हो । उनीहरुका ज्ञान, सीप, अनुभव, दक्षताको अनुशरण गरी भावी पुस्ताहरुलाई हस्तान्तरण गर्दै जानुपर्छ । उनीहरुलाई मान, प्रतिष्ठा गर्नुपर्छ । राज्य, समाज र परिवार सबैले आफ्नो दायित्व पूरा गर्नुपर्छ भन्ने विचार प्रवाह गर्न यो पुस्तक प्रकाशन भएको छ, भनि प्रकाशक कृष्णप्रसाद खतिवडाको भनाइ रहेको छ ।
कृतिकार स्वयम्को भनाई, नेपालमा ६० वर्ष उमेर कटेका बुढाबुढीहरु धेरै नै हुनुहुन्छ । बुढाबुढीहरुमा आ–आफ्नै किसिमका कथा, व्यथा, अनुभव र जिज्ञासा अनि भोगाइहरु हुन्छन् । उहाँहरुका ज्ञान, सिप, क्षमता, जीवनका संघर्षबाट भावी पुस्तामा हस्तान्तरण गर्दै अघि बढ्न पाठ सिक्नुपर्छ । साँच्चै नै जुन घरमा वृद्धवृद्धाहरु हुन्छन् त्यो घरमा छुट्टै मान, मर्यादा र अनुशासनको पालना भइरेको देख्न पाइन्छ । आफ्नो गाउँघर समाजभित्र धेरै पाका मान्छेहरु बीच साथ संगत रहँदा साथै उहाँहरुको जीवन भोगाइका व्यथाहरु देख्दै, सुन्दै आइरहँदा पनि वृद्धहरु प्रतिका कुनै विधा लेख्न थालेकी थिइन ।
जब भक्तपुर बुढ्यौली साहित्य समाज अन्तर्गत सोही समाजका अध्यक्ष स्रष्टा कविराज घिमिरे मार्फत मेरो सहभागिता हुन थाल्यो तत्पश्चात् वृद्धवृद्धाप्रति कविता रचना गर्न शुरु गरेँ । कहिलेकाहीँ आफूले लेखेका रचना मुहार पुस्तिकामा राख्दै जाँदा, धेरैतिरबाट सुझावहरु पाइरहेँ । सुझावको क्रममा अग्रज साहित्यकार केशवराज खनाल, साहित्यकार एवम् समालोचक विष्णुकुमार भट्टराईले लघुकाव्य बनाउनुपर्ने कुरामा घच्घच्याइरहनु भयो । उहाँहरुको कुरा मनन गर्दै खासमा सम्पूर्ण रचनाको संगालोलाई पुस्तकको आकार दिने जाँगर चलाएकी हुँ ।’
पाका या ज्येष्ठहरु साना–साना कुराले चाँडै नै प्रफुलित हुनुहुन्छ । उहाँहरुसँग भेट हुँदा एकैछिन बोलिदिने, यदि घरमै छन् भने बेला–बेलामा छेउमा गएर सन्चो बिसन्चो सोध्ने अर्थात् उहाँहरुको मनोभावना कदर गर्दैै साथ सहयोग, सम्मान र सहानुभूति प्रकट गर्न सक्नुपर्छ । कतै कोही एक्लै बसेका छन् भने आफूले गर्न सक्ने सहयोग गर्न पछि पर्नु हुँदैन । यस्तो छन्दमा मङ्गलाचरण शीर्षकमा कविता समेटिएको छ ।
त्यसपछि भुजङ्गप्रयात छन्दको कविता यस्तो रहेको छ, डुब्यौ चिन्तनामा दिई चित्त धेर, भयौ उत्रने जुक्ति माझी बनेर, उठाई जुरुक्कै सधैँ काँध थाप्यौ, सधैँ उच्चताको सिँढीमा चढायौ । म हुँ एक शाखा तिमी बोट सिङ्गो, कहानी सयौँ दर्द हुन्थे अनौठो, न थाक्यौ तिमी धैर्यता साथ बाँच्यौ, थिए बिघ्न कैयन पछारेर हाँस्यौ । वास्तवमा हरेक मानिस या सन्तानहरु आमाबाबुको स्नेह र अथक रेखदेखबाट हुर्किदै, शिक्षा लिँदै उच्चताको सिँढी चढ्ने या सफलताको शीखर चुम्ने बन्न सक्छन् । सफलताको रहस्य आमाबाबु अर्थात आजका ज्येष्ठहरु हुन् र उहाँहरुलाई सम्मान गर्नुपर्दछ भन्ने अटल सन्देश दिन्छ यो कविताले । स्रग्धरा छन्दको कविताको केही हरफ यसप्रकार छन् ः
बोली होस् शुभ प्यारो नरमपन सदा वृद्ध ती दिक्क हुन्नन्,
दुष्टात्मा वृद्ध हुन्नन् स्वजन सब पुजुन् ढुक्क मानेर रम्छन् ।
आफ्ना हुन् पेट रित्ता तर पनि यिनले गाँस साँची बचाए,
बेवास्ता बन्छ आफू तनय र तनुजा सुक्ख राखी हँसाए,
जस्तो होस् खोट केही तलबितल बिना साथ जैले यी दिन्छन्,
दुष्टात्मा वृद्ध हुन्नन् स्वजन सब पूजून् ढुक्क मानेर रम्छन् ।
यसरी वृद्धवृद्धाहरुका महान गुण र भाव समेटिएका कविताहरुले कृति भरिएका छन् । सन्तानप्रतिको चिन्तन, माया र कामना वृद्धवृद्धा अर्थात् आमाबाबु तथा हजुरआमा–हजुरबाबुहरुमा कति धेरै हुन्छन् भन्ने भाव यी कविताहरुले व्यक्त गर्दछन् । स्रग्विणी छन्दको तथा कृतिको अन्तिम कविताको चार हरफ यसप्रकार छन् ः
तुच्छता नासियोस् लक्ष्य जो उच्च होस्,
भावना चिन्तना उच्च नै भै रहोस्,
हुन्न क्वै दुःखमा व्यग्रता फालिए,
जिन्दगी सप्रियोस भन्छ है वृद्धले ।
यस्तै–यस्तै गहन कविताहरु समेटिएका छन् कृतिमा । नेपाली साहित्य भण्डारमा थपिएको नयाँ लघु कृतिको विशेषता बोकेको यो कृति पठनीय छ । लघु आकारमा प्रकाशित यस कृतिका सिर्जनाहरु साहित्यिक कुञ्जीहरुमा अब्बल छन् ।
बुद्धशान्ति–६ शान्तिनगर निवासी स्रष्टा मोक्ष खतिवडाका यसअघि प्रकाशित कृतिहरुः छन्दोबद्ध कविता संग्रहहरु (१) मेरो स्वर्ग र (२) भावबिम्ब रहेका छन् । सम्मान तथा पुरस्कारहरु ः (१) कवि शिरोमणि लेखनाथ पुरस्कार तथा सम्मान (२) सूर्योदय साहित्यिक प्रतिष्ठान इलामबाट सम्मान तथा पुरस्कार (३) नेपाल शिक्षक संघ झापाबाट सम्मान (४) श्री शान्ति आदर्श माविबाट सम्मान तथा पुरस्कार (५) नेपाल शिक्षक संघ बुद्धशान्तिबाट अभिलेख सम्मान (६) नेपाल शिक्षक संगठन झापाबाट सम्मान । विभिन्न भाषा साहित्य र मठमन्दिर लगायतका संस्थाहरुमा आबद्ध रही नेपाली भाषा साहित्य श्रीवृद्धी र समाजसेवामा समर्पित सर्जक मोक्ष खतिवडाको यस सुन्दर कृति अवश्य पढौँ ।