भारतीय चिठ्ठाको अवैध कारोबार, एक युवक पक्राउ

0
841

भद्रपुर ।

नेपालमा प्रतिबन्धित भारतीय चिठ्ठाको झापाका सीमावर्ती बजार क्षेत्रमा खुलेआम कारोबार हुने गरेको पाइएको छ ।

बिहारमा समेत प्रतिबन्धित रहेको पश्चिम बंगालको चिठ्ठा नेपालको सीमावर्ती बजार क्षेत्रमा खुलेआम कारोबार हुन थालेपछि प्रहरीले त्यसतर्फ सक्रियता बढाएको छ । यसैक्रममा वडा प्रहरी कार्यालय भद्रपुरले भारतीय चिठ्ठाको कारोबार गर्ने एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल डांगीजोत बस्ने २२ वर्षीय मोहम्मद समीर रहेको प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए । कोरोनाले सीमा नाका बन्द रहेको अवस्थामा भारतीय युवक समीरले भद्रपुरबजार क्षेत्रमा खुलेआम चिठ्ठा बिक्री गरिरहेको अवस्थामा उनलाई आइतबार बिहान पक्राउ गरिएको डीएसपी थापाले बताए ।

प्रहरीले उनको साथबाट ४ हजार मूल्य बराबरको १५ वटा ठेली चिठ्ठा बरामद गरेको हो । पक्राउ परेका उनलाई वडा प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको छ । उनीमाथि चिठ्ठा ऐन, २०२५ को दफा २मा बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रहरी कार्यालय झापाले जनाएको छ ।

पछिल्लो समयमा भारतीय चिट्ठाका कारण भद्रपुरका केही व्यक्तिको उठिबास नै लागिसकेको छ । चिठ्ठाको लतमा फसेर उनीहरूको उठिबास लागेको स्थानीयहरू बताउँछन् । मुख्यगरी भद्रपुरको मोहपाल धर्मशाला, नगरपालिका कार्यालय, कामेश्वर कम्प्लेक्स, सब्जी लाइन, सुन पसल, बसपार्क, गिरी चोक, चन्द्रगढीका सुन लाइनमा भारतीय चिठ्ठाको खरिद बिक्री हुने गरेको पाइएको छ । चिठ्ठाका कारण दैनिक लाखौँ रकम नेपालबाट भारत जाने गरेको स्थानीयहरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here