साहित्यकार तेराख प्रतिष्ठानको स्थापना

0
456

बुधबारे।

मेचीनगर–९ धुलावारीमा साहित्यकार तेराख प्रतिष्ठानको स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा दर्ता नं. २९८९ रहेको यस प्रतिष्ठानले गत फागुन १२ गते वैधानिकता प्राप्त गरेको थियो । प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षता तथा प्रा. डा. टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमकाबीच प्रतिष्ठानको औपचारिक घोषणा गरिएको थियो ।

कार्यक्रममा प्राज्ञहरु यज्ञराज प्रसाईं र सुभद्रा भट्टराई, भानु साहित्य प्रतिष्ठान झापाका अध्यक्ष कृष्णप्रसाद उप्रेती, कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी र नागरिक एफएमका प्रबन्ध निर्देशक चिन्तामणि दाहालको आतिथ्य रहेको थियो ।

कार्यक्रममा साहित्यकार तेजराज खतिवडा (तेराख)कि दिवंगत पत्नी पद्मा खतिवडाको नाममा स्थापना गरिएको पद्मा खतिवडा उत्कृष्ट छात्रा प्रतिभा पुरस्कार समेत प्रदान गरिएको थियो । उक्त पुरस्कार धुलावारी माविबाट २०७४ सालको एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्रा रोशना नेपाललाई ११ हजार एक सय ११ रुपैयाँ र सम्मान–पत्र प्रदान गरिएको थियो । स्वर्गीय पद्मा खतिवडाको परिचय आरती पोखरेलले गराएकी थिइन् ।

त्यसैगरी मेचीनगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरु बीच प्रतियोगितात्मक कवि गोष्ठी सम्पन्न भएको थियो । प्रतियोगितामा नौ वटा विद्यालयका १२ जना विद्यार्थीहरुले भाग लिएका थिए ।

प्रतियोगितामा सीताराम सामुदायिक विद्यालयकी शीला लामिछाने प्रथम, इष्ट होराईजन माविकी अभिषाराज निरौला द्वितीय, आदर्श विद्या मन्दिरकी पवित्रा न्यौपाने तृतीय र हिमालय अंग्रेजी विद्यालयकी पूजा अधिकारीले सान्त्वना भएका थिए । विजेता प्रथमलाई दुई हजार, द्वितीयलाई एक हजार पाँच सय, तृतीयलाई एकहजार र सान्त्वनालाई पाँच सय नगद र प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकहरुमा साहित्यकारहरु गणेश निरौला, जयप्रसाद भण्डारी र खगिन्द्रा खुसी रहेका थिए ।

कार्यक्रममा साहित्यकारहरु ज्ञानेन्द्र ढुंगाना, नारायणप्रसाद भट्टराई, हेमन्ता भण्डारी, मातृका संग्रौला, सीसा थारु, नन्दकिशोर गजमेर, दयानन्द गोश्वामी, तीर्थ चापागाईं, लक्ष्मी अच्युत ढुंगाना, मीना अधिकारी, गणेश निरौला लगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रममा प्राज्ञ यज्ञराज प्रसाईं, प्राज्ञ सुभद्रा भट्टराई, कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीले र छविलाल खतिवडाले मन्तव्य राखेका थिए । प्रतिष्ठान स्थापना गर्नुको उद्देश्य र यसले प्रत्येक दुई–दुई वर्षमा प्रदान गर्ने पुरस्कारको विधाका सम्बन्धमा प्रतिष्ठानका संस्थापक संरक्षक तेराखले प्रकाश पारेका थिए । उनले १० लाख रुपैयाँको अक्षयकोषको स्थापना गरिएको र सोको ब्याजबाट प्रत्येक दुई–दुई वर्षमा उत्कृष्ट कृषक पुरस्कार, उत्कृष्ट शिक्षासेवी पुरस्कार, महाकवि देवकोटा पुरस्कार र पद्मा खतिवडा उत्कृष्ट छात्रा पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।

प्रतिष्ठानका महासचिव विनोद खनालले कार्यक्रमको बारेमा प्रष्ट्याउँदै संस्थापक संरक्षक खतिवडाको परिचय प्रस्तुत गरेका थिए । प्रतिष्ठानको स्थापनाको वर्ष भएकाले यसपटक एकजनालाई मात्र पुरस्कृत गरिएको हो । प्रतिष्ठानकी उपाध्यक्ष दुर्गा भुर्तेल खतिवडाले स्वागत, प्रतिष्ठानका सदस्य देवीचरण भण्डारी र खगिन्द्रा खुसीले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य टंक विकल्प काफ्ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here