कन्काईको विव्यस अध्यक्षमा प्रसाईं

0
206

सुरुङ्गा।

कनकाई नगरपालिका-३ स्थित कन्काई माध्यमिक विद्यालयमा युवा समाजसेवी चन्द्रप्रसाद प्रसाईंको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

एक कार्यकाल विद्यालय व्यवस्थापन समितिमा सदस्य भइसकेका प्रसाईं लगायत समस्त समिति सर्वसम्मत गठन भएको हो । समिति सदस्यमा गोविन्दप्रसाद पौडेल, टीका अधिकारी, दिलिप घतानी, गोविन्द सुवेदी, क्रान्ति सुवेदी, मेनुका घिमिरे र शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडा चयन भएका छन् । सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगी रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष प्रसाईंले अभिभावक, शिक्षक, विद्यार्थी, शिक्षासेवी, चन्दादाता, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार सबै पक्षसँग समन्वय र सहकार्य गर्दै विद्यालयलाई शैक्षिक, व्यवस्थापकीय र भौतिक रूपमा नमुना विद्यालय बनाउन सकारात्मक सोचका साथ क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबै अभिभावकलाई विद्यालयले अघि सारेका कार्यक्रम र कार्ययोजना सफल बनाउन सहयोगका लागि अपिल गरे । उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन भइरहेको छ । नेपाली र अंग्रेजी दुवै माध्यममा पठनपाठन भइरहेको विद्यालयमा सुस्त श्रवण तथा बहिरा विद्यार्थीका लागि विशेष कक्षा समेत सञ्चालन भइरहेको छ । विद्यालयमा कक्षा ११-१२ मा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी समूहका कक्षाहरू सञ्चालित छन् ।

८६ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको उक्त विद्यालयमा हाल २५ सय विद्यार्थी अध्ययनरत छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रस्तावित नमुना विद्यालयको रूपमा छनोटमा परेको उक्त विद्यालय नमुना विद्यालय बन्न आवश्यक पूर्वाधार तथा मापदण्ड पुरा गर्न प्रयत्नशील रहेको शिक्षक- अभिभावक संघ (पीटीए) का सदस्य खगमाया चापागाईंले जानकारी दिइन् ।

समितिको पूर्णतापछिको कार्यक्रममा निवर्तमान अध्यक्ष जनार्दन उप्रेती, निवर्तमान शिक्षक प्रतिनिधि बल्लभकुमार गौतम, शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमेश शेर्पा, विद्यालय व्यवस्थापन समिति पूर्व सदस्य बालकृष्ण नेपाल लगायतले नवगठित समितिलाई बधाईसहित शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here