रोटरी क्लब अफ बिर्तामोडद्वारा दुईजना छात्रालाई छात्रवृति प्रदान

0
35

बिर्तामोड, रोटरी क्लब अफ बिर्तामोडले चाइल्ड एजुकेशन स्कलरसीप प्रोग्रामअन्तर्गत दुईजना छात्रालाई एक वर्षका लागि छात्रवृति रकम प्रदान गरेको छ ।

बिर्तामोड–३ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा सोमवार कार्यक्रम आयोजना गरी रोटरी क्लब अफ बिर्तामोडले महेन्द्ररत्न माविमा अध्ययनरत पुष्पा राजवंशी र बुद्ध आदर्श मावि बुद्धशान्तिमा अध्ययनरत अनिता बास्कोटालाई एक वर्षको छात्रवृत्ति रकम प्रदान गरेको हो । कक्षा ११ मा साइन्स विषय अध्ययन गर्ने पुष्पालाई २३ हजार ४०० र कमर्स विषय अध्ययन गर्ने अनितालाई १३ हजार ८०० रुपैयाँ प्रदान गरिएको रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल भद्रपुरेले बताए ।

रोटरी क्लब अझ बिर्तामोडको १० लाख रुपैयाँको अक्षय कोषबाट जेहेन्दार विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरिएको उनले जानकारी दिए । सोही कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोडका चाइल्ड एजुकेशन कमिटी चियर तथा कंचनजंघा अंग्रेजी स्कुलका संस्थापक गुरुभक्त न्यौपानेले अक्षय कोषका लागि महेन्द्ररत्न माविलाई २ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । आफ्ना बुवा नन्दलाल न्यौपाने र आमा चन्द्रमाया न्यौपानेको सम्मानमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि सो रकम उपलव्ध गराएको न्यौपानेले बताए । उनले महेन्द्ररत्न माविमा कक्षा ६ देखि अध्ययन गरी कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएर एसईई दिने विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरिने जानकारी दिए । रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल भद्रपुरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका तर्फबाट सर्भिस प्रोजेक्ट डाइरेक्टर सुरेश वंशल , चाइल्ड एजुकेशन कमिटी चियर गुरुभक्त न्यौपाने ,डिष्ट्रिक्ट जोइन्ट सेक्रेटरी निकिता गिरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा महेन्द्ररत्न माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंक सेढाई , प्रधानाध्यापक खड्गप्रसाद खरेल , बुद्ध आदर्श माविका लेखापाल देवेन्द्र निरौलाले पनि मन्तव्य राख्दै रोटरीलाई धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन रोटरी क्लब अफ बिर्तामोडका सेक्रेटरी डा. सन्ध्या राठीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here