इलाम।
डढुवा रोगका कारण कालो सुनको उपमा पाएको अलैंचीको बगान सखाप भएको छ । सिमसार र जंगलमा खेती गरिने अलैंची डढुवा रोगले मरेर बगानै सखाप भएपछि बारीको गरा र कान्लामा रोपण गरेर पुर्नस्थापना गरिएको थियो ।
पहिलाकै रोगले संक्रमण भएर जंगल र बारीको दुबै बगान सकिएका कारण अलैंची खेती गर्ने किसानहरु चिन्तित भएका छन् । पुरानो बगान मासिएपछि किसानहरुले परम्परागत रुपलाई छोडेर गोडमेल र मलजल गर्ने गरेको भए पनि अन्ततः किसानको मेहनत र प्रयास असफल भएको रोङ–६ का अलैंची किसान गणेशमान राईले बताए ।
उच्च मूल्य हँुदा जसरी पनि अलैंची फलाउने प्रयासमा लागेर किसानहरुले अनेकन प्रयास गरेको र नयाँ बगान र बिरुवाले दुई–तीन बर्ष जति राम्रो उत्पादन दिएको भए पनि अहिले आएर सबै बगान डढेर सकिएको किसानहरुको भनाइ छ । नेपालको पूर्वी भागमा भारतबाट भित्रिएको अलैंची खेती अहिले बिस्तार भएर नेपालको करिब ४० जिल्लामा खेती हुन थाले पनि अलैंचीको उद्गम स्थल मानिने इलाममा नै किसानहरुले भने समस्या भोग्नु परेको छ ।
अन्य जातको अलैंचीलाई छाडेर जिर्मले जातको अलंैची रोपेको भए पनि यसमा पनि रोग देखिएकोले अव पुर्नस्थापनाको सम्भावना नरहेको किसानहरु बताउँछन् । दुई–चार बर्षसम्म अलैंची बिरुवाको उच्च माग रहँदा बिरुवा उत्पादनमा हौसिएका किसानहरु बिरुवा नबिकेपछि निराश बनेका छन् । अलैंची हुने ठाउँहरुमा बिरुवामा आत्मनिर्भर भएको कारण बिरुवा नबिकेको अधिकारी नर्सरी उद्योगका प्रोपाइटर याम अधिकारीले बताए ।
यता यस बर्ष अलैंची बिकास केन्द्र फिक्कलले भने किसानको माग अनुसार बिरुवा दिन सक्ने सम्भावना कम रहेको जनाएको छ । अलंैची बिकास केन्द्रमा दुईदेखि तीन लाखसम्म मात्रै बिरुवा रहेकोमा पाँचथरबाट दुईलाख बिरुवाको माग आइसकेको र बिरुवाको सिजन भर्खरै मात्र शुरु भएको हँुदा माग अनुसार बिरुवा दिन नसक्ने सम्भावना रहेको अलैंची बिकास केन्द्र फिक्कलका प्रमुख पदमप्रसाद अधिकारीले बताए ।
अलंैचीमा रोग फेरि देखियो यसको बारेमा नेपालकै एकमात्र अलैंची बिकास केन्द्रले के गर्दैछ ? भन्ने जिज्ञासामा अलैंची बिकास केन्द्र किसानहरुलाई अलैंची खेतीको तालिमको अतिरिक्त तरकारी खेती र फलफूलको खेतीको बारेमा लागेको र पुरानो बगानमा अलैंचीको खेती नगर्न किसानहरुलाई सल्लाह दिने प्रमुख अधिकारीले बताए ।
अलंैची खेतीको बिस्तार र विकास गर्न स्थापित नेपालकै एकमात्र अलैंची विकास केन्द्र फलफूल र तरकारीमा लागेपछि अलैचीबो रोग निदान गर्न नसकिने र अब अलैंची खेतीको सम्भावना न्यून रहेछ भन्ने किसानहरुले अनुमान गर्न थालेका छन् ।
नेपालकै प्रमुख निर्यातजन्य अलैंचीले किसानको आम्दानीमा प्रमुख हिस्सा लिए पनि सरकारी तबरले यसको खेती विकासमा ध्यान नदिँदा समृद्ध नेपाल सुखी नेपाली बन्न सक्लान् वा नसक्लान् जिम्मेवार निकायले सोच्न जरुरी छ ।