इलामका समाजसेवी भट्टराईले दिए स्टेडियम बनाउन जग्गा

१ मंसिर २०७६, आईतवार मा प्रकाशित

इलाम ।

इलामका समाजसेवी तोयानाथ(टीएन) भट्टराईले सन्दकपुर गाउँपालिका ५ जमुनामा एउटा स्टेडियम बनाउनका लागि जग्गा प्रदान गर्ने भएका छन् ।

आइतबार स्टेडियमलाई जग्गा उपलब्ध गराउने विषयमा छलफलका लागि जमुनाबाट सदरमुकाम आएको वडाध्यक्ष जीतबहादुर साँवासहितको टोलीसँग समाजसेवी भट्टराईले जग्गा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका हुन् । यसअघि राजनीतिमा सकृय रहेका नेपाली काङ्ग्रेसको महासमिति सदस्य टीएन भट्टराईले धर्मपत्नी विष्णुकुमारी भट्टराईसहितको नाममा रहेको जमुना ढापपोखरी नजिकैको जग्गा स्टेडियम बनाउनका लागि उपलब्ध गराउने भएका हुन् । उनले यसअघि नै ढापपोखरीका लागि पाँच रोपनी जग्गा उपलब्ध गराइसकेका छन् ।

पर्यटकीय हिसाबले जमुना र ढापपोखरी क्षेत्र अत्यन्तै सम्भावना भएको स्थानको रुपमा रहेकाले यसको विकास र यहाँ पर्यटकको आकर्षण थप्ने अभिप्रायले खेल मैदान निर्माण गर्नुपर्ने आवश्यकता महसुस गरि स्टेडियम बनाउन स्थानीय बासिन्दा जुटेका छन् । त्यसलाई साथ दिन समाजसेवी भट्टराईले जग्गा उपलब्ध गराएका हुन् ।

स्थानीय बासिन्दासमेत रहेका ढापपोखरी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पत्रकार विप्लब भट्टराईका अनुसार समाजसेवी भट्टराईले ढापपोखरी र स्टेडियमका लागि ११ रोपनी जग्गा निःशुल्क दिइसकेका छन् भने उनले जम्मा २५ रोपनी जग्गा न्यूनतम् मूल्यमा स्टेडियमकै लागि उपलब्ध गराउने भएका छन् ।

टोलीसँगको छलफलमा टीएन भट्टराईलाई निःशुल्क प्रदान गरिएको ११ रोपनीबाहेक १४ रोपनी जग्गाका लागि १५ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ । जग्गा प्राप्तिपछि उक्त जग्गामा स्टेडियम बनाउने र जिल्लास्तरीयदेखि अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरु सञ्चालन गरि जमुनामा आगन्तुक बढाउने लक्ष्य राखिएको पत्रकार बिप्लबले बताए ।-सन्दकपुर अनलाइनबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here