जिल्ला प्रहरी कार्यालय झापाले भन्सार नतिरी भित्र्याएको भन्दै तीन वटा कन्टेनर नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ती कन्टेनरमा घाँस काट्ने मेसिनसहितका सामान रहेको छ । जिल्ला प्रहरी कार्यालय झापाले कन्टेनर भारतबाट आएका र भारतीय नम्बर प्लेटका रहेको दाबी गरेको छ । कन्टेनरमा तीन करोड एकसठ्ठी लाख रुपैयाँ बराबरको सामान रहेको प्रहरीको भनाइ छ । कन्टेनरहरु बिर्तामोड–५ मा आइतबार राति नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका कन्टेनरहरुमा अवैध सामान ल्याइएको सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको बताइन्छ ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक प्रविण श्रेष्ठले ती तीनवटा भारतीय कन्टेनरमा रहेको सामानको अनुमानित मूल्य करिब पौने चार करोड रहेको जनाएका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिइएका ट्रक र भन्सार छली गरेका सामान आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ । भन्सार छलीका घटना यो नै नौलो भने होइन । यसअघि पनि खुल्ला सीमानाको फाइदा उठाउँदै भएको तस्करीका क्रममा अप्रिय घटना पनि हुँदै आएको र खुला सीमाना भएका भारत र नेपालबीच समान प्रकृतिका कर प्रणाली लागू नहुँदा चोरी–तस्करी नियन्त्रण हुन नसकेको जानकारहरु बताउँछन् ।
जिल्ला प्रहरीले बरामद भएका सामानको आवश्यक कागजात नभएको बताएको छ भने मेची भन्सार कार्यालय काँकरभिट्टाले भने ती कन्टेनरमा भएका सामान अवैध नभएको दाबी गरेको छ । भन्सार अधिकृत रामचन्द्र ढुंगानाले कन्टेनरहरुले चीनबाट कृषि औजार लिएर आएको र प्रक्रिया पूरा गरेरै भित्रिएको स्पष्ट गरेका छन् । त्यसो त एउटाले छाड्ने र अर्कोले नियन्त्रण गर्ने गरेका घटना नौलो होइन । यस्तोमा ‘सेटिङ’को खेल हुने भन्दै टिप्पणी हुने गरेको छ । सरकारका दुई जिम्मेवार निकायबीचको फरक–फरक प्रतिक्रियाले आपसी समन्वय नहुँदा राजश्व प्रभावित हुने निश्चित छ । चोरी तस्करी रोक्न सशस्त्र प्रहरी नै परिचालन गरेको बताउने सरकारले एउटै प्रकृतिका फरक निकायका बीच समन्वयन गराउनुपर्छ । त्यो पनि राष्ट्र हितलाई केन्द्र बनाएर । त्यसो भएन भने व्यक्तिले लाभ लिन्छन् नै राष्ट्रको आर्थिक जीवनमा कहिल्यै सुधार आउन सक्दैन ।