विनोद सापकोटा/शिवसताक्षी,

शिवसताक्षी नगरमा समुदाय स्तरबाट निर्माण भईरहेको भीमाकुमारी चौधरी राईको घर निर्माणका लागी यहाँका पुर्व शिक्षक दिपक गिरी र वडा सचिव नन्दिकेशर भट्टराईले आर्थिक सहयोग गरेका छन् ।
बुधबार निर्माणाधिन घरको स्थलगत अनुगमन गर्दे निर्माण समितिलाई धन्यवाद सहित पुर्व शिक्षक गिरी र वडा सचिव भट्टराईले जनही १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् । गिरी राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दुधेका पुर्व शिक्षक हुन भने नन्दीकिशोर भट्टराई शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा सचिव हुन् ।
गिरीले आफ्ना दिवंगत वुवा रामचन्द्र गिरीको माघ ३० गते पर्ने ४५ औ दिनको पुन्य तिथीको अवसर पारेर बुवाको स्मृतीमा उक्त रकम प्रदान गर्ने बताए । वडा सचिव भट्टराईले भने समुदाय स्तरबाट निर्माण भईरहेको भीमाकुमारी चौधरी राईको आवास निर्माणका लागि सहयोग गर्नुपर्ने आफ्नो पनि दायित्व रहेकाले १० हजार प्रदान गर्ने बताए ।
भीमाकुमारी भुमिहिन एकल महिला हुन् । उनको श्रीमान्को सडक दुर्घटनामा परि निधन भएपछि माईतीको संरक्षण र सहयोगमा आफ्ना दुई सन्तान हुर्काईरहेकी छन् । भीमाकुमारी क्यान्सर पीडित महिला हुन् ।
आर्थिक अभावका कारण आफ्नो उपचार गराउन नसकेकी चौधरीले गरिवीकै कारण घर बनाउने जग्गा जोड्न सकेकी थिइनन् । जग्गा नभएकी चौधरीले घर बनाउने कुरा त परकै थियो,पूर्वाञ्चल दैनिक लगायत राष्ट्रिय र स्थानीय स्तरका संंचार माध्यमले भीमाकुमारीको पीडादायी कथा महत्वका साथ प्रकाशन गरेपछि उनलाई स्थानीय समुदायले जग्गा र घर निर्माणमा सहयोगको प्रतिवद्धता दिएका थिए । उनको घर मंसिर १५ गते भव्य समारोहका बीच शिलान्यास भएको थियो ।
भीमाकुमारी चौधरीको आवास निर्माणका लागि यतिवेला नँया दाता थपिएर आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । कुवेतमा रहेका झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का कान्तिप्रसाद अधिकारीले ५ हजार ५५ रुपैयाँ प्रदान गरेको भीमाकुमारी चौधरी राई आवास निर्माण अभियानका सह संयोजक अशोक बस्नेतले बताए ।
समुदाय स्तरबाट विपन्नको घर निर्माण भईरहेको समाचार विभिन्न संचार माध्यममा आईरहेको थाहा पाएर छिमेकी बचत तथा ऋण सहकारी संस्थाले पनि ११ हजार प्रदान गर्ने सहकारीका कार्यकारी प्रमुख नरप्रसाद ओली [नविन]ले बताएका छन् ।
सामाजिक उत्तरदायित्व अन्तरगत आर्थिक वर्ष ०७७/०७८ को बजेट बाट ११ हजार प्रदान गर्ने उनले बताए । शिवसताक्षी नगरपालिकाको वडा नम्बर ८ झिलझिलेमा रहेको उक्त सहकारीले गत वर्ष मात्र शेयर सदस्यलाई १६ प्रतिशत नगदै लाभासं दिएको छ भने ४९ करोडको वासताल सहितको प्रतिवेदन सार्वजनिक गरेर नगरका अन्य सहकारीको तुलनामा आफुलाई अब्बर सावित गरेको छ । निर्माण समितिका अनुसार उक्त घर ८५ प्रतिशत निर्माण भईसकेको छ ।































