सोलुखुम्बुमा विपन्न परिवारको पहिचान गरिँदै

२४ चैत्र २०७६, सोमबार मा प्रकाशित

सोलुखुम्बु,

सोलुखुम्बुमा लकडाउनका कारण प्रभावित अति विपन्न परिवारलाई राहत दिन त्यस्त परिवारको पहिचानमा स्थानीय तह जुटेको छ । नेपाल सरकारले घोषणा गरेको राहतको प्याकेज वितरणको व्यवस्था गर्न यहाँका आठ स्थानीय सरकारले पहल थालेका हुन् ।

नेपाल सरकारको निर्णय गर्नुपुर्व नै आफ्नै तर्फबाट राहतको प्याकेज घोषणा गरेको थुलुङदुधकोशी गाउँपालिकाले अहिलेसम्म २ सय ९५ जनालाई दैनिक उपभोग्य बस्तु वितरण गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईका अनुसार वडा नं. ३ को पञ्चन, वडा नं. को ६ मुक्लि, वडा नं. ४ र ५ को जुबु, वडा नं. को ७ देउसा र वडा नं. १ नेलेका अति विपन्न र ज्यालादारी कामदारलाई राहत वितरण गरिएको छ ।

जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले पनि केही दिनमा तथ्याङ्क सङ्कलन गरिसक्ने जनाएको छ । नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले व्यक्तिगत रुपमा करिब १ सय ५० जना अति विपन्न, ज्याला मजदुरी गर्नेलाई दैनिक उपभोग्य वस्तु वितरण गरिसक्नुभएको छ ।

लामोजुरापारीको गाउँपालिका, लिखुपीकेले भने पाँच दिनभित्र राहत दिने गरि काम गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले गाउँपालिकाभित्र करिब १ सय ५० घरधुरी अति विपन्न परिवार हुनसक्ने अनुमान गरिएको बताउनुभयो ।

नेचा सल्यान गाउँपालिकाले पनि अति विपन्न र दीर्घरोगीको तथ्याङ्क सङ्कलन गरिरहेको छ । गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले औषधी उपचारमा समेत असर पर्ने भन्दै कार्यपालिका बैठकले दीर्घरोगीलाई एक महिनाको औषधिका लागि आफूहरुले प्रबन्ध गर्ने जानकारी दिनुभयो ।

कोशीपारीको गाउँपालिका सोताङ गाउँपालिकाले पनि अत्तिविपन्न तथा ज्यालादारी गर्ने परिवारको लगत सङ्कलन शुरु गरेको छ । गाउँपालिकाले लकडाउनमा अत्यन्त समस्यामा परेका विपन्न परिवारलाई आवश्यक खाद्यन्न वितरण गर्न लगत सङ्कलन सुरु गरेको अध्यक्ष वीरबहादुर राईले बताउनुभयो ।

महाकुलुङ गाउँपालिकाले पनि लगत सङ्कलनलाई तीव्रता दिएको छ । गाउपालिका अध्यक्ष सागर किरातीले राहतको प्याकेजको बारेमा भने सोमबार बस्ने कार्यपालिका बैठकले निर्णय गर्ने जनाउनुभयो ।

माप्यदुधकोशी गाउँपालिकाले पनि तथ्याङ्क सङ्कलनको कार्य सुरु गरेको छ । गाउँपलिका उपाअध्यक्ष जुनिता माया मगरले वडास्तरबाट घरधुरी पहिचान सुरु गरिएको जनाउनुभयो । वडा कार्यालयबाट पहिचान भएका परिवारलाई ३० केजी चामल, पाँच केजी दाल, १ केजी नुन, एक लिटर खाने तेल उपलब्ध गराउने उपाध्यक्ष मगरले बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here