मानवता विरोधी कार्य रोक

0
12

नक्कली कागजात बोकेर भारतीय बाटो हुँदै अरब देशहरुमा जान लागेका नेपाली नागरिकहरु पक्राउ पर्न थालेका छन् । विगतका केही साताहरुमा भारतको राजधानी दिल्ली र मुम्बईस्थित अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य क्षेत्रबाट नेपाली पक्राउ पर्न थालेपछि नक्कली कागजातको घटना सार्वजनिक भएको हो । त्यसो त नक्कली कागजातको आधारमा विदेश जाने पक्राउ पर्ने क्रम यो नै पहिलो होइन । अनुसन्धानको क्रममा नक्कली कागजातका आधारमा विदेश पठाउने म्यानपावर, प्रहरीदेखि अध्यागमनका कर्मचारीहरुकै संलग्नता रहेको भन्दै कति कारवाहीमा परिसकेका छन् । तर, भारतीय विमानस्थलबाट पक्राउ परेको यो घटनाले मानव तस्करीको जालो बलियो हुँदै गएको कुरा चिन्ताको विषय हो ।

वैदेशिक रोजगारी पठाउने नाममा अवैध रुपमा लैजाने कार्य मानव तस्करी हो । लाने र जानेकाबीच सहमति हुने, जाने मान्छेबाट आर्थिक लाभ लिने र अवैध बाटो प्रयोग गरी विदेश लाने कार्य नियमितता जस्तै हुन थालेको छ । त्यस्तै खाडी मुलुकहरुमा नेपाली महिलालाई घरेलु कामदारका रुपमा लान अवैध बाटो प्रयोग गर्ने र त्यहाँ पु¥याएपछि यौन शोषणमा पर्ने गरेका घटना पनि देखिएका छन् । वैदेशिक रोजगारीका लागि लगेर यस्ता कार्य गराउने घटना मानव बेचबिखन हो जो आम विषय बनिएको छ । अझ पछिल्लो समय थाइलेण्डलाई ट्रान्जिट बनाएर दक्षिण पूर्वी एशियाका म्यान्मार, लाओस्, कम्बोडिया जस्ता देशहरुमा भिजिट भिसाको माध्यमबाट पु¥याउने र अनलाइन स्क्यामहरुमा लगाउने गरेका घटनाहरु पनि सार्वजनिक भइरहेका छन् । यी सबै घटनाक्रमहरु मिडियामा सार्वजनिक भएका छन्, प्रहरीमा आएका सूचनामा र उजुरीमा समेत परेका छन् । यस्ता मानवता विरोधी घटना बढ्ने क्रम छन् भन्ने देखिन्छ ।

अवैध कार्य गर्नेहरुका लागि नेपाल स्वर्ग जस्तै हुन थालेको उल्लेखित घटनाक्रमहरुले देखाएका छन् । यसकै निरन्तरता हुनसक्छ भारतीय विमानस्थलबाट पक्राउ परेका नक्कली कागजातधारी नेपालीहरुको नियति । भारतीय अध्यागमन अधिकारीहरुले गत साता मात्रै १० जना नेपालीलाई नक्कली कागजात बनाएको आरोपमा पक्राउ गरेको थियो । भारतीय बाटो प्रयोग गरी विदेश जाने कुरा नौलो त होइन तर श्रमस्वीकृति, एनओसी नै नक्कली बनाएर पठाएर आर्थिक लाभ लिने कार्य चाहिँ आपराधिक हो । तर, हामी कहाँ सरकारमा बसेकाहरुलाई नै मानव तस्करीमा संलग्न भएको आरोप लाग्दै आएको छ, जो अझै विवादमै छन् । यसले समग्र जाति र देशको दुर्नाम भएको छ । त्यसैले सरकारले यस्ता विषयलाई गम्भीर भएर हेर्नुपर्छ । युवाहरुलाई देशमै रोजगारीको अवसर प्रदान गर्दै टिकाउने नीति अख्तियार गर्नुपर्छ । त्यसो भए मात्र यस्ता अवैध गतिविधि नियन्त्रण हुनसक्छन् र कसैले ठगिनु र शोषित पनि हुनुपर्ने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here