भगवती आविमा शैक्षिक सुधार अक्षयकोष अभियान

0
40

युद्धबहादुर बोहोरा,
पाँचथर ।

मिक्लाजुङ–१ साराङडाँडास्थित सिंहाङमा रहेको भगवती आधारभूत विद्यालयमा शैक्षिक सुधार अक्षयकोष अभियान थालिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर र भौतिक सुधारमा सहयोग पु¥याउने उद्देश्यले विद्यालय परिवार, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीयबासी र सरोकारवालाको सक्रियतामा अभियान शुरु गरिएको अभियानका आर्थिक संयोजक चिरञ्जीवी राईले जानकारी दिए । अक्षयकोष स्थापनामा आर्थिक सहयोग गर्ने दाताहरुको लहर बढ्न थालेको उनले बताए । यस विद्यालयका पूर्वविद्यार्थी र स्थानीय युवा हाल वैदेशिक रोजगारीमा कार्यरतले सामुदायिक विद्यालयलाई सबल बनाउन सरकारको मात्रै मुख ताक्न नहुने भन्दै देश–प्रदेशबाट सहयोगमा जुटेका छन् ।

यसैबीच, विद्यालयको शैक्षिक उन्नतिमा ऊर्जा प्रदान गर्न बुधबार एक कार्यक्रमको आयोजना गरी उत्तरे शेर्मा परिवारबाट आफ्ना स्व. बुबा देवप्रसाद शेर्मा र आमा लक्ष्मीकुमारी शेर्माको नाममा एक लाख पाँच हजार नगद रुपैयाँ दातापरिवारका जेठा छोरा महेन्द्र शेर्मा र बुहारी जयकुमारी राईले समितिलाई हस्तान्तरण गरेका छन् । सोही अवसरमा स्थानीय समाजसेवी गजुरमान राईले आफ्नी स्व. श्रीमतिको स्मृतिमा ५० हजार रुपैयाँ प्रदान गरे । विद्यालयमा हालसम्म दुई लाख ४६ हजार ९ सय ६५ रुपैयाँ संकलन भएको जनाइएको छ ।

अक्षयकोष हस्तान्तरण समारोह मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तकुमार शेर्माको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समिति अध्यक्ष पञ्चकुमार चेम्जोङको अध्यक्षता भएको थियो । प्रमुख अतिथि शेर्माले सहयोगी दाता लगायत आफूले अध्ययन गरेर हुर्किएको विद्यालयको इतिहास बचाउने सकारात्मक सोचका साथ अभियान थालनी गर्ने सवै सरोकारवालालाई शुभकामनासहित धन्यवाद दिएका छन् ।

आगामी वर्षदेखि पालिकाले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सवै विद्यालयमा नेटको पहुँच पु¥याउने, ई–हाजिरी र आवश्यकता अनुसार भौतिक निर्माण सुधार गरिने योजना रहेको बताए । २०७८ सालको अविरल वर्षाले मिक्लाजुङ गाउँपलिकाभित्रका धेरै संरचना भत्काएकोले जीर्ण रहेका भवन सुधारका लागि विद्यालयले माग पेश गरे अनुसार मर्मत र निर्माण गरिने बताइएको छ ।

प्रधानध्यापक रमेशचन्द्र नेउपानले विद्यालयको गतिविधि र आवश्यकतासहित अक्षयकोष स्थापना अभियान सञ्चालन थालिएको भन्दै समाज रुपान्तरणमा शिक्षाको महत्वपूर्ण भूमिका हुने भएकाले भौतिक संरचनासँगै गुणस्तरीय पठनपाठनका लागि सरोकारवाला सबैले जिम्मेवारी बहन गर्न उनले आग्रह गरे ।

मिक्लाजुङ–१मा २०१३ सालमा स्थापना भएको यस विद्यालयमा ८ कक्षासम्म पठनपाठन हुँदैछ । विद्यालयमा बालशिक्षा सहित नौ वटा कक्षा छन् । यहाँ छ जना प्रावि तहका दरबन्दी शिक्षकमध्ये तीन स्थायी र एक राहत गरी चार जना, निमातर्फ एक राहत र एक अस्थायी करार गरी दुई जना छन् । बालबिकासमा एक जना र एक प्रावि निजी साथै दुई जना कार्यालय सहयोगी गरी जम्मा १० जना स्टाफ भएतापनि दुई वटा दरबन्दीको अभावसँगै पर्याप्त शिक्षक नभएको उनले बताए । केही पुराना विद्यालय भवनको अवस्था जीर्ण हुँदै गएकाले जोखिमको सम्भावना बढेको प्रअ न्यौपानेले बताए ।

मिक्लाजुङ गाउँपालिकामा जम्मा ५६ वटा सामुदायिक विद्यालयमध्ये ११ वटा माद्यमिक विद्यालय छन् । पछिल्लो समय पहाडी क्षेत्रका अधिकांश बस्तीका मानिसहरू वैदेशिक रोजगारीमा जाने क्रम तीब्र छ । उनीहरुको परिवारका छोराछोरी गाउँबाट सुविधा सम्पन्न ठाउँमा अध्ययन गर्न जाने चलन बढेसँगै सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून छ । यसैको मारमा यो विद्यालय पनि अछुतो छैन ।

कार्यक्रममा कार्यपालिका सदस्य शम्शेर राई, वडासदस्य धनराज राई, विव्यस पूर्वअध्यक्ष भगेन्द्र आङ्देम्बे र डम्बर आङ्देम्बे, खान्द्रुङ माविका शिअस अध्यक्ष महेन्द्र राई, समाजसेवी प्रवीन राई, सन्तोष बिक्रम आङ्देम्बेलगायतले मन्तव्य राखेका थिए ।

यस विद्यालयका पूर्वविद्यार्थी एवम् दातापरिवारका सदस्य बच्चु हिमांशु (कैलाश शेर्मा) को विशेष पहलमा आयोजना गरिएको कार्यक्रममा उनले यस शैक्षिक संस्थालाई सबैले माया गर्नु पर्ने बताए । उत्तरे शेर्मा परिवारको तर्फबाट जेहेनदार दुई जना छात्रछात्रालाई पुरस्कृत गरिएको र आगामी शैक्षिक सत्रबाट निरन्तरता दिइने जनाए ।

यस वडामा बुद्धिचाल, चित्रकला र भलिवल प्रशिक्षण छिटै आयोजना गरिने र फाक्तेप युथ क्लबमार्फत फुटबल प्रशिक्षण समेत हुनेले बताए । उनको व्यक्तिगत लगानीमा मेनगेटमा आकर्षक विद्यालयको बोर्ड र संस्थालाई डष्टवीन सौजन्य गर्ने प्रतिवद्धता समेत जनाउँदै शैक्षिक सुधारमा सहायता पुग्ने विभिन्न आकर्षक कार्यक्रम ल्याउने जानकारी दिए ।

कार्यक्रममा विव्यस अध्यक्ष पञ्चकुमार चेम्जोङले सबै शिक्षक र आम अभिभावकले आफ्ना छोराछोरी यसै विद्यालयमा पठपाठन गराउन अनुरोध गरे । शिअस अध्यक्ष लाखबहादुर आङ्देम्बेले स्वागत मन्तव्य राखेको कार्यक्रम शिक्षक चन्द्रप्रकाश चेम्जोङले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here