बिर्तामोड, कात्तिक ३ । श्यामकृष्ण पत्रकारिता पुरस्कारबाट शिवहरिप्रसाद भट्टराई सम्मानित भएका छन् ।
मेची अञ्चलका जेठा पत्रकार श्यामकृष्ण उपाध्यायको स्मृतिमा स्थापित श्यामकृष्ण पत्रकारिता पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सगरमाथा अञ्चल, सप्तरी जिल्लाबाट प्रकाशित सूचना साप्ताहिकका सम्पादक भट्टराईलाई नगद रु. १० हजार एक सय ११ रुपैयाँ, सम्मानपत्र, दोसल्ला, टोपी र खादा समर्पण गरी सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले भट्टराईलाई सम्मान गरेका थिए ।
स्थानीय बाल्मीकि एजुकेशन फाउण्डेशनको रत्न मेमोरियल हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ गणेश रसिकले शुभकामना मन्तव्य राख्दै – मेचीको पत्रकारिताको स्मरण गर्दा श्यामकृष्ण उपाध्याय, एसएल शर्मा, डा. ऋषिकेश उपाध्याय, बसन्तकुमार खड्कालाई पनि सम्झिनै पर्दछ भने । युवा पत्रकार रेजिना रोदनमाथि भएको सांघातिक हमला अप्रिय र दुःखदायी भएको बताएका रसिकले घाइते पत्रकार र उनका सहयोगीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीमाथि कडा कारवाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । आफूले जीवनको पूर्वाद्र्धमा सगरमाथाको सप्तरी जिल्लाबाट सगरमाथा पत्रिका हुँदै मेचीको इलामबाट प्रकाशित मेची पत्रिकामा पनि काम गरेको स्मरण गर्दै प्राज्ञ रसिकले सगरमाथा र मेचीलाई जोड्ने पत्रकारिता पुरस्कार गुठीको कार्यक्रममा आफू सहभागी हुन पाउँदा कृतज्ञ रहेको बताए ।
पुरस्कृत प्रतिभा भट्टराईले – पूर्वाञ्चलमै पत्रकारिताको क्षेत्रमा अग्रणी रहेको झापाबाट आफू सम्मानित भएकोमा खुशी व्यक्त गर्दै श्रमजीवी पत्रकारको जीवनवृत्ति अझै सन्तोषजनक नभएको बताउँदै उनीहरुको जीवन पनि सुरक्षित नभएकोमा सरकारको ध्यानाकर्षण गराएका थिए । प्राप्त सम्मानबाट आफू पत्रकारिताको माध्यमबाट सामाजिक रुपान्तरण कार्यमा लाग्न प्रेरित भएको पनि बताए ।
कार्यक्रममा प्राज्ञ माधव प्रधानले – सांस्कृतिक क्षेत्रका लागेका साधकहरुलाई पत्रकारिता क्षेत्रमा संलग्न साथीहरुले उपेक्षा गर्न नहुने बताए ।
पुरस्कार गुठीका सभापति तोयानाथ भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुठीका संस्थापक एवम् श्यामकृष्ण उपाध्यायकी छोरी आभाकुमारी शर्माले स्वागत गर्दै पुरस्कार स्थापनाको विषयमा प्रकाश पारेकी थिइन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का सल्लाहकार दिपीन राई, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष राधा सुब्बाले शुभकामना मन्तव्य राख्दै श्यामकृष्ण उपाध्यायका बारेमा अन्तरक्रिया लगायतका अरु पनि कार्यक्रम राखेर दिवंगत व्यक्तित्वको चिनारी गराउनुपर्ने आवश्यकता रहेको बताएका थिए ।
छनोट समितिका संयोजक मदन ढकालले पुरस्कृत व्यक्तित्वको घोषणा गर्दै परिचय प्रस्तुत गरेको कार्यक्रममा गुठीका सदस्य गोपालकुमार बस्नेतले धन्यवाद ज्ञापन र कवि एवम् गीतकार अर्जुन सापकोटाले कविता तथा गीत प्रस्तुत गरेका थिए । सो अवसरमा पत्रकार रश्मिशेखरले सम्मानपत्र वाचन गरेका थिए ।
सो कार्यक्रममा प्राज्ञ उदय श्रेष्ठ, वरिष्ठ गीतकारद्वय श्याम तमोट, शिवशंकर थापा, गायक तथा संगीतकार हस्त परियार, नेपमहासंघ सप्तरीका पूर्व सभापति व्यासशंकर उपाध्याय, स्थानीय जेष्ठ नागरिकहरु परशुराम ढकाल, टुंगबहादुर बस्नेत, नेपाल परिवार नियोजन संघ झापाका सभापति दीपेन्द्र ढकाल, बानका केन्द्रीय उपाध्यक्ष कुमार भट्टराई, झापा उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष बलराम कार्कीलगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन लक्ष्मण ढकालले गरेका थिए ।