खुदुनाबारी, अर्जुनधारा नगरपालिका–४ को वडा कार्यालयको भवन निर्माण गर्न बिर्तामोडका लक्ष्मण बस्नेतले चार कट्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् ।
वडा कार्यालयको भवन निर्माणका लागि बिर्तामोड–१ का लक्ष्मण बस्नेतले २४ लाख बराबरको मूल्य चार कट्ठा जमिन उपलब्ध गराएको अर्जुनधारा–४ का वडाध्यक्ष दुर्गाप्रसाद दाहालले जानकारी दिए । वडा–४ स्थित हुमागाई टोलमा किता नं. ४४७ को दुई बिगाह १६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा बस्नेतले निःशुल्क रूपमा प्रदान गरेका हुन् ।
वडा कार्यालयलाई आवश्यक पर्ने विषयगत कार्यालयसहितको सुविधासम्पन्न भवन बनाउन प्राप्त जग्गा व्यवस्थित गर्ने कार्य भइरहेको वडाध्यक्ष दाहालले बताए । जनतालाई सेवा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले जग्गादाता बस्नेतले वडा कार्यालयका नाममा जग्गा नामसारी गरिदिएको प्रमाणपत्र नगर प्रतिनिधि खगेन्द्र लिङ्देनलाई बुझाएको उनका छोरा राम बस्नेतले जानकारी दिए ।
वडा कार्यालयले हाल भाडाको घरबाट सेवा दिइरहेकोे छ । जग्गादाता बस्नेतले देउमाई नगरपालिका–१ डम्बर देवी माविमा शिक्षण कार्य गरेको र शिक्षण सेवा निवृत्त भएपछि पछिल्लो समयमा उनी सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएको बताइएको छ । उनी खप्तडी बस्नेत सेवा समाजका अध्यक्ष समेत हुन् ।